मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
२०७६ असोज २ बिहीबार १९:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

बजार अनुगमन टोलीलाई बोरामा बाँधेर झ्यालबाट फालिदिने व्यवसायीकाे धम्की

Read Time : > 1 मिनेट
२०७६ असोज २ बिहीबार १९:०४:००

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको टोलीलाई न्यरोडस्थित रञ्जाना कम्प्लेक्सका व्यवसायीले अनुगमनमा अवरोध गर्दै झ्यालबाट फालिदिने धम्की दिएका छन् । कम्प्लेक्सको दोस्रो तल्लामा बिहीबार अनुगमनमा पुगेको टोलीले पसलमा मूल्य सूची टाँस नगरेको भन्दै जरिवाना गर्न थाल्दा व्यवसायीले कर्मचारीलाई भ्यालबाट फालिदिने धम्की दिएकाे हाे । व्यवसायीको ठुलो हुलले नारा जुलुस गर्दै गाली गलौज गर्न थालेपछि कर्मचारीले अनुगमन रोकेका थिए ।

व्यवसायीले धम्की दिएपछि अनुगमनमा गएका विभागका शाखा अधिकृतहरु रमेशकाजी श्रेष्ठ, निरज केसीलगायतले विभागका महानिर्देशक योगेन्द्र गौचनलाई तत्कालै जानकारी गराएका थिए । ‘अनुगमन गर्न गएका कर्मचारीलाई झ्यालबाट फालिदिने, बोरामा बाँधेर हुत्याइदिने भनेर व्यवसायीले धम्की दिए’ उनले भने, ‘त्यसपछि हामीले जिल्ला प्रशाशन कार्यालयसँग समन्वय गरेर त्यहाँ प्रहरीको ठूलो युनिट पठायौं ।’ दिउँसो तीन वटा अनुगमन टोलीसँग सात जनाको प्रहरी टोली पठाइएको थियो । तर, व्यवसायीले हुल बाँधेर विरोध गरेपछि थप प्रहरी पठाएको उनले बताए ।

विभागले पछिल्लो १० दिनयता विशेष अनुगमन टोली बनाएर लत्ता कपडाको मूल्य श्रृङ्खला अध्ययन गरिरहेको छ । महानिर्देशक गौचनका अनुसार १० दिनमा कलंकी, बालाजु, गोंगबु, महाराजगंज, मैतीदेवी, बानेश्वर, लगनखेल, जावलाखेलमा अनुगमन भइसकेको छ । यी सबै स्थानका पसलले रञ्जाना कम्प्लेसको होलसेल कपडा पसलबाट लैजाने गरेको बताएपछि बिहीबार त्यहाँ अुनगमन गर्न टोली पुगेको हो । 

‘हाम्रो कर्मचारीले त्यहाँ गएर पसल हेर्दा मूल्य सूची टाँस नगरेको पाएपछि प्रति पसल ५० हजार रुपैयाँ जरिवना गराउन लाग्दा हुल हुज्जत भयो’ उनले भने, ‘तर, थप प्रहरी परिचालन र कम्प्लेसको व्यवस्थापन समितिको केही पदाधिकारीले संयमित भएर हुलहुज्जतलाई नियन्त्रण गरेका थिए ।’ प्रहरीको उपस्थितिपछि टोलीले अुनगमन अघि बढाएको गौचनले बताए । अनुगमन भएको पाँच वटा पसलले मूल्य उल्लेख नगरेका पाइएपछि टोलीले जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ । अनुगमन टोली कपडा किनेको र बिक्री गरेको बिल बिजक भने नहेरी फर्किएको थियो ।

अनुगमन टोली फर्किना साथ कम्प्लेक्सका व्यवसायीले बबरमहलस्थित विभागमा आएर महानिर्देशक गौचनलाई भेटका थिए । भेटमा व्यवसायीले अनुगमन रोक्न दबाब दिएका थिए । ‘चाडपर्वका समयमा अनुगमन हुनु भएन । अहिलेलाई अनुगमन रोक्नुस् । पछि हामी सुधार गर्छौँ’ व्यवसायीले महानिर्देशक गौचनलाई भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो । महानिर्देशक गौचनले अनुगमन रोक्न नसक्ने जवाफ दिएका थिए । त्यसपछि व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका अधिकारी भेट गर्ने जवाफ दिँदै विभागबाट बाहिरिएका थिए ।