मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नेपालगन्जमा विश्वराज पछल्डङ्ग्या मुगुमा अच्युतराज भण्डारी काठमाडौंमा अर्जुन अधिकारी काठमाडाैं
२०७६ असोज ६ सोमबार ०६:५०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

गत माघअघि मुगु र हुम्लामा मलेरियाको प्रकोप : चैतमा पठाइयो काठमाडौंबाट स्वास्थ्य सामग्री, असोजसम्म नेपालगन्जमै बेवारिसे

Read Time : > 3 मिनेट
नेपालगन्जमा विश्वराज पछल्डङ्ग्या मुगुमा अच्युतराज भण्डारी काठमाडौंमा अर्जुन अधिकारी काठमाडाैं
२०७६ असोज ६ सोमबार ०६:५०:००

मुगु र हुम्लामा औलो नियन्त्रणका लागि काठमाडौंबाट पठाइएका स्वास्थ्य सामग्री नेपालगन्जमा बेवारिसे पाइएको छ । गत वर्षको माघसम्म यी दुई जिल्लामा औलोको प्रकोप देखिएको थियो । त्यसको नियन्त्रण गर्ने भन्दै डेढ महिनापछि १७ चैतमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सामग्री पठायो । त्यसपछि न त महाशाखाले सम्बन्धित जिल्ला पुगे–नपुगेको सोधखोज ग-यो, न जिल्ला स्वास्थ्य कार्यालयहरूले अहिलेसम्म स्वास्थ्य सामग्री किन आइपुगेन भनेर चासो नै देखाए । ६ महिनादेखि नेपालगन्जको एक होटेलमा अलपत्र फालिएका चार बोरा र दुई कार्टन स्वास्थ्य सामग्री त्यहीँ म्याद गुज्रिएर काम नलाग्ने भएका छन् ।

६ महिनासम्म लिन कोही नआएपछि स्वास्थ्य सामग्री राखिएको नेपालगन्जको राँझास्थित दीप गेस्टहाउसका सञ्चालक पञ्चलाल कार्कीले साथीहरूमार्पmत फेसबुकमा सूचना हालेका थिए । त्यसपछि मुगु र हुम्लाका स्वास्थ्य कार्यालयदेखि काठमाडौंको स्वास्थ्य सेवा विभागसम्म हल्लीखल्ली भयो । शनिबारसम्म त्यो सामग्री कुन निकायबाट कसले पठायो भन्नेसमेत सरकारी अधिकारीहरूलाई थाहा थिएन ।

नेपालगन्जस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोरका प्रमुख डिल्लीराज पोख्रेलले होटलबाट ती सामग्री कार्यालयमा झिकाएर कसले पठाएको भनेर बुझ्न थाले । आइतबार अरु निकायको पनि रोहबरमा ती बोरा र कार्टुन खोलेर हेरिएपछि मात्रै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट नै पठाइएको पुष्टि भयो । त्यसमा प्याथोलोजी ल्याबका सामग्री थिए । 

ती बोरा र कार्टुनमा एक्जामिनेसन ग्लोब्स, कटनको ब्यान्डेज (एबी कटन), बफर ट्याब्लेट, नो माइक्रोएन्टिबायल र ब्लड ल्यान्सेट थिए । यी सामग्री मलेरिया, डेंगु, टिबीलगायत संक्रमण जाँच गर्न प्रयोग हुने प्राविधिकहरूको भनाइ छ । ‘निर्माण भएको ६ महिनासम्म मात्र प्रयोग गर्न मिल्छ । लामो समयसम्म बेवारिसे फालिएकाले यी सामग्री प्रयोगमा गर्न नमिल्ने भएका छन्,’ ल्याब टेक्नेसियन प्रदीप ओलीले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका  वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेल भन्छन्– हाम्रो गल्ती भयो, छानबिन हुँदै छ
मुगु र हुम्लाका लागि प्याथोलोजीका सामग्री पठाइएपछि हामीबीच नै समन्वय भएन । यसमा हाम्रो त्रुटि रह्यो । यतैबाट गएको हो कि होइन भन्ने पनि प्रस्ट भएको थिएन, यहीँबाट पठाइएको रहेछ । त्यो स्वास्थ्य सामग्री नेपालगन्जको होटेलमा लामो समयदेखि अलपत्र पर्नु दुःखद हो । कसरी त्यस्तो भयो ? हामी छानबिन गर्दै छौँ, दोषीमाथि कारबाही हुन्छ । 

