मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडौं
२०७६ असोज ६ सोमबार ०७:४१:००
Read Time : > 3 मिनेट
अर्थ

दसैँमा १३ अर्बबराबरका नयाँ नोट

बजारमा ५ खर्ब नोट चल्तीमा, सवा ४ खर्ब नोट धुल्याइयो, मुलुकलाई बर्सेनि ३० करोड घाटा

Read Time : > 3 मिनेट
विजयराज खनाल काठमाडौं
२०७६ असोज ६ सोमबार ०७:४१:००

दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको नयाँ र सुकिला नोट वितरण गर्ने तयारी गरेको छ । यसपटक राष्ट्र बैंकले पहिले नै छापिएका सुकिला नोटसमेत वितरण गर्ने भएको छ । हरेक वर्ष नयाँ नोट वितरण गरिने, तर त्यसको सर्वसाधारणबाट हिफाजत नहुने गरेकाले राष्ट्र बैंकले यस्तो नीति अख्तियार गरेको हो । 

‘नोट चाँडै पुरानो हुने गरेका कारण हरेक वर्ष करिब ३० करोड रुपैयाँ नोक्सान हुने गरेको छ,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भने, ‘त्यसैले नोटको सुरक्षामा सबैले ध्यान दिनुपर्ने भएको छ ।’ यसपटक राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म नोट सटहीको सुविधा दिने व्यवस्था मिलाएको छ ।

 बजारमा करिब ५ खर्बका नोट 
हाल बजारमा चलनचल्तीमा करिब ५ खर्ब रुपैयाँबराबरका नोट चलनचल्तीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणका साथमा र बैंक, सरकारी निकायलगायतको भल्टमा रहेको कुल नोट ४ खर्ब ९१ अर्ब रुपैयाँबराबरको रहेको राष्ट्र बैंकका प्रवक्ता निरौलाले बताए ।

 सबा ४ खर्बका नोट जलाइयो 
कागजी नोट चलनचल्तीमा आएयता करिब–करिब त्यति नै रकमबराबरको नोट धुल्याइएको पनि छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हालसम्म ४ खर्ब १७ अर्ब रुपैयाँबराबरका नोट जलाएर धुल्याइएको छ । च्यातिएर, मक्किएर रहेका नोट बजारबाट खिचेर राष्ट्र बैंकले जलाउने गरेको छ । ३ वर्षयता मात्रै १ खर्बबराबरका रुपैयाँ जलाइएका हुन् ।

 नोट धुल्याउन जलाउने विधि मात्रै 
नेपालमा पुराना नोटलाई नस्ट गर्ने (धुल्याउने) उपायका रूपमा जलाउने विधि मात्रै प्रयोग हुने गरेको छ । अन्य मुलुकमा पुराना बिग्रिएका नोट असली भएको सुनिश्चितता गरेपछि वर्गमिलिमिटरका दरमा टुक्रा पारेर फोहोर फाल्ने ल्यान्डफिल्ड साइटमा फाल्ने गरिन्छ । वातावरणीय हिसाबले समेत यो प्रक्रियालाई अनुसरण गर्नु सही देखिन्छ । साउन ०७४ मा नोट जलाउने क्रममा राष्ट्र बैंककै कर्मचारीहरूले केही थान बन्डल गोजीमा हालेको भेटिएपछि कारबाही भएको थियो । 

 पुरानो नोट साट्नै रोक्न सुझाब
नयाँ नोट आएसँगै बजारमा चलनचल्तीमा रहेका पुराना नोट खिच्ने गर्नुपर्छ । दसैँमै नयाँ नोट वितरण गर्दा पनि यो प्रक्रिया सुरु हुन्छ । मानिसहरूले आफूसँग रहेका पुराना नोट दिन्छन् र नयाँ नोट लिन्छन् । चलनचल्तीमै ल्याउन नमिल्ने नोटहरू राष्ट्र बैंकले खिच्छ र फर्किएको नोट चलाउनै नमिल्ने भए त्यसलाई जलाएर नष्ट गर्छ ।

पछिल्लो समय राष्ट्र बैंकले रङ लागेको नोटसमेत बजार फिर्ता पठाउन रोक्ने गरेको छ । राष्ट्र बैंकका निर्देशक दयाराम शर्मा पंगेनी भन्छन्, ‘हाम्रो मुख्य ध्यान कम मूल्यमा नोट छाप्ने, नक्कल गर्न नसकिने किसिमको नोट छाप्ने र नोटको आयु बढी हुने प्रकृतिको नोट छाप्ने गरेका छौँ ।’ यस्ता विशेषता जति थप्यो, त्यति नोट छाप्दा लाग्ने लागत बढ्ने गरेको छ । तर, नेपालमा धार्मिक, सांस्कृतिक सबैजसो कार्यमा पैसाको प्रयोग हुने र जतन नगर्दा बिग्रिने गरेको छ । 

नोट सटहीमै कडाइ गरेरसमेत नोटको सुरक्षा गर्नुपर्ने सुझाब समितिका पूर्व अध्यक्ष माधव भट्टराईको समेत छ । नोटमा क्षति पु¥याउनेलाई ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था नेपाल राष्ट्र बैंक ऐनमा छ । तर, यो व्यवस्थाअनुसार कसैलाई पनि कारबाही भएको छैन ।

