मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज ४ शनिबार ०८:०२:००
Read Time : > 10 मिनेट
मुख्य समाचार

देउवाको सन्तुलनमा अडेको निधि-गच्छदार सम्बन्ध

Read Time : > 10 मिनेट
२०७६ असोज ४ शनिबार ०८:०२:००

‘कांग्रेसमा एकताबद्ध हुन आउनुभएका गच्छदारजीलाई हार्दिक स्वागत र बधाई छ । उहाँ हाम्रो नेता हो । उहाँले पार्टीमा नेतृत्वदायी भूमिका खेल्नुहुन्छ । मिहिनेत गर्न सक्ने नेता भएकाले, मिहिनेत गरेर बलियो पार्टी बनाउनमा सफल हुनुहुन्छ भन्ने विश्वास लिएको छु,’ नेकपा एमाले र माओवादीबीच चुनावी गठबन्धन हुने पक्का भएपछि ३० असोज ०७४ मा विजयकुमार गच्छदारलाई कांग्रेस प्रवेश गराउँदै तत्कालीन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले बालुवाटारभित्रको हलमा यसरी टिप्पणी गरेका थिए । 

तराई–मधेसमा पकड भएका नेता विमलेन्द्र निधिसँग उतार–चढावपूर्ण सम्बन्ध गुजारेपछि गच्छदारको बारेमा देउवाले गरेको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । पार्टीलाई कांग्रेसमा बिलय गराएपछिको पहिलो भाषण गर्दै गच्छदारले १८ माघ ०६४ मा बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरूबीच छलफल गर्दैगर्दा कांग्रेस छोड्नुपरेको सत्य सुनाउँदा भावुक बनेका थिए । आफूले रगत–पसिना बगाएको पार्टीबाट बाहिरिनुपर्दाको विगत सम्झिँदै गच्छदारले आँसु नै चुहाए । गिरिजादेखि नोना कोइरालाले ‘माया गर्ने’ ‘बेटा’ भन्ने गरे पनि पार्टीमा अटाउने ठाउँ नदिएको भन्दै उनी झन् भावुक बनेका थिए, त्यस दिन । 

उनी भावुकतामा बगिरहँदा ड्यासमा रहेका कांग्रेसका शीर्ष नेताको अनुहार पनि मलिन देखिन्थ्यो । एकतासभामा मन्तव्यको सुरुमै गच्छदारले ‘जय नेपाल’ भने । सहभागी सबैलाई ‘जय नेपाल’ भन्न आग्रह गरे । २० मिनेटको भाषण सकाउने क्रममा पनि ‘जय नेपाल’ भन्न भ्याए । केही बिर्सेझैँ गरी अन्तिममा ‘जय मधेस’ भन्दै उनले भाषण सके । कांग्रेसमा आउनुअघि उनी ‘जय नेपाल’ भन्दा ‘जय मधेस’को अभिवादनले परिचित थिए । 

नआएका निधि आएपछि ...
बालुवाटारको खचाखच भिडमा तराई–मधेसबाटै प्रतिनिधित्व गर्ने अर्का प्रभावशाली नेता विमलेन्द्र निधि भने देखिएका थिएनन् । आइजिपी प्रकरण, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रकरणपछि देउवासँग चिसिएको सम्बन्ध पुनः सुरु भएको धेरै भएको थिएन । यहीवेला गच्छदार १० वर्षपछि कांग्रेसमा फर्किंदै गर्दा निधि नआउँदा एक खालको संशय उब्जिएको थियो । असाध्यै निकट भएर काम गरे पनि वेलाबखत देउवा–निधि सम्बन्ध चिसिन पुग्दा देउवाले तराई–मधेसबाट नयाँ सारथी खोजेका हुन् कि भन्ने अनुमान पनि नगरिएको होइन । 

विमलेन्द्र निधि र विजय गच्छदार सधैँ शक्तिमा रहनुभएका नेता हुनुहुन्छ, दुवै उत्तिकै महत्वाकांक्षी हुुनुहुन्छ । तर, सत्तामा रहँदा, पार्टी संगठनमा काम गर्ने मौका पाए पनि दुवैले उल्लेखनीय काम गर्न सक्नुभएको छैन । 