६ महिनासम्म बोरा लिन कोही नआएपछि फेसबुकमा हालेका हौँ
पञ्चलाल कार्की, सञ्चालक, दीप गेस्टहाउस

न्यु रारा कर्णाली ढुवानी सेवाका जय ढकालले अटोरिक्सामा बोरा र कार्टन होटेलमा राखेर गए । जिल्ला पठाइदिनुप-यो भने । मैले तौल गरेर राख्नुस् न त भनेँ । तर, उनले यसै छोडेर गए । त्यसपछि फर्केर आएनन् । मलाई हवाई ढुवानी भाडा दिएको भए उहिल्यै पठाइसक्थेँ । मैले धेरैपटक लैजान आग्रह गर्दासमेत ढकालले आनाकानी गरिरहे । ६ महिनासम्म पनि औषधि लिन कोही नआएपछि सोधिखोजी गरेको हुँ । मुगु र हुम्लावासीका लागि आएको औषधि नेपालगन्जमै थन्किन दिनुहुन्न भनेर साथीहरूलाई फेसबुकमा सेयर गर्न भनेको हुँ । 

 गत वर्ष मुगुका १५० जनामा औलो संक्रमण
हुम्लामा पनि भेटिएका थिए औलाका बिरामी

मुगुको खत्याड गाउँपालिका ८ र १० को रिगागाउँ र आसपासका बस्तीमा गत वर्षको माघसम्म औलो रोगको प्रकोप देखिएको थियो । एक सय ४९ जनामा औलोको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मुगुको तथ्यांक छ । यस वर्ष सोरु गाउँपालिका–७ सिपगाउँमा एकजनामा औलो देखिएको छ । 

गत वर्षको असार अन्तिम साता स्वास्थ्य सेवा विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, सेभ द चिल्ड्रेन, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीसहितको १५ जनाको टोली रिगागाउँ पुगेरै औलो रोकथामका लागि शिविर चलाएको थियो । टोली १० दिनसम्म गाउँमै बसेर उपचार गर्ने र जनचेतना जगाउने काममा खटिएको थियो ।

असार ०७५ सम्मको तथ्यांकअनुसार मुगु नेपालकै सबैभन्दा धेरै औलोका बिरामी देखिने जिल्लामा परेको विशेषज्ञ टोलीको भनाइ थियो । त्यतिखेरसम्म मुगुमा १४५ जनामा औलोको संक्रमण देखिएको थियो । तीमध्ये ८५ बिरामी १५ वर्षमुनिका थिए । औलोबाट जोगिन गत वर्षको साउनमा खत्याड गाउँपालिकाको ८ र १० वडामा दुई हजार थान कीटनाशक झुल वितरण गरिएको थियो । 

त्यस्तै, गत वर्ष हुम्लाको ताजाँकोट र सर्केगाड गाउँपालिकामा पनि औलोको संक्रमण देखिएको थियो । त्यहाँ ३० जना बिरामी भेटिएका थिए । गत वर्षको जेठमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा औलोबाट जोगिन १४ सय झुल वितरण गरिएको थियो । 

कसरी आइपुग्यो नेपालगन्ज र किन अलपत्र प-यो ६ महिनासम्म ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलका अनुसार गत वर्ष मुगुमा एक सय ५० र हुम्लामा ३० जनामा औलोको संक्रमण देखिएको थियो । त्यसको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयहरूले आवश्यक प्याथोलोजीका सामग्री पठाइदिन स्वास्थ्य सेवा विभागसँग माग गरेका थिए ।

