१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असोज ७ मंगलबार ०७:५१:००
Read Time : > 1 मिनेट
अर्थ

निजगढ विमानस्थल अघि बढाउन  स्विस कम्पनी जुरिचलाई जिम्मा

बाहिरी चक्रपथ र तल्लो अरुण बनाउन पनि विकासकर्ताको सूची तयार

Read Time : > 1 मिनेट
२०७६ असोज ७ मंगलबार ०७:५१:००

लगानी बोर्डले निजगढ विमानस्थल निर्माणको काम अघि बढाउन स्विस कम्पनी ‘जुरिच एयरपोर्ट लिमिटेड’लाई छनोट गरेको छ । सोमबार बसेको बोर्ड बैठकले निजगढ विमानस्थल बनाउन प्रस्ताव पेस भई आएका ७ मध्ये कसैको आर्थिक क्षमता र कसैको प्राविधिक अनुभवको मापदण्ड नपुगेका कारण जुरिचलाई छनोट गरिएको लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले बताए । उनले भने, ‘त्यसैले जुरिचलाई मात्र सर्ट लिस्टमा राखेका हौँ ।’ जुरिचसँग आयोजना निर्माणको विस्तृत योजना माग गरिने अधिकारीले बताए । उसको प्रस्ताव चित्तबुझ्दो भएमा निर्माणको सम्पूर्ण जिम्मेवारी दिइनेछ, यदि त्यसो नभएमा नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ ।

निजगढसहित महत्वाकांक्षी तीन ठूला परियोजनाका लागि विकासकर्ता (डेभलपर) छनोटको प्रक्रिया बोर्डले अघि बढाएको हो । राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका महत्वाकांक्षी परियोजनामध्ये काठमाडौं बाहिरी चक्रपथ र १३ सय मेगावाटको तल्लो अरुण जल विद्युत् आयोजनाका लागि पनि विकासकर्ता (प्रवद्र्धक) छनोटको प्रक्रिया बोर्डले अघि बढाएको हो ।

करिब ३ खर्ब लागत अनुमान गरिएको विमानस्थल निर्माणका लागि बोर्डले कम्तीमा १० वर्षसम्म र वार्षिक १ करोड यात्रुलाई सेवा दिएको विमानस्थल सञ्चालन गरेको प्राविधिक अनुभवको मापदण्ड तोकेको थियो । त्यसका लागि साउथ कोरिया कुन्वा कम्पनी लिमिटेड, जापान क्लब इन्टरनेसनल, म्याट्रिक्स इन्टरप्राइजेज प्रालि, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड, जिएमआर ग्रुप र चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप कम्पनीले प्रस्ताव गरेका थिए । स्विट्जरल्यान्डको जुरिच एयरपोर्टसहित दक्षिण अफ्रिकालगायतका देशमा विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ ।

६ महिनाअघि राजधानीमा आयोजना भएको लगानी सम्मेलनमा बोर्डले विभिन्न विकासकर्तासँग मुलुकका ठूला आयोजनामा लगानी गर्न प्रस्ताव आह्वान गरेको थियो । त्यसैअन्तर्गत आएका लगानी प्रस्तावमध्ये बोर्डले विकासकर्ताको संक्षिप्त सूची (सर्ट लिस्ट) तयार गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बोर्ड बैठकले तीन आयोजना निर्माणमा इच्छा देखाउँदै आर्थिक तथा प्राविधिक प्रस्ताव पेस गरेका कम्पनीमध्येबाट मापदण्ड पूरा गरेका कम्पनीलाई संक्षिप्त सूची (सर्ट लिस्ट)मा राख्ने निर्णय गरिएको बार्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

 तल्लो अरुणमा तीन कम्पनी सर्ट लिस्टेड
तल्लो अरुणमा जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव पेस गर्ने ३ वटै कम्पनी आर्थिक क्षमता तथा प्राविधिक अनुभवको योग्यतासहित छनोट भएका छन् । सूचीमा पर्नेमा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारत सरकारको स्वामित्व रहेको कम्प्नी सतलज जलविद्युत् निगमसमेत परेको छ । यसबाहेक नेपाली कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल–नेपाल) तथा पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटडको संयुक्त उपक्रमको कम्पनी पनि छ ।

त्यसैगरी, नेपाली कम्पनी ग्रिन रिसोर्सेज प्रालि तथा जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट पनि छनोट भएको छ । १ हजार ३ सय मेगावाट क्षमतामा बन्ने तल्लो अरुण जलविद्युत् आयोजनामा झन्डै १ खर्ब ५० अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ । त्यसैगरी काठमाडौं उपत्यका बाहिरी चक्रपथ आयोजना निर्माणका लागि पनि एउटा मात्रै कम्पनी संक्षिप्त सूचीमा सूचीकृत भएको छ । ७२ किलोमिटर लम्बाइको उक्त बाहिरी चक्रपथका लागि करिब २ खर्ब रुपैयाँ अनुमान गरिएको छ ।