यसै साता दुबई यू–१९ जुनियर च्याम्पियनसिप उपाधि जितेका प्रिन्स दाहालका बुबा नारायणलाई ब्याडमिन्टनमा ठूलै रुचि थियो । नारायण प्रिन्सलाई आफूसँगै ब्याडमिन्टन कोर्टसम्म लैजान्थे । दार्चुलाको खलंगामा स्थानीय आफ्नो स्वास्थ्यका लागि ब्याडमिन्टन खेल्थे । यही सिलसिलामा प्रिन्सले पनि ब्याडमिन्टन खेल्न सुरु गरे । यो खेल बिस्तारै उनको रहर र प्यासन बन्यो । सानै उमेरमा राम्रैसँग ब्याडमिन्टन खेल्ने भएपछि प्रिन्सलाई मामा कमलेश निरौलाले काठमाडौं बोलाए । काठमाडौं झरेसँगै प्रिन्सको ब्याडमिन्टन यात्रा परिष्कृत बन्दै गयो । यसैको एउटा अर्को अध्यायका रूपमा प्रिन्स दुबई ओपनमा सनसनीपूर्ण प्रदर्शन गर्न सफल भए । सफलतासँगै उनी पुनः एकपटक नेपाली र अन्तर्राष्ट्रिय ब्याडमिन्टन क्षेत्रमा फरक पहिचान बनाउन सफल भएका छन् ।
पुलिस होस्टेलमा चार वर्ष
केवल नौ वर्षको उमेरमै कृष्णमोहन स्मृति ब्याडमिन्टनमा सहभागिता जनाउन प्रिन्स पहिलोपटक काठमाडौं आएका थिए । त्यतिवेला उनी पहिलो खेलमै पराजित भए । स्थानीयदेखि राष्ट्रिय प्रतियोगितासम्म आइपुग्दा उनले धेरै पक्षको अभाव महसुस गरे । तर, उनको खेलप्रतिको लगाव विलकुलै घटेन । प्रिन्स भन्छन्, ‘सानैमा कृष्णमोहन स्मृति ब्याडमिन्टन खेल्दा जित्नेभन्दा पनि सबै कुरा नौलो लागेको थियो ।’ दोस्रोपटक पुष्पलाल स्मृतिका लागि काठमाडौं आउँदा प्रिन्स फरक छाप छोड्न सफल भए । पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी प्रिन्सले दुई खेल जित्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरे । सोही खेल हेरेर उनलाई नेपाल पुलिस स्कुलले होस्टेलमा प्रवेश दिएको थियो । मामा कमलेश निरौला भन्छन्, ‘हामीले पुलिस स्कुलसित प्रिन्सलाई भर्ना गर्न आग्रह गर्यौँ । उहाँहरूले स्विकार्नुभयो । गैरपुलिसका सन्तानले पुलिस स्कुलमा सायदै अवसर पाउँछन् ।’ प्रिन्सले पुलिस स्कुलबाटै आफूलाई थप परिष्कृत गर्दै लगे । कमलेश भन्छन्, ‘चार वर्ष पुलिस स्कुलको होस्टेलमा रहँदा उनले आफूलाई ब्याडमिन्टनमै केन्द्रित गरे ।’ होस्टेल अनुभवबारे प्रिन्स भन्छन्, ‘होस्टेलमा रहँदा पुलिसका ठूला हाकिमहरू आएर मसँग ब्याडमिन्टन खेल्नुहुन्थ्यो । उहाँहरू मलाई राम्रो गर्न उत्साहित बनाउनुहुन्थ्यो ।’ सात कक्षासम्म उनले पुलिस स्कुलको होस्टेलमा बसेर पढाइसँगै ब्याडमिन्टन खेले । दुई वर्षयता उनी डाँफे स्कुलमा पढिरहेका छन् । ब्याडमिन्टनले गर्दा बीच–बीचमा पढाइ ग्याप भइरहेको प्रिन्स बताउँछन् । उनी भन्छन्, ‘ब्याडमिन्टनमा ध्यान दिँदा पढाइ छोड्नुप¥यो । यसबीचमा एक वर्षभन्दा बढी त ग्याप नै भयो ।’
जापानिज खेलाडी पनि समर्थक
गत २३ देखि २८ अप्रिलमा थाइल्यान्डमा भएको रोजा इन्टरनेसनल जुनियर च्याम्पियनसिपमा उनले २६४ खेलाडी प्रतिस्पर्धी भएको प्रतियोगिताको फाइनलमा स्थान बनाए । उनी फाइनलमा भारतीय खेलाडी प्रणव राव गन्धमसँग पराजित भए । थाइल्यान्डमा प्रिन्सको खेल देखेर तीन जापानिज खेलाडी दंग परेका रहेछन् । जापानिज खेलाडी उनका फ्यान नै बने । ‘जापानका तीन खेलाडी मेरो खेल देखेर निकै खुसी भए,’ उनी भन्छन्, ‘उनीहरूले मैले लगाएको टिसर्ट नै लगे । खेलका दौरान पसिनाले भिजेको टिसर्ट पाउँदा उनीहरू निकै खुसी देखिन्थे । अहिले पनि त्यो क्षण सम्झिँदा रमाइलो लाग्छ ।’
