मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज ५ आइतबार ११:२७:००
Read Time : > 1 मिनेट
समाचार

दोलखामा ४१३ विद्यालय भवन पुनर्निर्माण

Read Time : > 1 मिनेट
२०७६ असोज ५ आइतबार ११:२७:००

दोलखामा चार सय १३ वटा विद्यालय भवनको पुनर्निर्माण सकिएको छ । नेपाल सरकार, केही गैरसरकारी संस्था तथा विदेशी दातृ निकायको सहयोगमा जिल्लाका दुई सय ४५ वटा विद्यालयको चार सय १३ वटा भवन पुनर्निर्माण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख देवकुमार बरालले जानकारी दिए ।

दोलखामा सरकारी विद्यालयको संख्या तीन सय ४७ वटा छ । कतिपय एउटै विद्यालयमा पनि दुई/तीनवटा भवन बनेकाले भवनको संख्या बढी देखिएको हो । आयोजनाको शिक्षा एकाइका प्रमुख देवकुमार बरालले प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, केही गैरसरकारी संस्था र विदेशी दाताको सहयोगमा हालसम्म जिल्लामा चार सय १३ वटा विद्यालय भवनको पुनर्निर्माण सकिएको जानकारी दिए । निर्माण भएकामध्ये १५ वटा विद्यालयमा थप संरचना आवश्यक नपर्ने गरी एसियाली विकास बैंकको ऋण सहयोगमा २८ वटा सुविधासम्पन्न भवन निर्माण गरिएको छ । बाँकी सातवटा विद्यालयका १३ वटा भवन निर्माणको अन्तिम चरणमा रहेका एकाइ प्रमुख बरालले बताए ।

एक अर्ब २४ करोड खर्च
पहिलो चरणमा एडिबीको ऋण सहयोगमा २८ भवन निर्माण गर्दा एक अर्ब २४ करोड ७१ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ । दोस्रो चरणमा एडिबीको डिआरएसपी कार्यक्रमअन्तर्गत जिल्लाका १२ वटा विद्यालयमा भवन निर्माणको काम भइरहेको छ । निर्माण व्यवसायीमार्फत निर्माणाधीन १२ विद्यालयको भवनको भौतिक प्रगति ६५ प्रतिशत सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । 

सरकारले बनायो २२१ विद्यालय भवन
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सरकारले दुई सय २१ वटा विद्यालयको पुनर्निर्माण गरेको छ । आयोजना कार्यान्वयन एकाइका इन्जिनियर राजेन्द्र श्रेष्ठका अनुसार तीन आर्थिक वर्षमा गरी दुई सय २१ वटा भवनको पुनर्निर्माण सकिएको छ । आर्थिक वर्ष ०७३/०७४ मा ७३ भवन बनेका थिए । त्यसैगरी, आव ०७४/०७५ मा ७१ र ०७५/०७६ मा ७७ गरि दुई सय २१ वटा विद्यालय भवन निर्माण गरिएको श्रेष्ठले जानकारी दिए । त्यसमध्ये केही भवन निर्माणको अन्तिम चरणमा छन् । 

गैससले बनाए १२३ भवन 
गैरसरकारी संस्थाले दोलखामा एक सय २३ विद्यालय भवन निर्माण गरेका छन् । आयोजना कार्यान्वयन एकाइका इन्जिनियर राजेन्द्र श्रेष्ठका अनुसार सिविन नेपाल, लायन्स क्लब, कारितास नेपाल, सेभ द चिल्ड्रेन, युनिसेफ, सिड्स इन्डियालगायतका गैरसरकारी संस्थाले विद्यालय भवन निर्माणमा सहयोग गरेका हुन् । 

सम्झौताअनुसार गैरसरकारी संस्थाले एक सय २३ विद्यालयमा ६ सय ९८ कक्षाकोठा निर्माण गर्नुपर्नेछ । हालसम्म ६ सय पाँचवटा कक्षा कोठाको निर्माण सकिएको छ । ९३ कक्षाकोठाको निर्माण चलिरहेको आयोजनाले जनाएको छ । 

२८ भवन निर्माणका लागि ठेक्काको तयारी 
जिल्लामा २८ वटा विद्यालय भवन निर्माणका लागि ठेक्का लगाउने तयारी भइरहेको छ । विभिन्न दाताको सहयोगमा प्राधिकरणले ठेक्का आह्वानको तयारी गरेको छ । भारतीय र चाइनिज राजदूतावास तथा एडिबीको डिआरएसपी कार्यक्रमअन्तर्गत २८ विद्यालय भवन निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ ।

पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसँगको सम्झौताअनुसार भारतीय राजदूतावासले १०, चाइनिज राजदूतावासले तीनवटा र एडिबीको डिआरएसपीमार्फत् १५ गरी २८ विद्यालय भवनको ठेक्का तयारी भएको हो । दसैँअघि नै विद्यालय भवनको ठेक्का आह्वान हुने प्राधिकरणले जनाएको छ । विद्यार्थी संख्याका आधारमा दोलखामा अझै एक सय ५० कक्षाकोठा अपुग छन् ।