१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अनिश लुइँटेल
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ५ आइतबार १०:२०:००
Read Time : > 1 मिनेट
नयाँCity

भोकभोकै सगरमाथातिर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ५ आइतबार १०:२०:००

शिखर संघर्ष

अनिश लुइँटेल सगरमाथा शिखर चुम्ने पहिलो नेपाली स्काउटर हुन् । हिमाल आरोहणको शरद सिजन सुरु भएको अवसरमा उनीसँग गरिएको सगरमाथा आरोहणसम्बन्धी संवाद :

१२ वैशाख ०७२ । सगरमाथाको क्याम्प–३ तिर उकालो लाग्ने तयारीमा थियौँ । खाजा खाँदै थियौँ । एक्कासि जमिन हल्लियो । भूकम्प गएको थाहा पाएर टेन्टबाट बाहिर निस्कियौँ । सामुन्नेको पहाड हामीलाई थिच्लाझैँ गरेर हल्लिइरहेको थियो । माथिबाट ढुंगा खसिरहेका थिए । हिमपहिरो खसेको ‘गुडुङगुडुङ’को डरलाग्दो आवाज आइरहेको थियो । भूकम्प थामिएपछि क्याम्प–१ तिर फर्किने प्रयास गर्‍यौँ । तर, तल झर्ने बाटोमा राखिएका सिँढीहरू हिउँले छोपेको थियो । तीव्र गतिमा चलेको हावाका कारण अनुहार हिउँले छोपेर अगाडि बढ्नै सकेनौँ । त्यस रात क्याम्प–२ मै बस्यौँ, भोलिपल्ट क्याम्प–१ झर्‍यौँ । त्यहाँबाट सिम्रिक एयरको हेलिकोप्टरले उद्धार गरेर आधारशिविरमा ल्यायो । आधारशिविर अस्तव्यस्त थियो । त्यो रात भोकै गुजार्‍यौँ । शेर्पा दाइहरूले आफ्नो स्लिपिङ ब्याग दिए । उनीहरू भने डाउन ज्याकेटमै सुते ।

भोलिपल्ट हेलिकोप्टरमा लुक्ला आयौँ । यात्रीको भीडका कारण त्यहाँबाट काठमाडौं आउन जहाजको टिकट पाइएन । झापामा रहेका परिवारलाई फोन गरेँ र आफू सकुशल रहेको जानकारी दिएँ । र, लुक्लाबाट सल्लेरी हुँदै फाप्लुतिर अगाडि बढेँ । फाप्लु पुगेर गाडीमा ओखलढुंगा, कटारी हुँदै झापा पुगेँ ।

०००
अर्को वर्ष फेरि सगरमाथा चढ्न खर्च थिएन । शिखर चुम्न १६ लाख रुपैयाँ लाग्थ्यो । कांग्रेस नेता विश्वप्रकाश शर्माले तीन लाख रुपैयाँ जुटाइदिनुभयो, बुबाले जग्गा धितो राखेर साढे पाँच लाख दिनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा र संविधानको प्रति दिनुभयो । धन्न आरोहणका लागि आवश्यक सामान अघिल्लो वर्ष नै जुटाएको थिएँ । काठमाडौं चाबहिलस्थित डेराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने भाडासम्म थिएन, खल्तीमा । त्यसैले ४ बजे नै डेराबाट हिँडेर साढे ६ बजेको लुक्लाको फ्लाइट समातेँ ।

एजेन्सीले ब्रेकफास्ट र डिनरका लागि मात्र भौचर दिएको थियो । लुक्लामा ब्रेकफास्ट गरेर नाम्चे बजारतिर लम्किएँ । बाटोमा भोक लाग्यो, तर सकिनसकी अगाडि बढेँ । भाउजूलाई फोन गरेर आफ्नो अवस्था दर्साएँ । उहाँले २० हजार रुपैयाँ बैंकमा हालिदिनुभयो । तर, त्यो पैसा निकाल्न नाम्चे नै पुग्नुपथ्र्यो । भोकले रन्थनिँदै नाम्चे पुगेर दुईवटा स्निकर र पानी खाएर सुतेँ । भोलिपल्ट त्यहीँ बसेँ । त्यसपछि उकालो लागेर ८ जेठ ०७३ मा बुद्धजयन्तीका दिन पहिलोपटक सगरमाथाको शिखरमा पुगेँ र सगरमाथा चढ्ने पहिलो नेपाली स्काउटर बनेँ ।

०००
‘वर्ल्ड स्काउट ज्याम्बोरी’को झन्डा लिएर ३१ वैशाख ०७५ मा उत्तरी मोहडा अर्थात् चीनको तिब्बततर्फबाट दोस्रोपटक शिखर पुगे । ‘वल्र्ड स्काउट ज्याम्बोरी’को झन्डा पहिलोपटक सगरमाथा शिखरमा पुर्‍याएँ । उत्तरी मोहडाको आधारशिवरसम्मै गाडी पुग्दोरहेछ । उत्तरी मोहडाको एड्भान्स बेसक्याम्पसम्म याक पुग्दारहेछन्, जुन नेपालतर्फको क्याम्प–२ को हाराहारी हो । आधार शिविरमा आरोहीहरूको सुविधाका लागि नाइटक्लबहरू रहेछन् । बियरको चुस्की र अंग्रेजी गीतमा डिस्को नाच्दै थकाइ मेट्दारहेछन्, आरोहीहरू ।

अब अफ्रिकाको माउन्ट किलिमन्जरो, अस्ट्रेलियाको माउन्ट कोस्किअस्को, दक्षिण अमेरिकाको अकोन्कागुवा, युरोपको माउन्ट ब्लांक, उत्तर अमेरिकाको माउन्ट डेनाली, अन्टार्कटिकाको माउन्ट भिन्सन र उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्दै छु ।

प्रस्तुति : उपेन्द्र पोखरेल