मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
दीपेन्द्र गुरुङ काठमाडाैं
२०७६ असोज ४ शनिबार ०६:२९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

खेल मैदानमा पनि नेताकै परेड

Read Time : > 4 मिनेट
दीपेन्द्र गुरुङ काठमाडाैं
२०७६ असोज ४ शनिबार ०६:२९:००

सार्वजनिक रूपमा दल र तिनका नेता खेलकुदलाई राजनीतिमुक्त बनाउने प्रतिबद्धता पटकपटक गर्छन् । तर, व्यवहार ठीक उल्टो छ । खेलकुदका तल्ला निकायसम्म चर्को राजनीतिक हस्तक्षेप छ । राष्ट्रिय राजनीतिमा चर्चा र ख्याति दुवै कमाएका नेतासमेत खेलकुदको राजनीतिमा प्रत्यक्ष सहभागी छन् । जसले खेलकुद क्षेत्रलाई भद्रगोल बनाएको छ । नेपाल प्रहरीका आइजिपी, बैंकर, व्यापारी र गुन्डानाइकेसम्म पनि खेलकुद संघहरूलाई नेतृत्व गरिरहेका छन् । दीपेन्द्र गुरुङको रिपोर्ट :

ओलम्पिक कमिटीमा नेकपाको हालीमुहाली
नेपाल ओलम्पिक कमिटी (एनओसी)मा सबैभन्दा चर्को राजनीति छ । यो संगठनमा नेकपाको पूर्वएमाले समूहको हालीमुहाली छ । केही दिनअघि भएको अधिवेशनबाट नेकपा केन्द्रीय सदस्य एवं काठमाडौं–८ का सांसद जीवनराम श्रेष्ठ अध्यक्ष निर्वाचित भएका छन् । यसअघि पनि उनी नै अध्यक्ष थिए । उनले अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका छोरा उमेशलाललाई पराजित गरेका हुन् । त्यस्तै, नेकपाकी सांसद तथा अनेमसंघकी सचिवालय सदस्य तुलसा गौतम सचिवमा निर्वाचित भएकी छिन् । नेकपाकै कार्यकर्ता पीताम्बर तिम्सिना उपमहासचिव छानिएका छन् । बहुमत कार्यसमिति सदस्य नेकपा समर्थित छन् । 

०४८ यता राखेप नेतृत्वमा राजनीतिक कार्यकर्ता मात्रै

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् प्रजातन्त्र स्थापनापछि राजनीतिको अखडा बन्यो । राखेपलाई हरेक सरकारले आफ्ना कार्यकर्ता भर्तीको केन्द्र बनाए । जसको प्रत्यक्ष प्रभाव समग्र खेलकुदमा पर्‍यो । खेलकुद संघहरूमा पनि त्यहीअनुसार राजनीतिक नेतृत्व आउन थाल्यो । देशको गहना मानिने खेलाडीमाथि राजनीतिक आस्थाका आधारमा भेद्भाव र अपमान गरिन थालियो । खेलकुदमा नियुक्त गरिने प्रशिक्षकदेखि कर्मचारीसम्ममा सत्तारुढ दलले आफ्ना कार्यकर्ता भर्ती गर्न थाले । राखेपले नियुक्त गर्ने जिल्ला खेलकुद समितिको नेतृत्वमा पनि दलका कार्यकर्ता नै आउन थाले । त्यसको असर खेलाडीको प्रारम्भिक जीवनमै पर्न थाल्यो । देश संघीयतामा गएपछि प्रदेश खेलकुद समितिले जिल्ला खेलकुद समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

नेताले सम्हालेका खेलकुद संघ भद्रगोल
 नेकपा सांसद जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसी एक दशकदेखि विवादित छ । जीवनरामको नेतृत्वबाहेक रुक्मशमशेर राणा अध्यक्ष रहेको अर्को एनओसी पनि छ । एक दशकको अवधिमा दुईतर्फी विवादले एनओसीको सातदोबाटोस्थित कार्यालयमा कैयौँपटक ताला लागेको छ । सर्वाेच्च अदालतको आदेशमा प्रहरी आफँैले पनि ताला लगाएको घटना छ । 

