मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज ५ आइतबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार

जग्गा विवाद मिलाउन न्यायिक समितिलाई भ्याइनभ्याइ

Read Time : < 1 मिनेट
२०७६ असोज ५ आइतबार ११:३१:००

जैमिनी नगरपालिकाको न्यायिक समितिमा परेका अधिकांश उजुरी जग्गा विवादसम्बन्धी छन् । नगर उपप्रमुखको संयोजकत्वमा बनेको न्यायिक समितिले गाउँमै विवाद मिलाउन थालेपछि समितिमा जग्गा विवादका मुद्दाको चाङ लागेको हो । 

वडामा छलफल भएर मेलमिलाप हुन नसकेपछि यस्ता मुद्दा न्यायिक समितिमा आउने गरेको नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक लीला रानाले बताए । रानाका अनुसार समिति गठन भएयता २७ उजुरी दर्ता भएका छन् । त्यसमध्ये आधाभन्दा बढी जग्गा विवाद, बाटो मिचिएको, रूखले असर पारेको जस्ता उजुरी छन् । 

मेलमिलापका लागि वडाध्यक्षको सहजीकरण 
नगरपालिकाभित्रका सामान्य उजुरीमा वडाध्यक्षलाई सहजीकरणको जिम्मेवारी दिइएको छ । ‘पहिला वडाध्यक्षमार्फत मेलमिलाप गर्न लगाउछौँ,’ उपप्रमुख रानाले भने, ‘उहाँहरूले समाधान गर्न नसकेमा हामीकहाँ दर्ता हुन आउँछ, हामीले आवश्यक कानुनी सहायता लिएर वडाध्यक्षको रोहबरमा मेलमिलाप गराउने र मुद्दा किनारा लगाउने गरेका छौँ ।’ 

न्यायिक समितिमा अन्य झै–झगडा, सामान्य भनाभन र सम्बन्ध कायम गरिपाऊँ भन्ने मुद्दा पनि आएका छन् । यस्ता मुद्दालाई मेलमिलापको बाटो औँलाएर टुंग्याउने गरेको रानाले बताए । अहिलेसम्म नगरपालिकाको न्यायिक समितिबाट तीनवटा मुद्दा किनारा लागेका छन् । जग्गा विवादका मुद्दामा एकजनाको हकको जग्गा अरूबाट आवाद वा भोगचलन गरेको, एउटाको हकको जग्गा अर्काले मिचेको, स्वामित्वको विवाद मेलमिलापद्वारा निरूपण गर्दै आएको रानाले बताए । यस्ता उजुरीउपर छलफल गराउँदा पक्ष–विपक्ष सँधीयारमा राखेर वडाध्यक्षको रोहवरमा मेलमिलापद्वारा समस्या समाधान गर्ने गरिएको रानाले बताए ।