नेपाली युवा टोलीले एसियाली फुटबल महासंघ (एएफसी) यू–१६ फुटबल च्याम्पियनसिपमा कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । जोर्डनमा मंगलबार भएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी कुवेतलाई १–१ गोलको बराबरीमै रोकेको हो ।
यससँगै नेपालले प्रतियोगितामा पहिलो अंक बटुलेको छ । नेपाल यसअघि आफ्नो पहिलो खेलमा जोर्डनसँग ७–० को भारी अन्तरले पराजित भएको थियो । प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय मैदानमा कुवेतविरुद्ध नेपालका लागि दीपेश राईले गोल गरेका थिए । खेलको ७४औँ मिनेटमा उनको गोलसँगै नेपालले सुरुवाती अग्रता बनाएको थियो । यद्यपि, नेपालले त्यो अग्रतालाई भने जोगाउन सकेन । खेलको अतिरिक्त समयमा गोल व्यहोर्दै नेपालले अंक बाँडेको हो ।
प्रतिस्पर्धात्मक पहिलो हाफ
नेपालले कुवेतविरुद्ध सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्यो । प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो हाफमा पनि गोलका केही राम्रा मौका सिर्जना गरेको थियो । तर, नेपालले ती अवसर सदुपयोग गर्न सकेन । कुवेतले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । प्रतियोगितामा कुवेतले दुई खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलंकालाई हराएको थियो ।
प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपालले अब ३ असोजमा ताजकिस्तानसँग खेल्नेछ । यस्तै, नेपालले ५ असोजमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष टोली सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणका लागि छनोट हुनेछ ।