तर, गच्छदार मन्तव्य राख्न पोडियममा गएको केहीबेरमै निधि कार्यक्रममा झुल्किए । गच्छदार पोडियममा गएको वेला परेकाले निधि संयोगले गच्छदार बसेकै सोफामा बस्न पुगे । गच्छदारले भाषण सकाएर फर्किंदा निधिसँग अंकमाल गरे । कार्यक्रम सञ्चालक महेश आचार्यले दुई नेताको अंकमाललाई ‘मित्रताको क्षण’ भनिदिँदा हल हाँसो र तालीले गुञ्जियो । त्यसपछि पनि गच्छदार र निधि भलाकुसारीमै व्यस्त देखिए । 

दुवैलाई उस्तै भूमिका 
कांग्रेसमा फर्किंदा गच्छदारले एमाले–माओवादी गठनबन्धनले बहुमत नल्याउने दाबी गरेका थिए । कांग्रेसले पनि गठबन्धन बनाउने घोषणा उनले गर्न भ्याए । तर, निर्वाचनमा कांग्रेस २३ सिटमा खुम्चियो । यही सिटमा गच्छदार सुनसरीबाट अटाए । यसैको नजिता उनलाई देउवाले संसदीय दलको उपनेता बनाए । उता निधिले प्रदेश–२ मा तालमेलमा क्षेत्रीय दल राजपा, फोरमलाई सिट छोडाउन सफल भए, तर कांग्रेस नेताका लागि जित्ने गरी आधार तयार गर्न नसकेको आरोप खेपे । परम्परागत क्षेत्र धनुषा–३ मा निधिले स्वयं राजपाका नेता राजेन्द्र महतोसँग पराजय भोग्नुपर्‍यो ।

२१ वैशाख ०७५ मा निधि उपसभापतिमा मनोनीत भए । यसको ६ महिनापछि २० कात्तिकमा गच्छदारलाई पनि देउवाले केन्द्रीय समितिबाट उपसभापतिमा मनोनीत गरे । कांग्रेसका पाँच पदाधिकारीमा तराई–मधेसबाटै दुई–दुई उपसभापति र एक कोषाध्यक्ष भए । सीतादेवी यादव १३औँ महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । तर, निधिलाई उपसभापति बनाएको ६ महिनामा विधानमै व्यवस्था नभए पनि पार्टी एकीकरणको राजनीतिक निर्णयकै भरमा देउवाले गच्छदारलाई उपसभापति बनाए । निधिबराबरकै हैसियत दिए । 

निधि–गच्छदारको राजनीतिक उतार–चढाव
गच्छदार १९ माघ ०१० मा सुनसरीको पचरामा जन्मिएका हुन् । हाल उनी ६६ वर्ष पुगे । निधिको जन्म १० असोज ०१३ सालमा जनकपुरमा भएको थियो । गच्छदार थारू समुदायका हुन् भने निधि कायस्थ अर्थात् मधेसका उच्च जातिका हुन् । 

गान्धीवादी नेता महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र १४ वर्षकै उमेरमा जेल परे । यता उमेरमा तीन वर्ष जेठा भए पनि गच्छदारको राजनीतिक सक्रियता केही ढिलो सुरु भयो । शेरबहादुर देउवापछि ०३६ सालमा निधि नेविसंघको सभापति हुँदा गच्छदार सुनसरीमा जिल्लास्तरका नेविसंघ नेता थिए । तर, ०४६ सालको परिवर्तनपछि यी दुई नेताको राजनीतिक परिस्थिति अलग देखिन थाल्यो । 

०४८ को आमनिर्वाचनमा विमलेन्द्र निधिबाहेक नेविसंघका तत्कालीन र पूर्वसभापति सबैले टिकट पाए । निधिका बाबु महेन्द्रनारायण निधि नै धनुषा–४ बाट निर्वाचन लडेकाले छोराले टिकट पाएनन् । तर, गच्छदार सुनसरी–२ बाट निर्वाचित मात्रै भएनन्, सञ्चार राज्यमन्त्री बने ।

