१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज ३ शुक्रबार ०७:२०:००
Read Time : < 1 मिनेट
प्रदेश

मकवानपुरमा लागुऔषध कारोबार : साहु फरार, भरिया पक्राउ

Read Time : < 1 मिनेट
२०७६ असोज ३ शुक्रबार ०७:२०:००

लागुऔषध कारोबार बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा कडाइ गर्न थालेको छ । लागुऔषधको ट्रान्जिटका रूपमा चिनिने मकवानपुरमा पछिल्लो समय यसको कारोबार बढ्न थालेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ मामकवानपुरबाट लागुऔषध कारोबारको अभियोगमा २ सय ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अधिकांश भरिया छन् । ज्याला लिएर साहुले तोकेको स्थानसम्म लागुऔषध पु-याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । लागुऔषध कारोबारमा संलग्न साहु, लगानीकर्ता, बिक्री गर्ने र खरिद गर्नेहरू भने नगन्य मात्रामा पक्राउ पर्ने गरेका छन् । मकवानपुर प्रहरीको गत आवको तथ्यांकअनुसार २३ जना साहु, ४ जना बिक्रेता र २ जना खरिदकर्ता फरार छन् । प्रहरीको फरार सूचीमा रहेका भरियाको संख्या ५ जना मात्र छ ।

साहुको खोजी गर्दै प्रहरी
लागुऔषध ओसारपसारमा संलग्नहरू पक्राउ परेपछि साहुको नाम बताउने गरेका छन् । भरियाले साहुको नाम बताएका आधारमा प्रहरीले उनीहरूलाई फरार सूचीमा राख्ने गरेको छ ।
तर, प्रहरीले फरार सूचीमा नाम उल्लेख गरे पनि मुख्य कारोबारीलाई पक्राउ गर्नेतर्फ भने कुनै अनुसन्धान अघि बढाइएको पाइँदैन । फरार सूचीमा रहेका २३ जना साहुमध्ये ८ जना भारतीय छन् ।

१ हजार २८ केजी गाँजा बरामद
प्रहरीको तथ्यांकअनुसार एक वर्षमा मकवानपुरबाट १ हजार २८ किलो ३ सय ३५ ग्राम गाँजा बरामद भएको छ । त्यसैगरी, ५ सय ग्राम अफिम, ११.९० ग्राम खैरो हेरोइन, ३ हजार ६२ एम्पुल डाइजेपाम र २ सय ९४ किलो ९ सय ४० ग्राम चरेस बरामद गरिएको एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।