मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
गोविन्द सुवेदी पोखरा
२०७६ असोज ५ आइतबार ११:३७:००
Read Time : > 2 मिनेट
प्रदेश

पोखराको नगर सभ्यता प्रारम्भस्थल ओझेलमा

Read Time : > 2 मिनेट
गोविन्द सुवेदी पोखरा
२०७६ असोज ५ आइतबार ११:३७:००

मोरिया टोल, भैरव टोल, गणेश टोल, भीमसेन टोल र रामकृष्ण टोललाई पोखराको पुरानो व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । पोखरामा व्यवसायको प्रारम्भ र नगर सभ्यता विस्तारको सुरुवात यहीँबाट भएको विश्वास गरिन्छ । 

कवि एवं संस्कृतिविद् तीर्थ श्रेष्ठ यहीँबाट पोखराको नगर सभ्यता प्रारम्भ भएकोे बताउँछन् । नगर सभ्यता प्रारम्भ भएको यस क्षेत्रमा अहिले पनि त्यसवेलाको झल्को दिने पुराना घर र मठ–मन्दिर छन् । तर, उचित संरक्षण र प्रचार–प्रसार अभावमा पोखराको पुरानो कला र संस्कृति मात्र होइन, एउटा इतिहास नै लोप हुने अवस्थामा पुगेको श्रेष्ठ बताउँछन् । यी सभ्यता र कलासंस्कृतिलाई जोगाउनुपर्नेमा श्रेष्ठको जोड छ ।

संस्कृतिविद् अष्टमान प्रधानांगका अनुसार १८२५ सालमा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गरेपछि तितरवितर भएका नेवार समुदाय पोखराका यी क्षेत्रमा आएर बसोवास गर्न थालेका थिए । उनीहरूसँगै काठमाडौं उपत्यकाको कला र संस्कृति पोखरा भित्रिएको उनको भनाइ छ । पोखरामा अहिले पनि १९२० सालमा बनेका पुराना कला र संस्कृति झल्काउने घर छन् । मोरिया टोल, भैरव टोल, गणेश टोल, भीमसेन टोल, रामकृष्ण टोल, तेस्रापट्टी र साँघुको मुखलगायत स्थानका यस्ता घर मर्मत नहुँदा परम्परागत कला र संस्कृति लोप नै हुने अवस्थामा छन् । 

सम्पदा क्षेत्र घोषणा गर्न जोड 
१८औँ शताब्दीको प्रारम्भबाट विकास भएको मानिने यस क्षेत्रलाई सम्पदा क्षेत्र घोषणा गर्नुपर्ने कवि तीर्थ श्रेष्ठको सुझाब छ । सम्पदा क्षेत्र घोषणा गरेर संरक्षण गरेको भए अहिले पोखराको पुरानो बजार भक्तपुरको शैलीमा विकास भइसकेको हुने श्रेष्ठको विश्लेषण छ । 

अझै पनि महानगरले योजना ल्याउने र सोहीअनुरूप लाग्ने हो भने सम्पदा क्षेत्र घोषणा गरेर भक्तपुरकै शैलीमा विकास गर्न सकिने उनको भनाइ छ । ‘यो क्षेत्र पहिले नै सम्पदा क्षेत्र घोषणा भइसक्नुपर्ने हो, यसमा हामी चुकेका छौँ, अझै पनि समय छ,’ उनले भने । कवि श्रेष्ठले यहाँको विकासका लागि पोखरा महानगरको वडा नम्बर १ देखि ४ सम्मका जनप्रतिनिधिले सामूहिक पहल गर्नुपर्ने सुझाब दिए । 

भक्तपुरको शैलीमा संरक्षण गर्न सुझाब
पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्षसमेत रहेका नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे पनि यस क्षेत्रलाई भक्तपुरकै शैलीमा विकास गर्नुपर्नेमा सुझाब दिन्छन् । यद्यपि, कला–संस्कृति जोगाउने स्थानीयको प्रयासलाई समेत स्थानीय सरकारले साथ नदिएको उनको गुनासो छ । उनले भने, ‘हाम्रो र समग्र पोखराकै कला–संस्कृति जोगाउने प्रयास हामीले गरेका छौँ, यसमा सरकारको पनि साथ हुनुपर्‍यो, त्यसअनुरूपको योजना अहिलेसम्म देखिएन ।’ 

नेवाःखल कास्कीले भवन बनाउँदा परम्परागत कला–संस्कृति झल्कने कलात्मक वस्तु प्रयोग गरेको छ । उनका अनुसार दुई सय ५० देखि तीन सय वर्ष पुराना सामग्रीसमेत यहाँ संगृहीत छन् । दुई सय ६ वर्ष पुरानो गाग्री, रणबहादुर शाहका पालाको पाथीलगायत सामग्री त्यहाँ संगृहीत रहेको उनले जानकारी दिए । अध्यक्ष पालिखेले पोखरा महानगरका यस्ता ऐतिहासिक स्थललाई भक्तपुरको शैलीमा विकास र संरक्षण गर्न आग्रह गरे । ‘भक्तपुरमा पुरानो शैलीमा घर बनाउन छुट दिइन्छ, करमा त्यस्तै छुट छ, त्यस्तै नीति महानगरले लिए यहाँ पनि संरक्षण हुन्छ,’ उनले भने । 
 
पुरानो शैलीमा घर बनाए ५० प्रतिशत छुट
पोखरा महानगरले चालू आर्थिक वर्र्ष ०७६/७७ को बजेटमा पुरातात्विक महत्वका पुराना घर पुरानै शैलीमा बनाए ५० प्रतिशत राजस्व छुट दिने घोषणा गरेको छ । महानगरका मेयर मानबहादुर जिसीले महानगर यस्ता कुरामा सचेत रहेको र अध्ययन गरेर संरक्षण अभियान सुरु गरिने बताए । यता स्थानीयले भने राजस्व छुटको कुरा गर्नुभन्दा महानगरले त्यस्ता घरलाई सहुलियत र संरक्षणमा योगदान दिनुपर्ने बताएका छन् । 

ऐतिहासिक र सांस्कृतिक आधार
पुराना कला–संस्कृति झल्कने घर मात्र होइन, यस क्षेत्रमा नगर सभ्यताको प्रारम्भसँगै निर्मित प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिर, भीमसेन, भैरभ र गणेश मन्दिर छन् । अहिलेसम्म पनि जीवित संस्कृति गठेमंगल, तायामचा नृत्य, लाखेनाच, भैरवजात्रा, गणेशजात्रा, माघेजात्रालगायत जात्रा सो स्थललाई नै आधार बनाएर हुन्छन् । यसको उचित प्रचार–प्रसार गर्ने हो भने सांस्कृतिक र धार्मिक पर्यटकको भिड लाग्ने विज्ञहरूको दाबी छ । संस्कृतिविद् प्रधानांगका अनुसार विशेष पर्व र अवसरमा निकालिने यस्ता जात्राबारे प्रचार गर्न सक्ने हो भने पनि धेरै पर्यटक यहाँ आउन र बुझ्न सक्नेछन् । पोखरामा ऐतिहासिक देवीनाच भने लोप भइसकेको छ ।