०५३ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनदेखि पाँच विकास क्षेत्रबाट पाँच केन्द्रीय सदस्य निर्वाचितको व्यवस्था सुरु गर्दा गच्छदारले जिते । तर, निधि पराजित भए । पूर्वाञ्चलबाट गच्छदारले प्रकाश कोइरालालाई पराजित गर्दा मध्यमाञ्चलबाट भीमबहादुर तामाङसँग निधि पराजित भए । गिरिप्रसाद कोइरालाले रोक्न खोज्दाखोज्दै उम्मेदवारी दिएर गच्छदार जित्न सफल भए । कोइराला परिवारका नेतालाई परास्त गरेदेखि गिरिजाप्रसाद र गच्छदारको सम्बन्धमा त्यतिखेरैदेखि चिसोपना बढेको कांग्रेस नेता चिरञ्जीवी वाग्ले बताउँछन् । पार्टीको निर्वाचनमा जितेपछि गच्छदारको हाइट माथि देखियो । तर, विमलेन्द्र निधि ०५७ सालमा पोखरामा भएको १०औँ महाधिवेशनबाट मात्र बल्ल केन्द्रीय सदस्य बने ।

दुवै देउवातिर
संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने विवादमा कांग्रेस फुट्दा निधि र गच्छदार दुवै देउवातिर लागे । देउवा सभापति हुँदा वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई, उपसभापति चिरञ्जीवी वाग्ले, महामन्त्री खुमबहादुर खड्का र सहमहामन्त्री विजयकुमार गच्छदार भए । तर, महामन्त्री खड्का गिरिजाप्रसाद नेतृत्वको मूल कांग्रेसमा गएपछि गच्छदार महामन्त्री बनाइए । पार्टी विभाजनको ६ महिनापछि कार्यसमिति पुनर्गठन हुँदा मात्र निधि केन्द्रीय सदस्य बनाइए । 

गच्छदारको ठाउँमा निधि 
०६२/६३ सालसम्म पनि गच्छदार नै महामन्त्री थिए । तर, आन्दोलनमा नगएको भन्दै गच्छदारलाई हटाएर देउवाले निधिलाई महामन्त्री बनाए । कांग्रेसमा मुख्य गरी देउवा, निधिसहितका नेता किसुनजी लाइनका थिए । गिरिजाप्रसादसँग सम्बन्ध बिग्रिए पनि गच्छदारले कोइराला लाइन छोडिसकेका थिएनन् । गच्छदारको शैली पनि कोइराला परिवारको जस्तै खासगरी गिरिजाप्रसादले जस्तै शक्ति संघर्षमा लागिरहने भएकाले धेरै कुरा त्यतै मिल्थ्यो । तराई–मधेस कांग्रेसको बलियो आधार क्षेत्र भएकाले कांग्रेसमा स्थापित हुन तराई–मधेसमा बलियो हुनैपथ्र्यो । यस्तोमा देउवा तराईबाट बलियो र दरिलो साथ दिने नेताको खोजीमा थिए । यस्तोमा गिरिजाप्रसादसँग सम्बन्ध नटुटाइसकेका गच्छदारभन्दा निधिलाई प्राथमिकता दिएको हुन सक्ने नेता वाग्लेको टिप्पणी छ । राजनीतिक रूपले निधि सिनियर भए पनि शक्ति सन्तुलनमा कहिले गिरिजा र कहिले देउवानिकट भएका गच्छदार पार्टीको राजनीति र सरकारमा भने सिनियर देखिए । 

पार्टी एकतापछि गच्छदार बाहिर
०६४ सालको पहिलो संविधानसभा निर्वाचनअघि दुई कांग्रेसबीच एकीकरण भयो । एकीकरणपछि मूल पार्टीमा पनि निधि महामन्त्री नै कायम भए । तर, दुई कांग्रेसबीच एकीकरण भएपछि गच्छदारले पार्टीमा बसिरहन उचित देखेनन् । गच्छदारले निधिभन्दा पछाडि बस्न नचाहेरै कांग्रेस परित्याग गरेको चर्चा गरिन्छ । 

त्यसपछि गच्छदार निर्वाचनअघि ०६४ फागुनमा मधेस आन्दोलनबाट उदाएको मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरे । उनी उपेन्द्र यादवभन्दा जुनिएर भएर गएका थिए । गच्छदारको प्रवेशपछि तत्कालीन फोरमले ५२ सिट जित्न सफल भयो । पहिलो संविधानसभाबाट माओवादी र फोरम नयाँ शक्तिका रूपमा उदाउँदै कांग्रेसबाहेकका शक्तिले मात्र सरकार गठन गरे । तर, उनको उपेन्द्रसँगको सहकार्य पनि लामो हुन सकेन । पहिलो संविधान सभापछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै गच्छदार फोरम (लोकतान्त्रिक) दल गठन गरी सरकारमा गए । 