०६३ को निर्वाचनले ध्रुवबहादुर प्रधानलाई अध्यक्ष र जीवनराम श्रेष्ठलाई महासचिव चयन गरेको थियो । तर, निर्वाचनमा सहभागी हुन नपाएको भन्दै कमलबहादुर चित्रकारले सर्वोच्चमा रिट हाले । निर्वाचनमा सहभागी भएर हारेका प्रशन्नमान शाक्यले पनि चित्रकारसँगै मिलेर संयुक्त रिट दायर गरेका थिए । ०६७ मा सर्वोच्चले धु्रवबहादुर नेतृत्वको एनओसीलाई अवैधानिक ठहर गर्दै रुक्मशमशेर राणा अध्यक्ष र धु्रवबहादुर प्रधान महासचिव रहेको अघिल्लो कार्यसमिति नै वैधानिक रहेको फैसला गरिदियो । सर्वोच्चले अवैध ठहर गरेको एनओसीको नेतृत्व अहिले जीवनरामले गरिरहेका छन् । यो कार्यसमिति राजनीतिक आडमै टिकिरहेको छ । पछिल्लो निर्वाचन पनि विवादले रोकिएकामा राखेप र जिल्ला प्रशासनमा दर्ता भएको तर्क अदालतमा गरेपछि बाटो खुलेको थियो । यद्यपि, विवाद अझै पूर्ण रूपमा टुंगिएको छैन । 

  •  राप्रपा पूर्वमहामन्त्री ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको जिम्नास्टिक संघ पनि लामो समय विवादमा फस्यो । ०६३ मा उनी नेपाल ओलम्पिक कमिटीमा पनि नेतृत्व सम्हालेकै दिनदेखि विवादमा रहे । सर्वोच्चमा मुद्दासमेत पर्‍यो । सर्वोच्चले प्रधानलाई अवैधानिक ठहर गरिदियो । तर, राजनीतिक शक्तिको आडमा उनले दुई कार्यकाल एनओसीको अध्यक्ष चलाए । त्यस्तै, प्रधान नेतृत्वको जिम्यास्टिक संघ पनि विवादमुक्त रहेन । उनीसँगकै विवादका कारण राखेपका पूर्वसदस्यसचिव किशोरबहादुर सिंहले जिम्यास्टिक संघसमेत चलाए । अहिले भने दुवै संघ एक भइसकेका छन् । 
  •  कांग्रेसका महासमिति सदस्य एवं पूर्वसांसद राजीवविक्रम शाह अध्यक्ष रहेको नेपाल एथलेटिक्स संघ पनि भद्रगोल छ । दुई कार्यसमिति अस्तित्वमा आएपछि विवादित रहेको एथलेटिक्स संघलाई मिलाउन उनलाई अध्यक्ष चुनिएको थियो । तर, संघ झन् समस्यामा फसेको छ । एथलेटिक्सका प्रायः पदाधिकारी उनको विपक्षमा छन् । शाहको नेतृत्वमा विदेशबाट नियमित आइरहेको अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिता र ट्रेनिङको अवसरसमेत गुमाउनुपरेको उनीइतरका पदाधिकारीहरूको तर्क छ ।

कुन खेल संघमा कसको नेतृत्व ?

