मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ४ शनिबार १४:५५:००
Read Time : > 1 मिनेट
समाचार

कानुन निर्माणमा सरकारले ऐतिहासिक फड्को मारेको छ : कानुनमन्त्री ढकाल

Read Time : > 1 मिनेट
२०७६ असोज ४ शनिबार १४:५५:००

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आफु मन्त्री भएपछिका एक वर्षमा कानुन निर्माणमा सरकारले ऐतिहासिक फड्को मारेको दाबी गरेका छन् । ‘मैले अत्यन्तै अप्ठ्यारो अवस्थामा  जिम्मेवारी पाएको थिए, तर यो एक वर्षकै अवधिमा मौलिक हकसम्बन्धी कानुनहरु बनाई मौजुदा २ सय ४२ वटा कानुन पनि अपडेट भइसकेका छन्,’ उनले भने । मन्त्री ढकालले विरलै देशमामात्रै एक वर्षमा यत्तिका कानुन बनेका दाबी गरे । 

काठमाडौंमा तेह्रथुम सरोकार समाजको सातौँ साधारण सभामा जिल्लाबासीलाई सम्बोधन गर्दै मन्त्री ढकालले आफु मन्त्री भएपछि गरेका कामको फेहरिस्त सुनाए । उनले भने, ‘गत असोज–२ भित्र बनिसक्नुपर्ने मौलिक हकसम्बन्धी १६ कानुन निर्माण भए, अरु ३२६ वटा मौजुदा कानुनहरुमध्ये अहिलेसम्म २ सय ४२ वटा कानुनहरु अपडेट गरिएको छ ।’ 

मन्त्री ढकालले नेकपाको दुई तिहाई बहुमतको सरकार भएपनि संविधान निर्माणमा भएका सहमति र सहकार्यको अभ्यासलाई निरन्तरता दिएको बताए । ‘संविधान निर्माणमा दलहरुबीच जुन सहमती र सहकार्य भएको थियो, कानुन निर्माणमा त्यसलाई निरन्तरता दिएका छौँ, केही २–४ वटा कानुनबाहेक सबै कानुनहरु सर्वदलीय सहमतीबाटै बनेका छन्,’ उनले भने । मन्त्री ढकालले प्रदेश र स्थानीय तह सञ्चालनका लागिसमेत धेरैजसो कानुनहरु बनिसकेको बताए ।

मन्त्री ढकालले तेह्रथुमसहित पुर्वी पहाडी जिल्लामा पुर्वाधार र खानेपानीको समस्या रहेको बताए । उनले आफु मोरङबाट निर्वाचित भएर मन्त्री बनेपनि जन्मथलो तेह्रथुमलाई नबिर्सिएको बताए । भने, ‘गाउँमा पिउने पानीकै समस्या छ, हामी यता आयौँ, उता गाउँ रित्तिदै छ ।’ उनले प्रस्तावित तमोर जलाशययुक्त आयोजना निर्माणको काम सुरु भएपछि तेह्रथुम, पाँचथर, धनकुटा लगायत जिल्लाका बासिन्दाको मन थामिने बताए । 

‘हामीलाई समस्या थाहा छ, तर समाधान तुरुन्तै गर्न सकिएको छैन, सरकारले कमसेकम गाउँमा पानी पिउने बातावरण बनाइदिए मात्रै पनि बसाइसराई न्युनिकरण गर्न सकिन्छ,’ उनले भने । कार्यक्रममा मन्त्री ढकालले तेह्रथुम सरोकार समाजले प्रकाशन गरेको ‘तेह्रथुम सरोकार’ नामक स्मारिका विमोचन गरेका छन् ।

कार्यक्रममा सांसद भवानीप्रसाद खापुङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सीना, गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भटराई, राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सीना, प्राध्यापक डा.हेमनाथ पौडेल, डा.त्रिलोचन उप्रेती, डा.हेम लिम्बु, प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेल, पुर्वमन्त्री पर्शुराम खापुङ लगायतको सहभागिता रहेको थियो । सरोकार समाज काठमाडौँमा बसोबास गर्दै आएका तेह्रथुमेहरुको साझा संस्था हो । ०६३ सालमा स्थापना भएको संस्थाले जिल्लालाई राजधानी र सिंहदरबारसँग जोड्न महत्वपूर्ण कार्य गर्दै आएको छ ।