मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ३ शुक्रबार १०:०२:००
Read Time : > 1 मिनेट
समाचार

नलगाड जलविद्युत् आयोजनाको क्षमता बढाइने

Read Time : > 1 मिनेट
२०७६ असोज ३ शुक्रबार १०:०२:००

बारेकोट गाउँपालिकास्थित अँधेरीखोलामा निर्माण निर्माणाधीन नलगाड जलविद्युत् आयोजनाको क्षमता सात मेगावाट बढ्ने भएको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्दा क्षमता वृद्धि भएको हो । 

यसअघि आयोजना चार सय १० मेगावाट क्षमतामा निर्माण गर्ने तयारी थियो । तर, डिपिआरमा आयोजना चार सय १७ मेगावाट क्षमतामा निर्माण गर्ने उल्लेख छ । आयोजनाको विद्युत् उत्पादन क्षमता बढ्ने खबरले स्थानीयवासी खुसी भएका छन् । ‘सुरुमा गरिएको अध्यायनले चार सय १० मेगावाट विद्युत् उत्पादन हुने देखाएको थियो,’ आयोजनाका इन्जिनियर पदम थापाले भने, ‘तर, आयोजनाको डिपिआर तयार गर्दा क्षमता चार सय १७ मेगाबाट पुगेको छ ।’ 

सुरुमा आयोजनाको बाँधको उचाइ सुरुमा दुई सय मिटर गर्ने तयारी थियो । तर, डिपिआरमा बाँधको उचाइ दुई सय १० मिटर हुने उल्लेख छ । बाँधको उचाइ बढाइने भएपछि विद्युत् उत्पादन क्षमता पनि बढ्ने थापाले बताए । 

स्वीकृतिका लागि प्रतिवेदन मन्त्रालयमा
आयोजना निर्माणका लागि वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन तयार भइसकेको छ । प्रतिवेदन स्वीकृतिका लागि वन मन्त्रालयमा पठाएको छ । आयोजनाका लागि जग्गा अधिग्रहणको कामसमेत सुरु भइसकेको छ । 

आयोजनाले लामो समयदेखि स्थानीयवासीलाई किस्ता–किस्तामा मुआब्जा वितरण गर्दै आएको थियो । बाँकी मुआब्जा वितरणका लागि सूचनासमेत प्रकाशित भइसकेको छ । चार हजार चार सय ६२ रोपनी जग्गा अधिग्रहण गर्नका लागि आयोजनाले सूचना प्रकाशित गरेको हो ।

दुई अर्ब ७२ करोड मुआब्जा वितरण गरिने 
सबै मुआब्जा दिने गरी सरकारले दुई अर्ब ७२ करोड रकम विनियोजन गरेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । ‘मुआब्जा वितरणको काम यसै वर्ष सकेर आयोजना निर्माणको काम सुरु हुनेछ,’ मन्त्री बस्नेतले भने । अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा एक सय ५० रोपनी र विद्युत्गृह निर्माणस्थलको दुई सय ५० रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको छ ।

समयमै निर्माण सक्ने लक्ष्य 
आयोजना निर्माण भएपछि कर्णाली प्रदेशको मुहार फेरिने विश्वास मन्त्री बस्नेतले व्यक्त गरे । ‘आयोजना तोकिएकै समयमा निर्माण गर्न हामी निरन्तर लागिरहेको छौँ,’ मन्त्री बस्नेतले भने, ‘समयमै निर्माण सक्ने विषयमा विभिन्न देशका विज्ञसँग छलफल गर्दै छौँ ।’ 

यसअघि आयोजनाले प्रतिरोपनी चार लाख ७५ हजारका दरले मुआब्जा वितरण गरेको थियो । अब तीन हप्ताभित्र जग्गाको मूल्यांकन तथा गुनासा सुनेर नयाँ दरभाउमा मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । 

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा बाँध र नलगाड नगरपालिका–७ दल्लीमा भूमिगत विद्युत्गृह निर्माण हुनेछ । विद्युत्गृह निर्माणका लागि तीन सय ४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउने काम सुरु भइसकेको छ । अहिलेसम्म दुई सय ५० मिटर सुरुङ निर्माण गरिएको आयोजनाका इन्जिनियर थापाले जानकारी दिए ।