  •  समिममियाँ अन्सारी

नेकपा केन्द्रीय सदस्य, मुस्लिम आयोगका अध्यक्ष
उपाध्यक्ष, नेपाल कुस्ती संघ

  •  चतुरबहादुर चन्द

उपसभापति, बैतडी कांग्रेस
अध्यक्ष, नेपाल क्रिकेट संघ (क्यान) निर्वाचित समिति

  •  सुरेन्द्र हमाल

प्रदेश ५, सांसद, कांग्रेस
उपाध्यक्ष, नेपाल भारोत्तोलन संघ

  •  मोहनकुमार बस्नेत

मेयर, नागार्जुन नगरपालिका
अध्यक्ष, नेटबल संघ

  •  रमेश महर्जन

मेयर, कीर्तिपुर नगरपालिका
उपाध्यक्ष, नेपाल जुडो संघ

  •  किशनकुमार श्रेष्ठ

सांसद, नेकपा (तनहुँ)
उपाध्यक्ष, नेपाल तेक्वान्दो संघ

  •  राम अवाले    

इँटा व्यवसायी
अध्यक्ष, नेपाल बक्सिङ संघ

  •  दीपकहर्ष बज्राचार्य

कार्पेट र कलेज व्यवसायी
अध्यक्ष, नेपाल जुडो संघ

  •  सुनील श्रेष्ठ    

गाडी व्यवसायी
अध्यक्ष, नेपाल फेन्सिङ संघ

  •  तासी घले

होटेल व्यवसायी
अध्यक्ष, नेपाल गल्फ संघ

  •  हरिशरण केसी

यातायात व्यवसायी
अध्यक्ष, नेपाल वादोरियो 
कराते संघ

  •  दीपक मलहोत्रा

व्यवसायी
उपाध्यक्ष, नेपाल कराते महासंघ
सल्लाहकार, नेपाल वादोरियो कराते संघ

  •  राजेशबाबु श्रेष्ठ

व्यवसायी
अध्यक्ष, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ

  •  भोजबहादुर शाह

अध्यक्ष, मेगा बैंक
उपाध्यक्ष, नेपाल तेक्वान्दो संघ

  •  भरतलाल श्रेष्ठ

अध्यक्ष, सुमेरु ग्रुप
उपाध्यक्ष, नेपाल तेक्वान्दो संघ

आइजिपी खनाल तेक्वान्दो संघका उपाध्यक्ष, डन चक्रे मिलन क्योकोसिन करातेका अध्यक्ष

नेता मात्रै खेलकुद संघको नेतृत्वमा छैनन् । बहालवाला अइजिपीदेखि गुन्डानाइकेसम्मले खेलकुद संगठन चलाइरहेका छन् । आइजिपी सर्वेन्द्र खनाल नेपाल तेक्वान्दो संघको उपाध्यक्ष हुन् । तर, प्रहरी संगठनमै हुने व्यस्तताले उनी संघको बैठकमा विरलै पुग्छन् । नेपाल ओलम्पिक कमिटीमा दुई कार्यकाल अध्यक्ष चलाएका पूर्वआइजिपी ध्रुवबहादुर प्रधान जिम्न्यास्टिक संघको अध्यक्ष हुन् । सुरक्षा निकायका मान्छे मात्रै होइनन्, गुन्डानाइके पनि खेलकुदको नेतृत्वमा छन् । डन चक्रे मिलन इन्टरनेसनल क्योकोसिन काइकान कराते संघ, नेपालका अध्यक्ष हुन् । खेलकुदको वरीयतामा आइजिपी खनालभन्दा डन चक्रे मिलन माथि छन् । 

कांग्रेसका पूर्वसांसददेखि मेयरसम्म र राप्रपाका पूर्वमहामन्त्रीदेखि प्रवक्तासम्म


कांग्रेसका महासमिति सदस्य एवं पूर्वसांसद राजीवविक्रम शाह एथलेटिक्स संघका अध्यक्ष हुन् । यो उनको दोस्रो कार्यकाल हो । शाह ०७० को संविधानसभामा जाजरकोट–२ बाट निर्वाचित भएका थिए । 

त्यस्तै, राप्रपाका पूर्वमहामन्त्री ध्रुवबहादुर प्रधान नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष हुन् । राप्रपाका प्रवक्ता भुवन पाठक नेपाल आइस हक्की संघका अध्यक्ष छन् । काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर मोहनकुमार बस्नेत नेटबल संघका अध्यक्ष छन् । तत्कालीन एमालेबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन नेपाल जुडो संघका उपाध्यक्ष छन् । 

बैंकरदेखि व्यापारीसम्म पनि खेलकुद राजनीतिमा


बैंकर अनिलकेशरी शाह एन्फाका सल्लाहकार, सिभिल बैंकका पूर्वसिइओ किशोर महर्जन स्क्वास संघका अध्यक्ष, औषधि व्यवसायी उमेशलाल श्रेष्ठ हक्की संघका अध्यक्ष, स्कुल सञ्चालक उमेश श्रेष्ठ नेपाल पौडी संघको उपाध्यक्ष र एडिडासका नेपाल विक्रेता राजीव श्रेष्ठ नेपाल र्‍याफ्टिङ एन्ड क्यानोनिङ संघको उपाध्यक्ष छन् ।

खेलविज्ञ दिवाकरलाल अमात्य भन्छन्–खेल क्षेत्रमा नेताको उपस्थिति हानिकारक छ

उहिले दक्षिण कोरियाको खेलकुदमा नेताको हालीमुहाली थियो । सन् १९८८ को ओलम्पिकपछि मात्रै त्यहाँ व्यावसायिक मान्छेलाई नेतृत्वमा ल्याउन थालिएपछि खेलकुदले प्रगति गर्‍यो । नेपालमा त झन्झन् बढ्दै छ । नेता सहभागी कुनै पनि खेलकुद संघले गतिलो काम गरेको छैन । यस्तो संरचना हुन्जेलसम्म खेलकुदको विकास हुन्न ।

ओलम्पियन दीपक विष्ट भन्छन्– विदेश सयरको लोभमा नेताहरू खेलकुदमा छन्

नियमित विदेश सयर गर्न पाइने भएकाले पनि खेलकुदमा नेताहरूको आकर्षण बढेको हो । यस्तो लोभले आएका नेताहरू संलग्न खेल संघ सधैँ विवादमा फस्ने गरेका छन् । जसले समग्र खेलकुदका विकासमा असर पार्छ । उद्देश्य नै गलत भएपछि राम्रो कसरी हुनू ? आफैं नेतृत्व छाड्न उहाँहरूलाई मेरो अनुरोध छ ।