संगठित गच्छदार
०५१ सालको मध्यावधिपछि ०५५ सालसम्म गच्छदार शक्ति सन्तुलनमा अरू नेताबराबरीमै देखिए । ‘एकेजेबी’ अर्थात् अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदारको समूह निकै चर्चित थियो । यो समूहले सामूहिक रूपमा पार्टीदेखि सत्तासम्म आफूहरूको शक्ति र दबादबा बढाउने नीति लिएको थियो । तर, यो समूह लामो समय शक्ति सन्तुलनमा टिक्न सकेन । खड्का र जोशी भ्रष्टाचारको मुद्दामा तानिए । तर, यसका प्रमुख खेलाडी गच्छदारको शक्ति संघर्ष भने कहिल्यै कमजोर भएन । गच्छदार ०४८ सालपछिका कुनै पनि निर्वाचनमा हारेनन् । उनी नेपालको इतिहासमै सबैभन्दा धेरै अर्थात् १२ पटक मन्त्री हुनेमध्येमा पर्छन् । 

०४८ सालपछि गच्छदारले सधैँ चुनाव मात्र जितेनन् । प्रायः सबै सरकारमा प्रभावशाली मन्त्रालयमा उनको उपस्थिति रह्यो । उनी १२ पटकसम्म मन्त्री भइसकेका छन् । यता निधिको संसदीय यात्रा भने उतार–चढावपूर्ण भइरह्यो । आफूभन्दा जुनिएर नेताले टिकट पाउँदा पनि उनले पाएनन् । निर्वाचनमा उम्मेदवार बन्दा पनि पराजित हुन पुगे । यद्यपि, संख्यामा गच्छदारको जति अंक नपुगे पनि सत्ताको निकटताबाट निधि पनि कहिल्यै टाढा भने नरहेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको टिप्पणी छ । 

विजय गच्छदार पार्टीका लागि रगत–पसिना बगाएका नेता हुन् । उनी दबिएको क्लासका प्रतिनिधि हुन् । थारूको संख्या ठूलो भएकाले उनको जातीय भोटको प्रभाव राम्रो छ । निधि कायस्थ हुन् । उनीहरूको जनसंख्या निरन्तर घट्दो छ । तर, पढेलेखेका बौद्धिक नेताका रूपमा निधि परिचित छन् । काम गरेरै प्रभाव पार्न सक्छु भन्ने सोच निधिमा देखिन्छ । 
 

पूर्व मेचीदेखि पश्चिमसम्मै थारू समुदायमा राम्रो प्रभाव, निरन्तर चुनाव जित्ने, शक्तिमा रहिरहन जुनसुकै सरकारमा सहभागी हुने, शक्तिका लागि पार्टी छोड्ने, फोड्ने, आफ्नै मूल पार्टी कांग्रेसमै फर्किनेजस्ता शक्ति सञ्चय र संगठित गतिविधिमा गच्छदार निकै प्रभावशाली ठानिन्छन् । बुद्धिविलासभन्दा बढी ‘पावर पोलिटिक्स’का लागि गच्छदार परिचित नाम भएको चर्चा कांग्रेसमा मात्र होइन, बाहिरी वृत्तमा पनि हुने गर्छ । धेरैपटक मन्त्री भएका गच्छदारको बाहिरी छवि राम्रो छैन । तर, पटक–पटक मन्त्री भए पनि निधिको छविमा अहिलेसम्म दाग लागेको छैन । 

रणनीतिक निधि
विमलेन्द्र निधि पनि शक्तिमा टिकिरहन रुचाउने नेतामै पर्छन् । उनको काम गर्ने शैली पृथक् छ । गच्छदारले जस्तो सीधै ‘पावर पोलिटिक्स’ गर्न रुचाउँदैनन् । तर, पढ्ने–लेख्ने भनेर परिचित कायस्थ परिवारका निधि बौद्धिक, तार्किक, लेखन, भाषण, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धबाट आफूलाई शक्तिमा राखिरहन्छन् । अध्ययनशील नेता भएको र मुख्य नेताको वरिपरि भइरहने भएकाले पनि उनी रणनीतिक मानिन्छन् । एमाले–माओवादीबीचको गठबन्धन दोस्रो प्रयासमा फुटाएर देउवालाई माओवादीकै सहयोगमा प्रधानमन्त्री बनाउनेसम्मको मुख्य रणनीतिकार निधिलाई नै मानिन्छ ।