 नोटको आयु ३ वर्ष मात्रै
सामान्यतया बैंकिङ प्रणालीबाट पैसा बाहिरिएको ५ वर्षमा पुराना नोट फर्किने गरेको राष्ट्र बैंकको अनुमान छ । यद्यपि, यही अवधिमा नै नोट फिर्ता हुन्छ भन्ने ग्यारेन्टी भने छैन । किनभने, राष्ट्र बैंकको स्थापना हुनुअघिका ५७ लाख ५७ हजार रुपैयाँबराबरका नोट अझै पनि बजारमा नै रहिरहेको राष्ट्र बैंकको तथ्यांक छ । 

नोटको आयु ३ वर्षमै सकिने गर्छ । हाल १ र २ रुपैयाँका नोट राष्ट्र बैंकले निष्कासन गर्न छाडेको छ भने ५ देखि १ सय रुपैयाँसम्ममा साना दरका नोटलाई सटहीमा प्रयोग हुने नोटका रूपमा लिइने गरिएको छ । ५ सय र १ हजार दरका नोटको आयु भने सरदर ५ वर्ष रहने गरेको छ ।

 यस वर्ष थपिएन बजारमा नयाँ नोट
यसपटक बजारमा चलनचल्तीका नोटमा खासै वृद्धि नभएको राष्ट्र बैंकले उल्लेख गरेको छ । आव ०७४/७५ मा ४ खर्ब ९४ अर्बबराबरका मुद्रा चलनचल्तीमा रहेकामा आव ०७५/७६ मा भने ४ खर्ब ९१ अर्ब रुपैयाँ मात्र चलनचल्तीमा रहेको राष्ट्र बैंकले बताएको छ । यसो हुनुमा भुक्तानीको डिजिटल माध्यमको प्रयोग बढेको अनुमान निरौलाको छ ।
 
 एउटा नोट छपाइको लागत औसत साढे २ रुपैयाँ
५ सय मुनिका नोट छाप्न प्रतिनोट २ रुपैयाँ र बाँकीलाई प्रतिनोट ३ रुपैयाँ ३७ पैसासम्म लाग्ने गरेको छ । औसतमा सबै खाले मुद्रा छाप्न २ रुपैयाँ ५० पैसा लाग्ने गरेको छ । नेपाली मुद्रा छाप्न लाग्ने लागत अन्य मुलुकको तुलनामा बढी पर्ने गरेको छ । 

यसरी चल्यो दसैँमा नयाँ नोट साट्ने चलन
हिमालयशमशेर जबरा, नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर

नेपाल राष्ट्र बैंकको स्थापना ०१३ सालमा भयो । त्यसवेलासम्म मुलुकमा भारतीय मुद्राको दबदबा थियो । त्यसो हुँदा मुलुकमा नेपाली मुद्राको प्रचलन बढाउन राष्ट्र बैंकले ०१५/१६ सालबाट दसैँमै नयाँ नोट निष्कासन गर्न थाल्यो । दसैँमा नयाँ लुगा लगाउने, नयाँ सामान जोड्ने संस्कृति छँदै छ । त्यसै संस्कृतिलाई जोडेर दक्षिणाका रूपमा नयाँ नोट दिने चलन चलाइयो । यसले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो योगदान गरेको थियो । किनभने, गाउँ–गाउँमा नयाँ नोट पुग्ने माध्यम पनि यही समय हुन्थ्यो ।

 यसरी छापिन्छ मुद्रा
नोट र अन्य कागजमा फरक भनेकै नोट भुक्तानीका लागि मान्य हुन्छ । केन्द्रीय बैंकसँग (राष्ट्र बैंक) मात्र नोट निष्कासन गर्ने अधिकार छ । नोट तथा मुद्रा निष्कासन गर्दा राष्ट्र बैंकले त्यति नै बराबरको सुरक्षण राख्नुपर्छ । जति नोट छापिने हो, सोहीबराबरको सुरक्षण अनिवार्य रूपमा राख्नुपर्ने कारणले नै नोटको मूल्य केन्द्रीय बैंकले निर्धारण गरेबराबर हुने भएको हो ।

विगतमा नोट छाप्दा सुन तथा अन्य बहुमूल्य धातुहरू सुरक्षणका रूपमा राख्ने चलन थियो । यसबीचमा सुनलगायत बहुमूल्य धातु र विदेशी मुद्रा सुरक्षणका रूपमा राख्ने चलन आयो । ०६३ सम्म राष्ट्र बैंकले सुरक्षणका रूपमा सुनसमेत राख्ने गरेकोमा त्यसयता यस्तो सुरक्षणका रूपमा विदेशी मुद्रा मात्रै राख्ने गरेको छ । सरकारी ऋणपत्र पनि सुरक्षणका रूपमा राखिन्छ । तर, ०६९ यता सराकारले यसलाई पनि सुरक्षणमा नराख्ने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 

राष्ट्र बैंकले जति चाहियो, त्यति मुद्रा छाप्ने वा जहिले चाहियो, त्यही समयमा मुद्रा बजारमा पठाउन मिल्दैन । अस्वाभाविक रूपमा बढी मुद्रा बजारमा पठायो भने मुद्राको आपूर्ति बढी मूल्य वृद्धि हुनेछ । धेरै पैसा बजारमा हुनु भनेको मुलुक टाट पल्टिने अवस्था आउनु पनि मानिन्छ ।