Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असोज २ बिहीबार ०६:१७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

एकै साता ३६ करोडको कर छली मुद्दा दायर

Read Time : > 2 मिनेट
२०७६ असोज २ बिहीबार ०६:१७:००

राजस्व अनुसन्धान विभागले एकै साता ३६ करोड बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल, अन्तःशुल्क र भन्सार छलीका तीन मुद्दामा विभागले मुद्दा चलाएको हो । 

नक्कली भ्याट बिलबाट सवा २२ करोड छली 
नक्कली भ्याट बिलसँग सम्बन्धित एक मुद्दामा विभागले २२ करोड २६ लाख बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सरला श्रेष्ठको नाममा दर्ता भएको एएस हार्डवेयरले वस्तु तथा सेवाको खरिद नै नगरी नक्कली कर बीजक खरिद–बिक्री गर्दै आएको सूचनापछि विभागले पाँच महिनादेखि अनुसन्धान गरेको थियो । उनको फर्मले ठूलो परिमाणमा नक्कली बिलबीजक जारी गरेको अनुसन्धानमा फेला परेपछि विभागले २५ भदौमा मुद्दा दायर गरेको हो । 

श्रेष्ठको नक्कली भ्याट बिल कारोबारको धन्दामा अनंगपाल श्रेष्ठ र घनश्याम पोखरेलले सहयोग गर्दै आएका थिए । श्रेष्ठ र पोखरेलले नक्कली बिल तयार गर्ने, खरिद–बिक्री गर्ने, ओसारपोसार गर्ने, फर्मका बैंक खाता तथा कारोबार व्यवस्थापन गर्नेलगायत काम गरेको विभागले जनाएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ६ करोड ८९ लाख ३० हजार र आयकरतर्फ १५ करोड ३६ लाख सात हजार गरी कुल २२ करोड २६ लाख रुपैयाँ बिगो असुल उपर गरी त्यसको तीन गुणासम्म जरिवाना कायम गरी विभागले मुद्दा दायर गरेको छ । विभागले नक्कली बिलमार्फत राजस्व चुहावट गर्ने कार्यमा संलग्न तीनैजनाविरुद्ध जनही तीन वर्षको कैद सजाय पनि मागदाबी गरेको छ । 

राजस्व छलीमा सहयोग पु-याएको भन्दै मतियारका रूपमा विभागले किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशप्रसाद भट्टराई र शालिकराम गौतमलाई कसुरदारलाई हुने सजायको आधा सजाय मागदाबी गरेको छ । 

अन्तःशुल्कबाट साढे १२ करोड छली 
ग्रेनाइट अन्तःशुल्क लाग्ने वस्तुको सूचीमा पर्छ । तर, बाराको रुक्मिणी इन्डस्ट्रिज प्रालिले अन्तःशुल्क नतिरी ठूलो परिमाणमा गे्रेनाइटको उत्पादन र कारोबार गरेको विभागको जानकारीमा आयो । कम्पनीले इजाजतपत्र नै नलिई अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन र बिक्रीवितरण गरेर राजस्व छलेको ६ महिना लामो अनुसन्धानबाट देखिएको विभागले जनाएको छ ।

 अन्तःशुल्क ऐनबमोजिमको अन्तःशुल्क बिगो, छली भएको अन्तःशुल्क रकम र विलम्ब शुल्कसमेत गणना गर्दा आउने अन्तःशुल्क बिगो र मूल्य अभिवृद्धि कर ऐनबमोजिम वस्तुको मूल्य र त्यसमा लाग्ने अन्तःशुल्क रकमसमेत जोडी कायम हुने करयोग्य मूल्यमा भ्याट रकम असुल गर्नुपथ्र्यो । तर, सो कम्पनीले अन्तःशुल्कबाहेकको मूल्यमा मात्र भ्याट असुल गरेको थियो ।

छली भएको अन्तःशुल्कबापतको रकममा लाग्ने भ्याट, थप दस्तुर र ब्याजसमेत गणना गरी कायम हुने भ्याटसमेतका आधारमा विभागले १२ करोड ४६ लाख रुपैयाँ बिगो कायम गरेको छ । विभागले २५ भदौमा विभागले रुक्मिणी इन्डस्ट्रिजका सञ्चालकद्वय एकता जाजौडिया र श्वेता जाजौडियालाई जरिवाना र कैद सजायसमेत माग गरी बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

एक करोड ३० लाख भन्सार छली 
मनीष लोहार कपिलवस्तु मायाबस्तीस्थित कृष्ण ट्रेडिङ सप्लायर्सका प्रोपाइटर हुन् । आफ्नो व्यापारिक फर्मका कर्मचारी सुनीलकुमार गुप्ताको नाममा उनले गोदाम भाडामा लिए । उनी चीनबाट ज्याकेटलगायत कपडा भन्सार छलेर आयात गरी भारत निर्यात गर्थे ।

चीनबाट भन्सार छली गरेर ल्याइएको एक गाडी ज्याकेट भारत निकासीका क्रममा विभागको टोलीले कपिलवस्तुको कृष्णनगरबाट जफत गरेको थियो । लोहारले कर्मचारी गुप्ताको नाममा गोदाम भाडामा लिई भन्सार चोरी–पैठारी गरी ल्याइएका मालबस्तु भण्डारण गरी भारत निकासी गर्थे । 

यसरी बरामद भई दाखिला भएको मालवस्तुलाई एक करोड ३० लाख रुपैयाँ बिगो कायम गरी विभागले मंगलबार कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।  लोहारलाई मुख्य अभियुक्त कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद माग गर्दै कपिलवस्तु जिल्ला अदालतमा मुद्दा गरेको छ । त्यस्तै, आफ्नो नाममा गोदाम भाडामा लिई चुहावटमा संलग्न भएको मतियारका रूपमा गुप्ताविरुद्ध मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय माग–दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।