कानुन, व्यवस्थापन, राजनीतिक शास्त्र, अर्थशास्त्रजस्ता विषयमा गहिरो दृष्टिकोण राख्छन् । सम्बन्ध बिग्रिन खोजे पनि उनी देउवाको निकटताबाट अलग हुन सकेका छैनन् । कोइराला परिवारमा जस्तो निधि विरासतको राजनीतिमा आफूलाई विश्वास नभएको भन्दै आफ्नै सक्रियता र मिहिनेतमा राजनीति गर्नुपर्ने तर्क गर्छन् । बुद्धिविलासले नै उनी देउवाको दाहिना बनेर काम गर्दै आएका छन् । बाबुको समेत कोइरालाहरूसँग राम्रो सम्बन्ध नभएकाले निधिको पनि उनीहरूसँग कहिल्यै राम्रो सम्बन्ध नभएको बताइन्छ । 

देउवा–निधि सम्बन्ध बिग्रिँदै, बन्दै
प्रचण्ड प्रधानमन्त्री हुँदा देउवाले जयबहादुर चन्दलाई आइजिपी बनाउन खोजेका थिए । तर, प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका निधि नवराज सिलवालको पक्षमा उभिए । देउवाको अडानपछि निधिको केही लागेन । सरकारले चन्दलाई नै आइजिपीमा नियुक्त गराइछाड्यो । तर, सरकारको निर्णयमा अदालत बाधक भइदियो । अदालतले चन्दको नियुक्ति रोकिदिएपछि सरकारले प्रकाश अर्याललाई आइजिपी बनायो । 

पछि सरकारमा उपप्रधानमन्त्रीको पहिलो वरीयता नपाएपछि निधि झन् बिच्किए । दुईवटा मन्त्रिपरिषद् बैठक नै बहिष्कार गरे । मधेसी मोर्चा चुनावमा तयार भएपछि देउवाले पुनः निधिलाई मनाए । तर, देउवाले पार्टीभित्र पर्याप्त छलफल नगरी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि निधि फेरि भड्किए । आफ्नै मातहतको आइजिपीको विषयलाई देखाउँदै महाअभियोग लगाए पनि आफूलाई थाहा नदिएको भन्दै निधिले राजीनामा दिए । त्यतिखेर देउवा–निधि सम्बन्ध यतिसम्म बिग्रिएको थियो कि उपप्रधानमन्त्री र गृहमन्त्री भए पनि पुलिसको हवल्दारसम्म सरुवा गर्नमा आरजु राणा र नेता रमेश लेखक हाबी भएको चर्चा चल्यो ।

अनि नरम भए देउवा
निधिले राजीनामा दिएपछि देउवा मात्र होइन, उनको टिमले नै चिन्ता व्यक्त गर्‍यो । आफूहरू एक भएरै १३औँ महाधिवेशनमा कोइरालाहरूको वर्षौँको विरासत तोडे पनि अहिले असन्तुष्टि बढ्यो भने आफ्नो पक्ष थप कमजोर हुने निष्कर्ष निकाले । त्यसपछि देउवाले निधिलाई पुनः मनाउन नेता खटाए । 

महाअभियोग प्रस्ताव दर्तापछि एकाएक राजीनामा दिने मनस्थिति बनाएर प्रधानमन्त्रीलाई जानकारी गराएलगत्तै देउवाले निधिलाई फोन गर्न खोजे । निधिले कुरा गर्नै चाहेनन् । देउवाका पिए भानुले फोन गरेर कुरा गराउन खोजे पनि निधिले ‘म अहिले सभापतिसँग कुरा गर्दिनँ, आवश्यक छैन’ भनिदिए । त्यसपछि दुई दिनसम्म निधिसँग संवाद हुन सकेन । यसले देउवा क्याम्पमा झन् चिन्ता बढायो । त्यसपछि ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र प्रदीप गिरिले मिलाउने प्रयास गरे । 

पुल्चोकस्थित मन्त्री क्वाटर पुगेर एनपी साउदले निधिसँग एक घन्टा छलफल गरे । त्यसपछि बल्ल देउवा र निधिबीच टेलिफोनमा कुरा भयो । असमझदारी बढ्दै जाँदा बेफाइदा हात लाग्ने नेताहरूको रिपोर्टिङपछि कांग्रेस मुख्यालय सानेपामा भेटेर देउवा र निधिले आपसमा सहयोग गरेर जाने समझदारी गरे । 

