मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ६ सोमबार १२:२५:००
Read Time : > 2 मिनेट
प्रदेश

जनप्रतिनिधिलाई महँगा गाडीसहितको सुविधा, नागरिकलाई एम्बुलेन्ससमेत छैन

Read Time : > 2 मिनेट
२०७६ असोज ६ सोमबार १२:२५:००

सप्तरीका कतिपय स्थानीय तहमा अहिले पनि बिरामी बोक्ने एम्बुलेन्स र आगो लाग्दा निभाउने दमकल छैनन् । स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि जनप्रतिनिधिले दमकल र एम्बुलेन्स खरिदलाई प्राथमिकतामा राखेका छैनन् । बरु उनीहरूको ध्यान प्रक्रिया मिचेर सुविधाको सवारीसाधन खरिद गर्नतिर गएको छ । 

वोदेवरसाइन नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ मा आन्तरिक स्रोतको तीन गुणा बढी रकम सवारीसाधन खरिदमा खर्च गरेको छ । कार्यालयको आन्तरिक स्रोतबाट खरिद गर्न सकिने भए मात्र सवारीसाधन खरिद गर्न मिल्ने व्यवस्थाविपरीत पुँजीगत अनुदानबाटै नगरपालिकाले सवारीसाधन खरिद गरेको हो । प्रक्रिया मिचेर सवारीसाधन खरिद गरेको विषयलाई महालेखा परीक्षकको प्रतिवेदनले समेत गलत भनेको छ ।

अध्यक्षका लागि ६५ लाखमा गाडी खरिद
आव ०७४/७५ मा वोदेवरसाइन नगरपालिकाको आन्तरिक स्रोतबाट २५ लाख नौ हजार दुई सय ६० रुपैयाँ संकलन भएको थियो । तर, सोही आवमा मेयर आतेशकुमार सिंह यादवले आफ्ना लागि ६४ लाख ८९ हजार पाँच सय ९० रुपैयाँको गाडी खरिद गरेका छन् । यसैगरी, वडाध्यक्ष र कर्मचारीका लागि ३३ लाख ३६ हजार चार सय ९० रुपैयाँ मूल्यका १३ वटा मोटरसाइकल खरिद गरिएको छ । मेयर यादवले स.१झ ५१५ नम्बरको इसुजु गाडी चढिरहेका छन् ।

नगरपालिकामा एम्बुलेन्स र दमकल छैनन्
नगरपालिकाले जनताका लागि अत्यावश्यक एम्बुलेन्स र दमकल खरिद गर्नेतर्फ भने ध्यान दिएको छैन । एम्बुलेन्स नहुँदा नागरिकले सहज ढंगले उपचार पाएका छैनन् । दमकल नहुँदा आगलागीका घटना हुँदा नियन्त्रणमा समस्या हुने गरेको स्थानीय बताउँछन् ।
‘अध्यक्षले आफ्ना लागि महँगोमा गाडी किने, वडाध्यक्षहरूले मोटरसाइकल चढेका छन् । अध्यक्षलाई एसीसहितको आवास छ, पारिश्रमिक पनि उत्तिकै लिइरहेका छन्,’ साह समाजका क्षेत्रीय अध्यक्ष अशोककुमार साहले भने, ‘तर, जनताका लागि एउटा एम्बुलेन्स किन्नेतर्फ पनि जनप्रतिनिधिको ध्यान गएको छैन ।’ जनप्रतिनिधि सुखभोगमा केन्द्रित हुँदा जनताले दुःख पाएको साहले बताए ।

अध्यक्षलाई ४४ लाखको स्कार्पिओ
वलानविहुल गाउँपालिकाले अध्यक्ष दयानन्द गोइतका लागि ४३ लाख ९३ हजार आठ सय पाँच रुपैयाँमा स्कार्पियो गाडी खरिद गरेको छ । वडाध्यक्षहरूका लागि आठवटा मोटरसाइकल र दुईवटा स्कुटर खरिद गरिएको छ । स्कार्पियो र मोटरसाइकल खरिद गरेको रकम गाउँपालिकाले वित्तीय समानीकरणको बजेटबाट भुक्तानी गरेको छ । वलानविहुल गाउँपालिकामा अझै एम्बुलेन्स र दमकलको भने अभाव छ । जनताका लागि अत्यावश्यक एम्बुलेन्स र दमकल खरिद गर्ने विषयमा भने जनप्रतिनिधिको ध्यान जान सकेको छैन । 

त्यसैगरी, महादेवा गाउँपालिकाले अध्यक्ष दीपककुमार यादवका लागि स्कार्पिओ गाडी र वडाध्यक्षहरूका लागि मोटरसाइकल खरिद गरेको छ । जनप्रतिनिधिका लागि विकास बजेट नै खर्च गरेर सवारीसाधन किनिएको हो । 

अन्य स्थानीय तहको हालत पनि उस्तै
वोदेवरसाइन, महादेवा र वलानविहुल मात्र होइनन्, जिल्लाका अरू धेरै स्थानीय तहका नागरिकले अहिले पनि बिरामी पर्दा सदरमुकाम राजविराजकै एम्बुलेन्सको भर पर्नुपर्ने बाध्यता छ । तर, सबैजसो स्थानीय तहका अध्यक्ष, उपाध्यक्षसहित जनप्रतिनिधिले आफ्ना लागि भने सवारीसाधन खरिद गरेका छन् । सप्तरी आगलागी धेरै हुने जिल्लामा पर्छ । आगलागी हुँदा राजविराजका तीनवटा दमकललाई भ्याइनभ्याइ हुन्छ । आगलागी हुँदा सुनसरी र सिरहाबाट दमकल मगाएर आगो नियन्त्रण गर्नुपर्ने बाध्यता छ ।

तर, जनप्रतिनिधिको क्रियाकलाप जनमैत्री नहुँदा स्थानीय तह निर्वाचनको दुई वर्ष बितिसक्दा पनि सर्वसाधारणले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । नौ नगरपालिकासहित १८ वटा स्थानीय तह रहेको सप्तरीका अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षका लागि सवारी खरिद गरिएका छन् । जनताका लागि अत्यावश्यक एम्बुलेन्स खरिद गर्नेतर्फ भने जनप्रतिनिधिको ध्यान जान नसकेको रूपनी गाउँपालिका–१ का दीपनारायण साहले गुनासो गरे ।

वोदेवसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंहले सवारीसाधनविना जनताको काम गर्न नसकिने भएकाले गाडी खरिद गरिएको दाबी गरे । ‘हामीले आफ्नोभन्दा पनि जनताकै सुविधाका लागि पहिलो वर्ष नै गाडी खरिद गरेका हौँ,’ उनले भने, ‘दोस्रो वर्षदेखि सवारीसाधन थप गरिएको छैन, भएकालाई पनि जनताकै काममा लगाएका छौँ ।’