मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ असोज ४ शनिबार ०९:५५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता काठमाडौं आउने, एक रात बसेर बेइजिङ फर्किने

नेपालको प्रयास : रेलमार्गमा शतप्रतिशत चिनियाँ सहयोग

Read Time : > 2 मिनेट
२०७६ असोज ४ शनिबार ०९:५५:००

सीकाे राजकीय भ्रमण तय -

चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच कूटनीतिक च्यानलमार्फत भएका छलफलमा राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउने भएका हुन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २४ असोजमा भारत जान लागेका सी त्यहाँको भ्रमण सकेर फर्कने क्रममा नेपाल आउनेछन् । उनी एक रात काठमाडौं बसेर बेइजिङ फर्किने कार्यतालिका तयार भएको छ । तर, दुवै पक्षले अहिलेसम्म मिति भने खुलाएका छैनन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘चिनियाँ राष्ट्रपति आउने पक्का हो, मिति तय हुन बाँकी छ । तय भएपछि औपचारिक तयारी थाल्छौँ ।’ 

सीको भ्रमणका क्रममा केरुङ–काठमाडौं रेल निर्माणसम्बन्धी घोषणा गर्न नेपालले चीनसँग प्रस्ताव गरिसकेको छ । उच्च स्रोतका अनुसार यसबारे दुई मोडलमा छलफल भइरहेको छ । पहिलो, चीनले रेलमार्ग निर्माणको घोषणा गरिदिनुपर्ने र दोस्रो, नेपालले सांकेतिक रूपमा १० प्रतिशत सफ्ट लोन लिने तथा ९० प्रतिशत रकम चीनले अनुदानमा दिनुपर्ने प्रस्ताव छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि नेपाल र चीनका रेलवे अधिकारीबीच वार्ता भइरहेको छ । सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आवश्यक लगानी चीनले नै गरिदेओस् भन्ने नेपालको चाहना व्यक्त भइसकेको छ । यसमा चीनसँग सहमति भइसकेको छैन । चीनले बराबरी रकममा अध्ययन गर्न प्रस्ताव गरेको छ । ‘डिपिआरको फाइनान्सिङ मोडालिटी (लगानी ढाँचा) टुंग्याउने र चिनियाँ सहयोगमा रेलमार्ग निर्माणको घोषणा यसपटक हुन सक्छ, कुराकानी भइरहेको छ,’ जानकार नेपाली अधिकारीले भने ।

परराष्ट्र मामिलाविद् डा. दिनेश भट्टराईले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका राष्ट्रपतिको भ्रमणलाई देशको उच्चतम हितमा सदुपयोग गर्नुपर्ने बताए । ‘झन्डै एक पुस्तापछिको यो भ्रमण हाम्रा लागि महत्वपूर्ण छ,’ भट्टराईले भने, ‘यो ठूलो अवसरलाई हामीले आफूलाई बचाएर, सम्मान कायम गरेर दीर्घकालीन हितमा फाइदा लिन सक्नुपर्छ ।’ भ्रमणले नेपाल र चीनबीच उच्चस्तरीय राजनीतिक सम्पर्क बढ्ने, नेपालको महत्व स्थापित हुने र नेपाललाई पनि फाइदा तुल्याउने उनले बताए ।  

चीनबाट राष्ट्रपतिस्तरको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो । सी नेपाल आउने तेस्रो चिनियाँ राष्ट्रपति हुनेछन् । चीनका तत्कालीन राष्ट्रपति जियाङ जमिनले १९ र २० मंसिर ०५३ मा नेपालको राजकीय भ्रमण गरेका थिए । उनीपछिका राष्ट्रपति हु जिन्ताओले नेपाल भ्रमण गरेनन् । ६–१० चैत ०४० मा राष्ट्रपति ली सियान्नियानले नेपाल भ्रमण गरेका थिए । उनीपछि ०५३ मा जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए । 

चिनियाँ राष्ट्रपति असोज अन्तिम साता आउने पक्का भएको छ, मिति मात्रै तय हुन बाँकी छ । तय भएपछि हामी औपचारिक रूपमा तयारी थाल्छौँ ।
-डा. राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार

अर्का चिनियाँ नेता आउँदै 
सी भ्रमणको तयारीकै सिलसिलामा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख सोङ ताओलगायतको टोली शनिबार काठमाडौं आउँदै छ । चिनियाँ टोली र नेकपाका नेताबीच आइतबार र सोमबार अन्तरक्रिया हुनेछ । चीनको विकास, चिनियाँ कम्युनिस्ट पार्टीको वर्तमान अवस्था, महासचिव सी जिनपिङको अवधारणाबारे चिनियाँ नेताले अनुभव सुनाउने कार्यक्रम रहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए । कार्यक्रममा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्नेछन् । चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग वेग्लै भेटवार्ता पनि गर्नेछ । 

 चिनियाँ परराष्ट्रमन्त्री आउँदा भ्रमण तय
कूटनीतिक स्रोतका अनुसार चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको पछिल्लो नेपाल भ्रमणमा राष्ट्रपति सीको भ्रमण सुनिश्चित भएको हो । वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रपति सीको भ्रमणबारे छलफल गरेका थिए । उनको भ्रमणलाई राष्ट्रपतिको भ्रमण तयारीका रूपमा लिइएको छ । ‘राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण हाम्रो कूटनीतिक एजेन्डामा छ र उहाँले नेपाल भ्रमण गर्न यो वर्ष उपयुक्त हो भन्ने लागेको पनि छ,’ वाङ यीको भनाइ थियो । चीनको दलियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वाङबीच आधा घन्टाको छलफलको मुख्य विषय नै सीको सम्भावित नेपाल भ्रमण थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले बेइजिङमा भएका भेटमा तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको गोआ र बेइजिङमा भएको भेटमा नेपाल भ्रमण गर्न सीलाई आग्रह गर्दै निमन्त्रणा गरेका थिए । पछिल्लोपटक प्रधानमन्त्री ओलीलाई सीले भनेका थिए, ‘तपाईंको सुन्दर देश भ्रमण गर्न म आतुर छु ।’ 

अघिल्लो साता पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको प्रतिक्रिया दिएका थिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलले २९ भदौमा राष्ट्रपति सीको भ्रमण हुने निश्चित भएको खुलासा गरिसकेका छन् ।