दुबई यू–१९ जुनियर ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा भारतीय खेलाडी वरुण कपुरले आक्रोशित बनाउन अनेक प्रयास गरे । तर, शान्त स्वभावका प्रिन्सले वरुणको क्रियाकलापलाई ध्यान दिएनन्
दुबई फाइनलको त्यो अनुभव
दुबईमा भएको यू–१९ जुनियर ब्याडमिन्टन सिरिजमा सहभागिता जनाउनुअघि प्रिन्सलाई प्रतियोगितामा केही गर्छु भन्ने लागेको थियो । उनको एउटै मात्र लक्ष्य थियो, फाइनल । प्रिन्स आफ्नो प्रारम्भिक लक्ष्यसम्म मात्र पुगेनन्, उनले उपाधिसमेत जिते । प्रिन्स भन्छन्, ‘हरेक खेलमा टफ प्रतिस्पर्धा हुन्थ्यो । मभन्दा विपक्षी खेलाडीको वरीयता निकै माथि थियो ।’ उनले आफूभन्दा माथिल्लो वरीयता पाएका खेलाडीबारे खासै चिन्ता गरेनन्, केवल आत्मविश्वास दरिलो बनाउँदै निरन्तर खेल जिते ।’ उनी भन्छन्, ‘जब फाइनलमा स्थान बनाएँ, त्यसपछि मलाई थप चुनौती महसुस भयो । उपाधि भिडन्तमा यू–१९ को विश्व वरीयतामा नवौँ स्थानमा रहेका वरुण कपुर अगाडि थिए, त्यसवेला म अलि नभर्स भएँ ।’ उपाधिका प्रमुख दाबेदार वरुणले प्रिन्सलाई फाइनलमा आक्रोशित र उत्तेजित बनाउने धेरै प्रयास नगरेका होइनन् । तर, प्रिन्स विपक्षीको रणनीति विफल पार्दै उपाधितर्फ लम्किरहे । ‘खेलका दौरान वरुण कपुरले मलाई उत्तेजित बनाउने धेरै प्रयास गरे, तर म शान्त भइरहेँ,’ फाइनलको क्षण सम्झँदै प्रिन्सले भने, ‘वरुणको क्रियाकलापलाई ध्यान नै दिइनँ ।’ वरुणले फाइनलमा देखाएको क्रियाकलापलाई प्रिन्सले एक अनुभवका रूपमा सँगालेका छन् ।
दर्शकको माया
युएईमा उनले नेपालको कभर्डहलमा भन्दा कम माया पाएनन् । उल्लेखनीय संख्यामा नेपाली समर्थकले प्रिन्सका हरेक खेलमा खुलेर समर्थन गरे । प्रिन्स भन्छन्, ‘मलाई हरेक खेलमा सपोर्ट गर्न नेपाली आउनुहुन्थ्यो । फाइनलमा अझ ठूलो संख्यामा उहाँहरूको उपस्थिति थियो ।’ खेलपछि पनि उनलाई नेपाली समाजले निरन्तर सहयोग ग¥यो । दिनेश आचार्यले उनलाई एक लाख सहयोग गरेका थिए । प्रिन्स भन्छन्, ‘यसरी सहयोग दिँदा झनै केही गर्छु भन्ने आत्मविश्वास जागेको छ ।’ प्रिन्सले छोटो समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा मलेसिया, जापान, थाइल्यान्ड, फ्रान्सलगायत बलिया देशका खेलाडीलाई पाखा लगाएका छन् । त्यही भएर अब उनी सिनियर यात्रालाई पनि उत्कृष्ट बनाउने अभियानमा छन् ।
पहिला मानेनन्, अहिले बोलाउँछन्
आफ्नो सफलतामा रमेश शेर्पाको ठूलो हात रहेको प्रिन्स मान्छन् । ‘मैले राष्ट्रियस्तरमा खेल्दै गर्दा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने क्षमता रमेश दाइले नै पहिचान गराउनुभएको थियो,’ प्रिन्स भन्छन्, ‘उहाँले नै मलाई भारत र थाइल्यान्डमा अभ्यासका लागि पठाउनुभएको थियो ।’ ब्याडमिन्टनमा राम्रो गर्दै गएपछि मामा कमलेशले उनलाई भारतमा राम्रो मानिएका एकेडेमीमा अभ्यासको प्रयास गरे । तर, उनीहरूले नेपाली खेलाडी भनेपछि सीधै अस्वीकार गरे । कमलेश भन्छन्, ‘गोपी चन्द र प्रकाश पादुकोण एकेडेमीमा अभ्यासको प्रयास गरेँ, तर उहाँहरूले लिनै मान्नुभएन ।’ यद्यपि, अहिले भारतीय खेलाडीलाई नै पराजित गरेर सिरिज जितेपछि एकेडेमीमा आबद्ध हुन प्रिन्सलाई निरन्तर फोन आइरहेको कमलेश बताउँछन् । ‘मलाई अहिले तिनै एकेडेमीबाट निरन्तर फोन आइरहेको छ, उनीहरू प्रिन्सलाई लिएर आउन भनिरहेका छन्,’ उनी भन्छन् ।