विभागले सेभ द चिल्ड्रेनसँगको समन्वयमा कोर्टियर कुरियरमार्फत  सामान जिल्लामा पठाएको थियो । सेभ द चिल्ड्रेनले यस्तै महामारीका लागि आवश्यक पर्न सक्ने औषधि आफैँले किनेर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा राखेको हुन्छ र आवश्यक पर्दा महाशाखाको स्वीकृतिमा सम्बन्धित जिल्लासम्म पठाउने गर्छ । 

कुरियरको नेपालगन्ज शाखाले न्यु रारा कर्णाली ढुवानी सेवाका जय ढकाललाई मुगु र हुम्ला स्वास्थ्य कार्यालयसम्म पु-याउने गरी जिम्मा दियो । ढकालले प्रतिकिलो १२ रुपैयाँका दरले कोर्टियरसँग रकम पनि लिए । तर, उनी आफैँले सामान ढुवानी गरेनन् । उनले लगेर दीप गेस्टहाउसका सञ्चालक पञ्चलाल कार्कीलाई सामान पठाइदिनू भनेर आग्रह गरे ।

कार्कीले सामान तौलेपछि ‘हवाई ढुवानीबापतको रकम छोडेपछि मात्रै पठाइदिन्छु’ भने । तर, ढकालले पैसा नदिइकन पछि आउँछु भन्दै हिँडे । कार्कीले सामान गेस्टहाउसमै थन्क्याइदिए । त्यसपछि ६ महिनासम्म न ढकाल पैसा दिन गए, न होटल सञ्चालक कार्कीले कसैलाई खबर गरे । स्वास्थ्य सामग्री त्यसै अलपत्र प¥यो । क्षेत्रीय मेडिकल स्टोरबाट ती स्वास्थ्य सामग्री ढकालले फेरि ल्याएर नेपालगन्जको धम्बोझीमा थन्क्याएका छन् ।

बाटो बिग्रेकाले औषधि ढुवानी गर्न सकिनँ 
जयधर्म ढकाल, कर्मचारी
रारा कर्णाली ढुवानी सेवा 

कोर्टियर कुरियरले न्यु रारा कर्णाली ढुवानी सेवालाई प्रतिकेजी १२ रुपैयाँका दरले गाडीमा सामान ढुवानी गर्न जिम्मा दियो । औषधि मुगु र हुम्ला पु-याउने जिम्मा मलाई लगाइयो । तर, बाटो बिग्रेपछि जहाजबाट पठाउन विमानस्थल पुगेँ । तर, पैसा बढी लाग्ने भयो । बाँकी पैसा व्यवस्थापन गरेर आउँछु भन्दै पञ्चलाल कार्कीको होटेलमै औषधि छाडेर निस्किएँ । त्यसपछि मेरो मोबाइल पनि हरायो, अनि त्यस्तै भयो । अहिले त बाटो पनि खुलिसकेको छ रे, गाडीमै लगिदिहाल्छु नि । सरहरूले यसलाई ठूलो विषय नबनाइदिए हुन्थ्यो ।

गल्ती हाम्रो पनि हो 
फणिन्द्र भट्टराई, कोर्टियर कुरियर्स 

काठमाडौंबाट सीधै मुगु र हुम्लामा सामान पठाउन सकिँदैन । हामीले नेपालगन्ज पठाउने र त्यहाँबाट बस वा हवाईजहाजमा पठाउने तय हुन्छ । काठमाडौंबाट नेपालगन्ज पठाएको सामान त्यहाँ न्यु रारा ढुवानी सेवाले बुक गरेको थियो । विगतमा पनि हामीले यही कम्पनीसँग कारोबार गरेका थियौँ । सामान बुक गरेर हामीलाई न्यु राराले भर्पाई दिएको थियो । विगतमा सामान नपुग्दा दाताले उजुरी गर्थे । तर, यसपटक कसैले पनि कम्प्लेन नगरेपछि सामान पुग्यो भनेर हामी ढुक्क भयौँ । हामीले सधैँ विश्वास गरेको संस्था न्यु राराले बुझेर पनि पठाएनछ ।