मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज ७ मंगलबार ०७:१९:००
Read Time : > 1 मिनेट
नयाँCity

अपांगताले छेकेन अन्तर्राष्ट्रिय पदकलाई

Read Time : > 1 मिनेट
२०७६ असोज ७ मंगलबार ०७:१९:००

सूर्यकुमारी गुरुङले खेलकुद विकासको सुरुवाती चरणमै नेपाललाई पहिलो स्वर्ण पदक दिलाइन् । ४४ वर्षअघिको त्यो योगदानको कदरस्वरूप हालै उनी मधुशमशेर जबरा एथ्लेटिक्स सम्मान–२०७६ बाट सम्मानित भइन् । उनी बैसाखीको सहाराले दौडिन्छिन्, कृत्रिम खुट्टाले हिँड्छिन् । नुवाकोटमा जन्मिएकी हुन्, उनी । उनका बाबु तत्कालीन मुमा बहामहारानी रत्नको एडिसी थिए । सात वर्षकी छँदा दाहिने खुट्टा पैतालादेखि सुक्दै आयो । २० दिन ओछ्यान परेपछि मात्र परिवारले अस्पताल पु-याए । दाहिने खुट्टाको घुँडाभन्दा मुनि काटेर फाल्नुप-यो ।

सूर्यकुमारी  गुरुङ

०००
०३२ सालमा नेपाल अपांग संघमा पुगिन् । सोही वर्ष संघका तर्फबाट एथ्लेटिक्स खेल्न जापान पुगिन् । नौ वर्षकी उनलाई १३ वर्षकी लेखेर जापान पठाइयो । दोस्रो विश्वयुद्धपछि घाइते सैनिकलाई समाजमा पुनस्र्थापनाका लागि ‘पारा ओलम्पिक’ खेल सुरु हुँदै थियो । सन् १९७५ को त्यस खेलमा २० मुलुकका खेलाडी सम्मिलित भए, जसमा नेपालको प्रतिनिधित्व गरिन् । उनका गुरु लक्ष्मण शाहको प्रशिक्षणमा उनले बैसाखीबाटै एथ्लेटिक्स खेलिन् र स्वर्ण पदक जितिन् ।

स्वदेश फर्केपछि दरबारमा बोलाएर दुई लाख रुपैयाँ पुरस्कार दिइयो । त्यतिवेलासम्म अपांग संघको आफ्नै भवन थिएन, बानेश्वरस्थित शंकरदेव पन्तको घर भाडा लिएर कार्यालय सञ्चालनमा थियो । संघका संस्थापक अध्यक्ष स्वर्गीय खगेन्द्रबहादुर बस्नेत स्टेचरमै सुत्थे ।

गुरुङ पुरस्कार थाप्न जाँदा तत्कालीन राजा वीरेन्द्रले संघको भवन निर्माणका लागि इन्जिनियर खटाइदिए । त्यसलगत्तै उनी करिब चार महिनाको प्रशिक्षणमा सामेल भइन् । प्रतिष्ठित धावक वैकुण्ठ मानन्धर उनका सहायक गुरु थिए भने मधु शाह र मधुशमशेर राणा मुख्य गुरु । बैसाखीबाटै बेस्सरी दौडेको देख्दा उनका गुरुहरू दंग पर्थे । जतिवेला अपांगता भएको व्यक्ति खेलाडी बन्न सक्छ भन्ने अनुमान गर्न गाह्रो थियो, तर परिवारले उनलाई राम्रो बैसाखी किनिदियो ।

०००
०५६ सालमा उनी ‘नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र’मा आबद्ध भइन् । स्वर्गीय खगेन्द्रबहादुर बस्नेतको स्मृतिमा उक्त केन्द्र खोलिएको हो । केन्द्रको ‘राइटर चेसायर गृह’ काठमाडौं जोरपाटी नारायणटारको वागमती पुलनजिक छ, जसको प्रमुख हुन् गुरुङ । नेपाल पारा ओलम्पिक कमिटीकी उपाध्यक्ष पनि हुन् ।

दोस्रो विश्वयुद्धमा घाइते सैनिकलाई समाजमा पुनस्र्थापनाका लागि ‘पारा ओलम्पिक’ खेल सुरु हुँदै थियो । ०३२ सालमा सूर्यकुमारी गुरुङ नेपालको प्रतिनिधित्व गर्दै जापान पुगिन्, जहाँ उनले बैसाखीबाटै एथ्लेटिक्स खेलिन् र स्वर्ण पदक जितिन् ।

दोस्रो विश्वयुद्धमा सहभागी भएका बेलायती एयरफोर्सका क्याप्टेन लियोनार्द चेसायर र उनकी पत्नीले सन् १९८३ मा यो गृह खोलिदिएका हुन् । आर्थिक संकटका कारण केही वर्ष यो बन्द भयो । त्यसलाई पुनः सञ्चालनका लागि गुरुङ कस्सिइन्, सुरुमा सातजनाको सहयोग पाइन् । बिस्तारै ४२ सदस्यीय बन्यो उनको टिम । ०७३/०७४ देखि गृहले सरकारी सहयोग पाउन थाल्यो ।

हाल अपांगताको समस्या भएका तीनदेखि ८५ वर्षसम्मका ७५ जनाले सहारा पाएका छन् । उनीहरूलाई नुहाइधुवाइ, घाउको सामान्य सफाइ, मनोरञ्जनलगायत सुविधा दिने गरिन्छ । त्यसका लागि १५ जना कर्मचारी छन् । सरकारको अनुदान र चन्दाबाट गृह सञ्चालनमा छ । बौद्धस्थित सिएचएन क्लिनिकले एक चिकित्सक र एक नर्सलाई औषधिसहित पठाएर सहयोग गरिरहेको छ ।

उमेरले ५२ वर्ष नाघेकी उनी बिहान साढे १० देखि साँझ ५ बजेसम्म गृहमै बस्छिन् । उनको कृत्रिम खुट्टा फेरिरहनुपर्छ, हरेकपटक डेढ लाख खर्च हुन्छ । ‘म अपांग भएर पनि नेपालकै पहिलो गोल्ड मेडलिस्ट भएँ, यसैमा खुसी छु,’ उनी भन्छिन् ।

तस्बिर : संजित परियार