मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ३ शुक्रबार ०६:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

काठमाडौंमा पक्राउ परेका अमेरिकी  मोस्ट वान्टेडलाई लैजान चार्टर्ड जहाज

यौन दुराचारका अभियुक्तलाई लैजान एक लाख डलर खर्च

Read Time : > 1 मिनेट
२०७६ असोज ३ शुक्रबार ०६:५८:००
दुई साताअघि काठमाडौंमा पक्राउ परेका नाथन बेडफोर्ड माकाव्स्कीलाई लैजान युएस मार्सल सर्भिसले चार्टर गरेर ल्याएको विमान बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । 

नेपालमा पक्राउ परेका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहान नाथनलाई लिएर फिर्ता भएको छ ।

चालक दलका सदस्यबाहेक युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी नेपाल आएका थिए । अमेरिकी दूतावास स्रोतका अनुसार नाथनलाई लैजान करिब एक लाख डलर खर्च भएको छ । अमेरिकामा आफ्नै प्रेमिकाकी नाबालिका छोरीमाथि यौन दुर्व्यवहार गरेर नाथन फरार भएका थिए । नाथनलाई गत १८ भदौमा प्रहरीको विशेष ब्युरोले ठमेलबाट पक्राउ गरेको थियो । अध्यागमन विभागले १४ दिन थुनामा राखी उनलाई निष्कासनको निर्णय गरेको थियो । उनलाई नेपालस्थित अमेरिकी दूतावासको पहलमा नियमित उडानबाट अमेरिका लैजाने तयारी भएको थियो । 

नाथनलाई लैजान युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी एक साताअघि काठमाडौं आइसकेका थिए । तर, २७ भदौमा कोरियन एयरको  जहाज चढिसकेपछि नाथनले आत्महत्या गर्ने धम्की दिए । त्यसपछि सुरक्षाको कारण देखाएर एयरलायन्सले उनलाई लैजान मानेन । त्यसपछि अमेरिकी सरकारले उनलाई लैजान फ्लाइटवर्कस् कम्पनीको भि/एन११जिडब्लू प्लेन चार्टर्ड गरेको हो ।

बिहीबार नाथनलाई अध्यागमन विभागबाट खटिएका प्रहरीले विमानकै भर्‍याङमा पुर्‍याएर अमेरिकी मार्सल टोलीलाई बुझाएको थियो । उनलाई हत्कडी लगाएर जहाजभित्र बसाइयो । यसरी अपराधी बुझाउन नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि छैन । तैपनि अन्तरदेशीय अपराध नियन्त्रणका लागि भन्दै एक–अर्का देशमा लुक्न गएका अपराधीलाई पक्राउ गरेर निष्कासनको प्रक्रियामार्फत सहकार्य हुने गरेको छ । नाथनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेकाले पक्राउ गरेर अध्यागमन कानुनअनुसार कारबाही गरी नेपाल आउन नपाउने गरी निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । 

नाथन अवकाशप्राप्त सैनिक हुन् । क्यालिफोर्नियाका बासिन्दा उनी चीन हुँदै गत महिना नेपाल आएका थिए । लुक्नकै लागि उनी नेपाल आएको प्रारम्भिक अनुसन्धानमा देखिएको अध्यागमनका अधिकारीहरू बताउँछन् । नेपाल आएलगत्तै इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा प्रहरीले पक्राउ गरेको हो । अध्यागमन कानुनअनुसार उनलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

यसरी विदेशी अपराधीलाई विशेष विमानमार्फत विदेश निष्काशन गरिएको यो दोस्रो घटना हो । करिब १० वर्षअगाडि एक जर्मन नागरिकलाई लिन जर्मनीबाट विमान चार्टर्ड गरेर ल्याइएको थियो । विभागका महानिर्देशक पौडेलका अनुसार तीनपटकसम्म विमान चढाउँदा हुलहुज्जत गरेपछि जर्मन नागरिकलाई विशेष विमानमार्पmत लैजानु परेको थियो । 

 के छ अभियोग ? 
आफ्नै प्रेमिकाकी छोरीमाथि यौन दुराचार गरेको आरोप नाथनमाथि छ । अमेरिकी कानुनीअनुसार यस्तो अवराधमा ९९ वर्षसम्म कैद सजाय हुन सक्छ । सन् २०१४ देखि २०१५ सम्म उनले प्रेमिकाकी छोरीमाथि यौन अपराध गरेको उजुरी परेको थियो । प्रेमिकासँग सम्बन्ध टुटेपछि उनीविरुद्ध उजुरी परेको हो । उनीविरुद्ध अलास्का राज्यको प्रहरीले पक्राउ वारेन्ट जारी गरिसकेको छ । तर, आफूले त्यस्तो अपराध नगरेको नेपालका अध्यागमन अधिकारीसँग नाथनले बताएका छन् ।