मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट
२०७५ पौष १ आइतबार ११:४१:००
Read Time : > 1 मिनेट
प्रदेश

पूर्णागिरि गाउँमा हिउँदमै नदी कटान

Read Time : > 1 मिनेट
मोहन विष्ट
२०७५ पौष १ आइतबार ११:४१:००

जोखिम कम गर्न जैविक तटबन्ध 
नेपाल–भारत सीमा नदीमा जैविक तटबन्ध बनाउने काम सुरु भएको छ । कञ्चनपुरको महाकाली नगरपालिका– ३ नम्बर चाँदनीसँगै जोडिएको जोगबुढा नदीमा जैविक तटबन्ध निर्माण कार्य सुरु भएको हो । 

जोगबुढा नदीले वर्षामा मात्रै नभै हिउँदमा पनि कटान गर्न थालेपछि तटबन्ध बनाउने काम सुरु गरिएको हो । महाकाली नगरपालिका र निड्स नेपाल कञ्चनपुरको संयुक्त लगानीमा जैविक तटबन्ध निर्माण गर्न लागिएको छ । 

महाकाली नगरपालिका– ३ चाँदनीको पूर्णागिरी टोल संरक्षण गर्नका लागि जैविक तटबन्ध निर्माण गर्न लागिएको हो । निड्स नेपाल कञ्चनपुर पानी परियोजनाका संयोजक ईश्वर उपाध्यायका अनुसार  नगरपालिका र निड्सको एक–एक लाख बजेटमा नमुना जैविक तटबन्ध निर्माण गर्न लागिएको हो । 

११३ मिटर तटबन्ध
परियोजनाका संयोजक ईश्वर उपाध्यायका अनुसार बाँस, सिमेन्टका बोरामा बालुवा राखेर एक सय १३ मिटर जैविक तटबन्ध निर्माण गर्न लागिएको छ । पूर्णागिरी जैविक तटबन्ध निर्माण उपभोक्ता समितिका उपाध्यक्ष रामप्रसाद जैसीले जोगबुढा नदीले बर्सेनि कटान गरिरहेको बताए । ‘भारततिर पक्की बलिया तटबन्ध निर्माण गरिएका छन्,’ उनले भने, ‘नेपालतिर तटबन्ध निर्माण गरिएको छैन, त्यसैले बाँस, बोरा र बालुकाको जैविक तटबन्ध निर्माण गर्न लागेका हौँ ।’ जैविक तटबन्धले पूर्णागिरी सामुदायिक वन र बस्ती जोगिने उनको विश्वास छ ।

हिउँदमै कटानी 
महाकाली नगरपालिका क्षेत्रमा हिउँदमै कटानी भएको छ । महाकाली नगरपालिका– १० कुतियाबर गाउँमा जोगबुढा नदीले हिउँदमै कटानी गरेको हो ।  कुतियाबर जोड्ने झोलुंगे पुल क्षेत्रमा समेत कटानी भइरहेको छ । 

भारतीय पक्षबाट नहरको पानी जोगबुढा नदीमा छोड्दा पानीको सतह बढेर कटानी भएको स्थानीय बताउँछन् । वर्षायाममा नदीमा पानीको सतह बढ्दै गएपछि कटानी हुने गरे पनि जोगबुढा नदीले हिँउदमै कटानी गर्दा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।  

कुतियाबर पारिवारिका स्थानीय बासिन्दाको जमिन नदीले कटानी गरेको छ । स्थानीय गगन खत्री, पदम सुनार, हिरा सार्कीलगायतको जमिन कटानी भएको छ । 
‘नदीले यहाँ दिनहुँ कटानी गर्दासमेत सम्बन्धित निकाय बेखबर छ,’ कुतियाबरका स्थानीय मानबहादुर सुनारले भने, ‘हिउँदमै कटानी हुन्छ, वर्षामा त गाउँ नै बगाउने खतरा छ ।’   
बगर बन्दै खेतीयोग्य जमिन
उत्तर महाकाली र दक्षिण जोगबुढा नदीका कारण खेतीयोग्य जमिन बगर बन्दै गएको छ । खेतीपाती गर्ने जमिन बगर हुन थालेपछि चिन्ताले पिरोलिएका स्थानीय बासिन्दा हिउँदमा पनि कटानीको समस्या झेल्नुपर्दा थप पीडित भएका छन् । 

सरकारी बेवास्ता
कुतियाबरका स्थानीय पदम विकले सरकारी निकायको बेवास्ताका कारण कटानीको चपेटामा परेको गुनासो गरे । भारतीय पक्षबाट बलियो तटबन्ध निर्माण भए पनि नेपाली पक्षबाट तटबन्ध निर्माण नहुँदा आफ्नो बिचल्ली भएको उनले बताए । ‘भएको जमिन नदीले कटानी गर्‍यो,’ उनले भने, ‘अब हामी के खाएर बाँच्ने ?’ बर्खामा बाढी र हिउँदमा कटानीको डरले आफूहरू समस्यामा परेको उनको दुःखेसो छ ।

तटबन्धको जिम्मा पाएको जनताको तटबन्ध, भू–संरक्षण कार्यालयलगायतका सरकारी निकाय भने यस समस्याबारे बेखबर छन् । महाकाली नगरका प्रमुख वीरबहादुर सुनारले जोगबुढा र महाकाली नदीका कारण बस्ती उच्च जोखिममा रहेको बताए । मेयर सुनारले नदी कटानी रोक्नका लागि नगरपालिकाका तर्फबाट पहल भइरहेको बताए ।