Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज ४ शनिबार १९:५५:००
Read Time : > 1 मिनेट
समाचार

ओझेलमा जाँदै पोखराको नगर सभ्यता प्रारम्भ स्थल 

Read Time : > 1 मिनेट
२०७६ असोज ४ शनिबार १९:५५:००

मोरिया टोल, भैरभ टोल, गणेश टोल, भीमसेन टोल र रामकृष्ण टोललाई पोखराको पुरानो व्यापारिक केन्द्रको रुपमा चिनिन्छ । कवि एवं संस्कृतिविद तीर्थ श्रेष्ठ यहीबाट पोखराको नगर सभ्यता प्रारम्भ भएको बताउँछन् । नगर सभ्यताको प्रारम्भ भएको उक्त क्षेत्रमा अहिले पनि त्यो बेलाको झल्को दिने पुराना घर र मठ मन्दिरहरु देख्न सकिन्छ । तर, उचित संरक्षण र प्रचार प्रसार हुन नसकेपछि गाेप्य भएकाे छ । संरक्षणमा ढिलाइ हुँदा पोखराको पुरानो कला तथा संस्कृति मात्र होइन, एउटा इतिहास लोप हुने अवस्था भएकाे श्रेष्ठले बताए ।

संस्कृतिविद अष्टमान प्रधानांगका अनुसार १८२६ मा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा आक्रमण गरेपछि स्थानीय नेवारहरू तितरबितर भएर पाेखरा पुगे । तिनै नेवारहरूले नगर सभ्यताको विकास गरेकाे उनकाे भनाइ रहेकाे छ । उनीहरूसँगै उपत्यकाका कला र संस्कृति पोखरा भित्रिएको उनको दाबी छ । पोखरामा अहिले १९२० मा बनेका पुरानो कला र संस्कृति झल्काउने कलात्मक घर छन् । तर, पछिल्लाे समयमा परम्परागत कला संस्कृतिकाे जगेर्ना हुन नसक्दा लोप हुने अवस्थामा रहेकाे छ ।

सम्पदा क्षेत्र घोषणा गरेर संरक्षण गर्नु पर्ने

करिब १८ औँ शताब्दीको प्रारम्भमा विकास भएकाे उक्त क्षेत्रलाई सम्पदा क्षेत्र घोषणा गरेकाे भए पोखराको पुरानो बजार भक्तपुरको शैलीमा विकास हुने कवि श्रेष्ठको विश्लेषण छ । अझै पनि महानगरले योजना ल्याएर सम्पदा क्षेत्र घोषणा गरी विकास गर्नु पर्ने उनकाे भनाइ छ । ‘यो क्षेत्र पहिले नै सम्पदा क्षेत्र घोषणा भइसक्नु पर्ने हो, यसमा हामी चुकेका छौँ, अझै समय छ’ उनले भने । कवि श्रेष्ठले यहाँको विकासका लागि पोखरा महानगरको वडा नम्बर एकदेखि चारसम्मका जनप्रतिनिधिले सामुहिक पहल गर्नु पर्नेमा जोड दिन्छन् । 

पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्षसमेत रहेका नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे उक्त क्षेत्रलाई भक्तपुरकै शैलीमा विकास गर्नु पर्नेमा जोड दिन्छन् । कला–संस्कृति जोगाउने आफूहरूको प्रयासलाई स्थानीय सरकारले साथ नदिएको गुनासो गरे । ‘हाम्रो र समग्र पोखराकै कला–संस्कृति जोगाउने प्रयास हामीले गरेका छौँ, यसमा सरकारको पनि साथ हुनु पर्यो, त्यस अनुरूपको योजना अहिलेसम्म देखिएन,’ उनले भने । 

ऐतिहासिक र सांस्कृतिक आधार

पुराना कला संस्कृति झल्कने घर मात्र होइन उक्त क्षेत्रमा नगर सभ्यताको प्रारम्भसँगै निर्मित प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर, भिमसेन, भैरभ र गणेश मन्दिर छन् । अहिलेसम्म जिवित रहेको संस्कृति गठेमंगल, तायामचा नृत्य, लाखेनाच, भैरवजात्रा, गणेशजात्रा, माघे जात्रालगायत जात्रा उक्त स्थललाई नै आधार बनाएर हुन्छन् । 

यसको उचित प्रचारप्रसार गर्ने हो भने सांस्कृतिक र धार्मिक पर्यटकको भिड लाग्ने विज्ञहरूको दाबी छ । संस्कृतिविद् प्रधानांगका अनुसार विशेष पर्व र अवसरमा निकालिने यस्ता जात्राको बारेमा प्रचार गर्न सक्ने हो भने पनि धेरै पर्यटक यहाँ आउन र बुझ्न सक्नेछन् । पोखरामा ऐतिहासिक देवीनाच भने लोप भइसकेको छ । 

पुरानै शैलीमा घर बनाए ५० प्रतिशत छुट

पोखरा महानगरले चालु आर्थिक वर्र्ष (२०७६-०७७) को बजेटमा पुरातात्विक महत्वका पुराना घर पुरानै शैलीमा बनाए ५० प्रतिशत राजश्व छुट दिने घोषणा गरेको छ । महानगरका मेयर मानबहादुर जिसीले महानगर यस्ता कुरामा सचेत रहेको र अध्ययन गरेर संरक्षणको काम गरिने बताए । यता स्थानीयले भने राजश्व छुटको कुरा गर्नुभन्दा महानगरले त्यस्ता घरहरुलाई सहुलियत र संरक्षणमा योगदान दिनुपर्ने बताएका छन् ।