देउवाका दूतसँग आक्रोशित निधि
नेता साउदसँगको भेटमा निधि कडा रूपमा प्रस्तुत भएका थिए । ‘देउवाजीलाई नेविसंघको अध्यक्ष बनाउने वेलादेखि गिरिजाप्रसादका अगाडि कसैले बोल्न नसक्ने वेलासम्म साथ दिँदै आएँ,’ निधिले भनेका थिए, ‘तर, अहिले आएर सामान्य कुरामा भित्तामा पु¥याउने र अपमान गरिन्छ भने म पनि चुप लागेर बस्दिनँ ।’ 

ओली नेतृत्वको सरकारबाट माओवादीलाई फिर्ता ल्याएर प्रचण्ड नेतृत्वको सरकार गठनमा निधिले सक्रियतापूर्वक भूमिका निभाएका थिए । ‘निधिलाई भड्काउँदा आफूलाई प्रधानमन्त्री बन्न गाह्रो पर्ने बुझाइमा सभापति पुग्नुभएपछि नेताहरू नै खटाएर उहाँलाई मनाएको देखिन्छ,’ देउवानिकट स्रोत बताउँछ । 

मधेसमा कसको दबदबा
तराई–मधेसको स्थितिको मात्रै लेखाजोखा गर्ने हो भने निधि कमजोर देखिन्छन् । किनकि, तराई–मधेसमा पूर्वदेखि पश्चिमसम्म थारू, यादव र मुसलमानको संख्या बढी छ । जातीय रूपमा पनि निधिले प्रतिनिधित्व गर्ने कायस्थहरू जनगणनामा क्रमशः घट्दै गएको देखिन्छ । तर, पढाइलेखाइ, क्षमता र प्रभावकारी पेसाको हिसाबले कायस्थहरू अगाडि छन् । पुस्तौँदेखि क्षमताको हिसाबले भारतीयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता कायस्थहरूले राख्ने गरेको बताइन्छ । 

यता थारूको राम्रो मत र मधेसीको पनि साथ हुँदा गच्छदार पनि कमजोर छैनन् । साथै बौद्धिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध, क्षमता, राजनीतिक उचाइका कारणले निधि पनि कमजोर छैनन् । विडम्बना ! गत निर्वाचनमा प्रदेश नम्बर २ प्रभावकारी रूपमा तालमेल मिलाउन नसक्दा आफू पनि हारेको र पार्टीलाई पनि हराएको भनेर निधिको पार्टीभित्रै आलोचना हुने गरेको छ । यद्यपि, जातीय जनाधारका आधारमा गच्छदारलाई प्लस र निधिलाई माइनसमा राखेर हेर्ने गरिन्छ । गच्छदारले नेवार समुदायकी छोरी विवाह गर्नुले पनि उनलाई अरू समुदायले हेर्ने दृष्टिकोणसमेत फरक छ । 

तराईकै भए पनि फरक समुदाय र प्रदेश पनि फरक हुनुको फाइदा पनि यी दुवैलाई छ । तराई–मधेसको पकड कायम राख्दै भोलिको राजनीतिलाई सुरक्षित गरेर दुवैबीच सहमति हुन सक्ने ठाउँ रहेको निधिनिकट स्रोत बताउँछ । ‘उहाँहरूको सम्बन्ध नराम्रो छैन । ठीकै छ । एउटै समूहमा भए पनि तराई–मधेसमा कांग्रेसको पकडलाई दरिलो बनाइराख्न उहाँहरू थप मिल्न पनि सक्नुहुन्छ,’ स्रोत भन्छ । 

निधि गुदी, गच्छदार शक्ति
गच्छदार र निधि दुवै उपसभापति भए पनि वरीयतामा निधि अगाडि छन् । तर, १४औँ महाधिवेशन आउन अब डेढ वर्षजति बाँकी रहँदा यी दुई नेता हुँदा सभापति देउवालाई अवसरसँगै चुनौती पनि थपिएको छ । बाहिर छरपस्ट हुने गरी यी दुई नेताबीच तनाव छैन । दुवैले एक–अर्कालाई निधिजी र विजयजी भनेर सम्बोधन गर्छन् । यी दुईबीचमा बाहिर ठिकै तर भित्री रूपमा तराई–मधेसको प्रमुख नेता को बन्ने भन्ने प्रतिस्पर्धा छ । यसलाई देउवाले जसरी पनि मिलाउनैपर्ने चुनौती देखिन्छ । 

