मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १ बुधबार ०९:०६:००
Read Time : > 1 मिनेट
सप्तरंग

कार्टुन्ज क्रुको उडान

Read Time : > 1 मिनेट
२०७६ असोज १ बुधबार ०९:०६:००

कीर्तिपुरको एक गलैँचा कारखानामा हुर्किएका हुन्, सरोज अधिकारी । छोरो हुर्केर राम्रो कमाइ हुने काममा लागोस् भन्ने चाहना कुन बाबुआमाको पो हुँदैन र ! उनी भने कीर्तिपुरमा नाच्दै हिँड्न थाले । सुरुमा छरछिमेकीले छोरो बिग्रिन थालेको बताउँदै उनका बाबुआमालाई सचेत गराउँथे ।

बाबु–आमाको आँखा छलीछली ऋतिक रोशन र माइकल ज्याक्सनको नृत्य मोबाइलमा हेर्दै नाच्थे । विवाह र पार्टीमा बजेका गीत सुन्नेबित्तिकै उनका खुट्टाले लय समात्थे । चार वर्षअघिसम्म परिवारको साथ पाएनन् । परिवारले पैसा भन्दै गर्दा उनी भने प्यासनको पछाडि दौडिएका थिए । चार वर्षयता परिवारको चाहना पूरा गरिदिएका छन् । सरोजले नाम र दाम दुवै कमाएका छन्, अहिले परिवार खुसी छ ।

  • सुरुमा उनले क्यासिनो, बार, रेस्टुराँ र नाइट क्लबहरूमा नाचे । दुई–चार पैसा जुटाउँदै ‘कार्टुन्ज क्रु’लाई निरन्तरता दिए । उनको भनाइमा सडकबाटै उठेको हो, कार्टुन्ज क्रु । उनको टिममा सदस्य बन्ने र बाहिरिने क्रम चलिरह्यो, तर पनि विचलित भएनन् । सात वर्षअघि भने लामो रेसको घोडा बन्ने चाहना भएका साथीहरू पाए– आश्मा विश्वकर्मा, राम घले, लाक्पा लामा, राजन चौहान र सुदिन चौहान । ‘कार्टुन्ज क्रु’ स्थापना भएको नौ वर्ष भयो । यसबीचमा ‘पानी प-यो असिना झ-यो’, ‘नाइँ मलाई थाहा छैन’, ‘मायालु तिमी कता छौ’, ‘बस बस रे’लगायत हिट गीत दिइसकेको छ, यस समूहले । सरोज भन्छन्, ‘सुरुमा हामीलाई सडकमा नाच्ने भन्दै होच्याउनेहरू पनि अहिले सम्मान गर्छन् ।’

सन् २०१५ मा चीनमा आयोजित ‘वल्र्ड लिजर गेम्स’को नृत्य प्रतियोगितामा ‘कार्टुन्ज क्रु’ दोस्रो बन्यो । सन् २०१४ को ‘आर १६ नेपाल’मा रनरअप बन्यो ।

  • सुरुमा सरोजले कोरसमा नाचे । त्यतिवेला ‘साइट डान्सर’को कुनै मूल्य थिएन । ‘अहिले भने कार्टुन्ज क्रुलाई पूरै प्रोजेक्ट दिन्छन्,’ उनी भन्छन् । अहिले नृत्यको शिक्षा पनि दिन्छन्, उनी । ‘जुनियर कार्टुन्ज क्रु’का करिब डेढ सय विद्यार्थीले कपुरधारास्थित ‘कार्टुन्ज क्रु स्टुडियो’मा उनीसँग डान्स सिकिरहेका छन् । उमेरले २५ वर्षमा हिँडिरहेका उनले २५ वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । ती सबैमा कार्टुन्ज क्रुकै टिमको अभिनय छ । त्यसबाहेक अन्य पाँचवटा म्युजिक भिडियोमा सरोजले अभिनय गरेका छन् ।

 

  • ‘कार्टुन्ज क्रु’ले सन् २०१५ मा चीन पुगेर ‘वल्र्ड लिजर गेम्स’को नृत्य प्रतियोगितामा १६ देशका प्रतिस्पर्धीलाई उछिन्दै दोस्रो बन्यो । सन् २०११ को ‘ब्याटल अफ इयर नेपाल’को उपाधि जित्यो । लगत्तै भारतको चेन्नईमा ‘दक्षिण एसियाली बिबोइङ कम्पिटिसन’मा चौथो बन्यो । सन् २०१२ मा ‘ब्याटल अफ इयर नेपाल’मा दोस्रो बनेपछि म्युजिक भिडियो र कभर डान्सतिर मोडियो । सन् २०१३ को ‘ब्याटल अफ इयर नेपाल’मा सेकेन्ड रनरअप बन्यो । सन् २०१४ को ‘आर १६ नेपाल’मा रनरअप बन्यो । सरोज भन्छन्, ‘कार्टुन्ज क्रु नयाँ पुस्तालाई हस्तान्तरण गर्न पाए धन्य हुन्थेँ । मलाई पैसा कमाउनु छैन, नाचेर बाँच्न पाए पुग्छ ।’