१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस काठमाडौं
२०७६ असोज ३ शुक्रबार १५:४२:००
Read Time : > 1 मिनेट
समाचार

दशैंका लागि राष्ट्र बैंकले असोज १० देखि नयाँ नोट साट्ने

Read Time : > 1 मिनेट
रासस काठमाडौं
२०७६ असोज ३ शुक्रबार १५:४२:००

नेपाल राष्ट्र बैंकले दशैंलाई लक्ष्य गरेर असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैँ पर्वमा नयाँ नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखी विभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने जनाएको छ । 

केन्द्रीय बैंकले बालुवाटार, विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ । 

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका उपत्यकामा विभिन्न कार्यालयमा समेत चाडबाडलाई केन्द्रमा राखेर नयाँ नोट साटन पाइने उल्लेख छ । बैंकले पाँच, दश, २०, ५० र १०० दरका एक/एक पकेट गरी प्रति व्यक्ति १८ हजार ५०० नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ । 

यस्तै बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले सूचनामार्फत जानकारी दिएको छ । 

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । 
त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही सुविधा उपलब्ध हुने जनाइएको छ । 

नोटमा केरमेट नगर्न आग्रह

केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ । टीका लगाई दक्षिण दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैलाई आग्रह गरेको छ । 
यस्तै नेपाली नोटमा कुनै पनि बहानामा रङ्ग लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जस्ता कार्य गरी दुरुपयोग गर्ने, गराउने माथि प्रचलित कानूनबमोजिम कारवाही हुने भन्दै बैंकले सबैलाई त्यस्तो कार्य नगर्न नगराउनसमेत आग्रह गरेको छ ।