‘उहाँहरूबीच तनाव छैन । मिलेर काम गरिरहनुभएको छ । साथीहरूलाई मिलाएरै लानुपर्छ भन्नेमै निधि पनि देखिनुहुन्छ,’ देउवानिकट स्रोत भन्छ, ‘तर, १४औँ महाधिवेशनमा क्लस्टरलाई ब्यालेन्स गर्ने वेलामा तराईबाट दुईजनालाई नै उपसभापतिको उम्मेदवार बनाउने कि नबनाउने भन्नेमा देउवाजीलाई तनाव हुने देखिन्छ ।’ 

दुवैले एक–अर्कालाई निधिजी र विजयजी भनेर सम्बोधन गर्छन् । यी दुईबीचमा बाहिर ठिकै तर भित्री रूपमा तराई–मधेसको प्रमुख नेता को बन्ने भन्ने प्रतिस्पर्धा छ । यसलाई देउवाले जसरी पनि मिलाउनैपर्ने चुनौती देखिन्छ । 
 

१४औँ महाधिवेशनमा देउवा सभापतिका स्वयं दाबेदार हुन् । यसमा समस्या छैन । तर, उपसभापतिमा प्रमुख दाबेदार निधि र गच्छदार भए पनि दुवै मधेसबाट भएकाले देउवालाई सन्तुलन मिलाउनुपर्ने चुनौती छ । दुवै तराईबाट उम्मेवदार बनाउँदा गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेतालाई मनाउन सकिने देखिँदैन । फेरि पूर्वसंस्थापनलाई परास्त गर्न अर्को समूहबाट कुनै नेतालाई उपसभापतिमा उठाउने विकल्प पनि देउवाले लिन सक्छन् । यस्तोमा निधि वा गच्छदारमध्ये एक मात्र छनोटमा पर्ने देखिन्छन् । 

यी दुईमध्ये एकले गुट बदलेर उपसभापतिका लागि आपसमै भिड्ने अवस्था आयो भने तराईमा कांग्रेसलाई नै क्षति पुग्ने देउवानिकटका नेता बताउँछन् । यस्तोमा देउवासामु संयमित भएर कदम चाल्नुपर्ने अवस्था देखिन्छ । दुवै तराईका हुँदा निधि गुदी र गच्छदार शक्तिका रूपमा देखिन्छन् । निधिलाई छाड्दा देउवाले गुदी र दिमाग दुवै छाड्नुपर्नेछ । गच्छदारलाई छाड्दा पूर्वदेखि पश्चिम तराईसम्मको प्रभाव, पूर्वसंस्थापनको सद्भाव सबै छोड्नुपर्नेछ । 

गच्छदारको जस्तो निधिको आफ्नै गुट र संगठनात्मक जालो छैन । तर, आवश्यकताको सिद्धान्तअनुरूप देउवालाई निधि र निधिलाई देउवा नभई नहुने अवस्था छ । हिजो सरकार चलाउने वेलादेखि आज संगठन परिचालनमा समेत देउवाका विश्वासपात्र निधि मानिन्छन् । यसको मतलब गच्छदार किनारामै छन् भन्ने होइन । उनी दलका उपनेता, उपसभापतिको भूमिकामा छन् । यसर्थ, १४औँ महाधिवेशनमा देउवाले कसरी टिम मिलाउँछन्, यसमै यिनीहरूको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने देखिन्छ । 

दुवै उल्लेखनीय छैनन्
निधि र गच्छदार सधैँ सत्ता र शक्तिको वरिपरि भए पनि पार्टी, संगठन र सरकारको काममा उल्लेखनीय भनेर परिचित नभएको केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन् । ‘उहाँहरू दुवै सधैँ शक्तिमा रहनुभएका नेता हुनुहुन्छ, दुवै उत्तिकै महत्वाकांक्षी पनि हुुनुहुन्छ,’ पौडेल भन्छन्, ‘तर, सत्तामा रहँदा, पार्टी संगठनमा काम गर्ने मौका पाए पनि दुवैले उल्लेखनीय काम गर्न सक्नुभएको छैन ।’

