मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अली बकिर काठमाडाैं
२०७६ असोज १ बुधबार ०८:३९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

ट्रम्पको इराननीति असफल भइसकेको छैन

ट्रम्पका आलोचकले हल्ला पिटेजसरी उनको इराननीति असफल भइसकेको नभई यो अझै सफल हुने सम्भावना जीवितै छ

Read Time : > 2 मिनेट
अली बकिर काठमाडाैं
२०७६ असोज १ बुधबार ०८:३९:००

१० सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटमार्फत आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेको सूचना दिएर विश्वलाई नै स्तब्ध पारे । ट्रम्पले इरानविरुद्ध अख्तियार गरेको अधिकतम दबाबको नीति तयार गर्ने प्रमुख आर्किटेक्टमध्ये एक थिए, बोल्टन । बोल्टनको बहिर्गमनले इरानी सत्तालाई सीधै ट्रम्पसँग कुराकानी गर्ने अवसर दिएको छ । तर, कम्तीमा अहिलेसम्म तेहरानले ट्रम्पसँग संवाद गर्ने इच्छा देखाएको छैन । 

उदाहरणका लागि, ट्रम्पले इरानी राष्ट्रपति हसन रोउहानीसँग संयुक्त राष्ट्रसंघको महासभाका क्रममा बिनासर्त भेट्ने इच्छा गरेका छन् । तेहरानमाथि शनिबार साउदीको तेल प्रशोधन गृहमा आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ, यति हुँदाहुँदै पनि यस्तो संवाद र भेटको सम्भावनालाई अमेरिकाले नकारेको छैन । 

यता, तेहरानले भने ट्रम्प र रोउहानीबीच भेट हुन सक्ने सम्भावना अस्वीकार गरेको छ । अमेरिकासँग संवादका लागि तेहरानको यस्तो निरन्तरको अस्वीकारोक्तिले देखाउँछ, बोल्टनको बर्खास्तीलाई उसले विजयका रूपमा बुझेको छ । जति टाढा बस्यो, ह्वाइट हाउसलाई इरानप्रति नरम हुनका लागि उति नै विश्वस्त गराउन सकिन्छ भन्ने उसको बुझाइ छ । इरानी राष्ट्रपति हसन रोउहानीका सल्लाहकार हेसामिद्दिन अस्हेनाले ट्विटमा सार्वजनिक रूपमै लेखेका छन्– बोल्टनको बर्खास्ती कुनै दुर्घटना होइन, बरु अत्यधिक दबाबको अमेरिकी रणनीति असफल भएको निर्णायक संकेत हो ।

मे २०१८ मा जब ट्रम्प प्रशासनले इरान आणविक सम्झौताबाट बाहिरिने निर्णय लियो, त्यसयता उसले इरानविरुद्ध आक्रामक र दबाबको नीति अख्तियार गरिरहेको छ । इरानी सत्तालाई घुँडा टेकाएर वार्ताको टेबुलमा ल्याउने र उसको आणविक महत्वाकांक्षा तथा मिसाइल कार्यक्रमसँग जोडिएका महत्वपूर्ण विषयमा आफूले चाहेजसरी सम्झौता गर्ने उद्देश्य राखेर सैन्य, आर्थिक तथा कूटनीतिक दबाब दिइएको छ । 

विरोधीहरू यस नीतिले काम नगरेको बताउँछन् । उनीहरूका अनुसार यसले इरानी सत्ताको आक्रामकतालाई समाप्त गर्नुको साटो बरु मध्यपूर्वमा तनाव बढाएको छ । नतिजा, अमेरिका–इरानबीच युद्ध हुन सक्ने खतरा अहिलेसम्मकै उच्च बिन्दुमा छ । 

यता, अमेरिकी अधिकारीहरू यस रणनीतिले काम गरिरहेको बताउँछन् । उनीहरूका अनुसार नाकाबन्दीपछि इरानको तेल व्यापार चौपट भएको छ र उसको अर्थतन्त्र संकटमा छ, त्यसैले उसले आफ्नो क्षेत्रीय प्रभाव बढाउन र अमेरिकी स्वार्थमा आक्रमण गर्न जसरी धनराशी खर्च गथ्र्यो, त्यसको अभाव छ । 

अमेरिकाले अझै दबाब दियो भने उसले तेहरानको सत्तालाई वार्ताको टेबलमा ल्याउन सक्छ र अमेरिकाको हात माथि पर्ने गरी वार्ता सुरु हुन सक्छ

कुनै पनि अर्थबाट ट्रम्पको नीति उत्कृष्ट छैन । तर, उनका आलोचकले जसरी यो असफल भइसक्यो भनेर हल्ला पिटेका छन्, त्यसविपरीत यो नीति सफल हुने सम्भावना कायम छ । यदि इरानमाथि अमेरिकाले अझै दबाब दियो भने उसले अन्ततः तेहरानको सत्तालाई वार्ताको टेबुलमा बोलाउन सक्छ र अमेरिकाको हात माथि पर्ने गरी वार्ता सुरु हुन सक्छ । यस्तो त्यति वेला मात्रै सम्भव हुन्छ, जब युरोपेली युनियनले पनि योजना ल्याउनेछ, खाडीमा देखिएको अन्योल समाप्त हुनेछ र टर्की, चीन, भारतजस्ता महत्वपूर्ण खेलाडी पनि तेहरानलाई लाइफ–लाइन नदिन सहमत हुनेछन् ।

सन् २०१५ को इरान आणविक सम्झौता (जेसिपिओए) को तुलनामा यसले इरानलाई शान्त राख्ने मौका अमेरिकालाई दिनेछ र अमेरिकाले आफ्ना सहयोगीलाई पनि मध्यपूर्वमा दीर्घकालीन सुरक्षा दिन सक्छ । सन् २०१५ को आणविक सम्झौता इरानी सत्ताले मध्यपूर्वमा गर्ने खतरनाक गतिविधिलाई सम्बोधन गर्न पक्कै डिजाइन गरिएको थिएन, यो इरान समस्यालाई तत्काल मत्थर गर्नका लागि डिजाइन गरिएको थियो, समाधान गर्न होइन ।

अत्यधिक दबाबको रणनीतिले इरानी सत्तालाई शान्त पार्छ या मध्यपूर्व क्षेत्रमा उसको विध्वंसकारी गतिविधि समाप्त गर्छ भन्ने ग्यारेन्टी छैन । तर, अहिलेसम्म ट्रम्पका आलोचकले यस रणनीतिको विकल्प दिन सकेका छैनन् । यस्तोमा अहिलेको बिन्दुमा यो अमेरिकाले सबैभन्दा ठूलो आशा गर्न सक्ने नीति हो । 

बोल्टनको बर्खास्ती नै अमेरिका र इरानबीच जारी तनावको अन्त्य होइन । बोल्टनको बर्खास्तीपछि इरानले आफ्नो अत्यधिक प्रतिरोधको नीति सफल भएको र अमेरिकाको नीति असफल भएको बुझ्न सक्छ । यसले उसलाई केही समयका लागि वार्ताबाट टाढा रहन प्रोत्साहित पनि गर्न सक्छ । अब के हुन्छ भन्ने विषय ट्रम्पले आगामी राष्ट्रिय सुरक्षा सल्लाहकार कसलाई नियुक्त गर्छन् र उनले सुरुदेखि कसरी काम गर्छन् भन्नेमा निर्भर गर्छ । 

(डाक्टर अली बकिर राजनीतिक विश्लेषक तथा अनुसन्धानकर्ता हुन्) अलजजिरा डटकमबाट