समायोजनको जिम्मा निधिलाई
झन्डै दुई वर्ष कांग्रेससँग एकीकरण गरे पनि लोकतान्त्रिक फोरमसँगको एकीकरण प्रक्रिया टुंगिसकेको छैन । एकीकरण टुंग्याउने संयोजन उपसभापति निधिले नै गरिरहेका छन् । अहिलेसम्म दुई सय महासमिति सदस्य गच्छदार समूहले पाएको छ । २५ हजार क्रियाशील सदस्य र बाँकी समायोजनको काम निधि, गच्छदार, डा. प्रकाशशरण महत, महेश आचार्य र दीपक गिरीसहितका नेताले टुंंग्याउने पहल गरिरहेका छन् । 

राम्रो सम्बन्ध छ : निधि 
पार्टी एकीकरणपछि समायोजनमा प्रगति भइरहेको छ । हामी नियमितजस्तो बैठकमै छौँ । उहाँहरूसँग भएको सहमतिअनुसार छिटो टुंगो लगाउँछौँ । भेटघाट, कुराकानी राम्रो छ । हामी दुवै उपसभापति हौँ । सम्बन्ध राम्रो छ । हामी सल्लाह गरेरै अघि बढिरहेका छौँ ।  

टिप्पणी
मिलाउन सके देउवालाई सहज : पुरञ्जन आचार्य

कांग्रेसमा संगठनात्मक रूपमा विजय गच्छदार र रणनीतिक रूपमा विमलेन्द्र निधि परिचित पात्र हुन् । देउवाको निरन्तरको भरोसा निधि हुन् । तर, विजयजीको सवालमा अलि बढी उतार–चढाव देखिन्छ । कांग्रेस छोडेर फोरममा गए, फोरम फुटाएर आफैँ अध्यक्ष बने र फेरि कांग्रेसमा फर्किएका छन् । कांग्रेसभित्र पुरानो लगानी भएकाले भोटलाई असर पार्न सक्ने नेताका रूपमा गच्छदार देखिन्छन् । गच्छदारको जातीय पकड र संगठनात्मक पकड राम्रो छ  । यस्तो पक्षलाई उनी निरन्तर निर्वाचित भएको नतिजाले पनि देखाउँछ । तर, रणनीतिक नेता हुनुका बाबजुद निधि वेलावेलामा चुनाव हार्छन् । 

विमलेन्द्र निधि सुरुदेखि नै एन्टी कोइराला क्याम्पमा बसे, किसुनजी लबीका उनी शेरबहादुरको राइट ह्यान्ड नै हुन् । उनको जातीयभन्दा राजनीतिक पकड छ । तराई–मधेसमा यी दुई प्रभावशाली देउवासँगै हुनु उनका लागि फाइदा हो । तर, आगामी महाधिवेशनमा यी दुई नेताको व्यवस्थापनमा देउवालाई गाह्रो देखिन्छ । यसका लागि खुला राजनीतिमा विश्वास गर्ने गच्छदार र कोठे (रणनीति) राजनीतिमा विश्वास गर्ने, चातुर्यता, कला र कौशल भएका निधिलाई मिलाएर अगाडि बढ्नुपर्नेछ ।   

गच्छदार दबिएको क्लासका, निधि बौद्धिक : चिरञ्जीवी वाग्ले

विजय गच्छदार पार्टीका लागि रगत–पसिना बगाएका नेता हुन् । उनी दबिएको क्लासको प्रतिनिधि हुन् । थारूको संख्या ठूलो भएकाले उनको जातीय भोटको प्रभाव राम्रो छ । निधि कायस्थ हुन् । उनीहरूको जनसंख्या निरन्तर घट्दो छ । तर, पढेलेखेका बौद्धिक नेताका रूपमा निधि परिचित छन् । काम गरेरै प्रभाव पार्न सक्छु भन्ने सोच निधिमा देखिन्छ । 

थारूको प्रतिनिधि हुँ । यादव, बाहुन र राजपुतले दबिएको क्लासको प्रतिनिधित्व गर्न सक्दैन भन्ने गच्छदारको मनमा देखिन्छ । एक वर्षपछि महाधिवेशनको सम्भावित समीकरणको लेखाजोखा गर्न त सकिँदैन । भारत, चीन, अमेरिका, युरोप सबैले खेल्छन् । यो उनीहरूको सहयोग र मुलुकको परिस्थितिले पनि निर्धारण गर्छ । यी दुई नेताका बीचमा भित्र जे भए पनि बाहिर सौहार्दता छ ।