Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार ०८:११:००
Read Time : > 1 मिनेट
सम्पादकीय

ओरालोमा सेयरबजार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार ०८:११:००

नेपाली अर्थतन्त्रका आमसूचक त्यति निराशाजनक छैनन् । सरकारका तथ्यांकलाई आधार मान्ने हो भने गत आर्थिक वर्षमा ७.५ प्रतिशतको आर्थिक वृद्धि भएको छ । यसको अर्थ हुन्छ, अर्थतन्त्र गतिशील छ । लगानी बढेको छ, रोजगारी सिर्जना भएको छ र उत्पादकत्व पनि वृद्धि भएको छ । यो आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारका सूचक अघिल्लो महिनाका तुलनामा सकारात्मक छन् ।

कुल वैदेशिक व्यापार घाटा अलिकति झरेको छ । वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको भए पनि विनिमय दरसमेतका कारण नेपाल भित्रिने कुल रेमिट्यान्सको दर बढेको छ । घरजग्गाको कारोबार पहिलेजस्तो तातेको छैन । बैंकहरूको ब्याजदरलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ । तर, यसको प्रतिबिम्बका रूपमा सेयरबजारमा जुन लगानी आउनुपर्ने हो, त्यो कतै देखिन्न । आइपिओमा हरेकजसो कम्पनीमा मागको तुलनामा निकै बढी आवेदन दिने लगानीकर्ता दोस्रो बजारमा भने पैसा लगानी गर्न अनिच्छुक देखिने गरेका छन् ।

सेयरबजारलाई सामान्य माग र आपूर्तिका सिद्धान्तका आधारमा खुला कारोबार गर्ने स्थलका रूपमा कमै स्वीकार गर्ने र विभिन्न खेलाडीको चापमा साना लगानीकर्ताले प्रतिस्पर्धा गर्न नसक्ने नेपाली सेयरबजारको प्रवृत्ति रहिआएको छ । दीर्घकालमा नाफा दिन सक्ने थलोका रूपमा भन्दा पनि तत्काल नाफा–नोक्सानको हिसाबमा चल्न साना लगानीकर्ता बजारमा सामान्य ओरालो प्रवृत्ति देखिनासाथ हतास भएर सेयर बिक्रीमा लाग्दा पनि यसमा केही प्रभाव देखिएको हुन सक्छ । तर, यी सूचक हाम्रो सेयरबजारको यो दुर्गतिका लागि मुख्य जिम्मेवार छैनन् ।

सेयरबजारमा वित्तीय संस्थाको निर्बाध प्रवेश र ठूला लगानीकर्ताको चासो नबढेसम्म यसले गति लिने देखिन्न

सेयरबजारमा वित्तीय संस्थाको निर्बाध प्रवेश र ठूला लगानीकर्ताको चासो नबढेसम्म यसले गति लिने देखिन्न । गत वर्षदेखि नै ओरालो लागेको सेयर नउकासिँदा लगानीकर्ता मर्कामा परेका छन् । लामो समय सेयर होल्ड गर्दा पनि समस्यामा नपर्ने लगानीकर्ताबाहेक छिटो कारोबारबाट नाफा लिन लगानी गरेकाहरूका लागि यो सकसको विषय बन्दै गएको छ ।

सरकारले यसमा बजारका केही हतियार प्रयोग गर्दा पनि यसले गति लिन नसकेपछि अर्थमन्त्रीले हिजो मात्र वित्तीय संस्थालाई सेयरबजारमा लगानी बढाउन आह्वान गरेका छन् । तर, यस्तो अपिलले मात्र काम गर्ने कमै सम्भावना छ । यसका निम्ति सरकारका नीतिमा समेत केही सकारात्मक पहलकदमीको आवश्यकता छ ।

वर्तमान सरकार गठन भएयता नै सेयरबजार आक्कलझुक्कलबाहेक उकालो लगेन । सेयरबजारका सम्बन्धमा अर्थमन्त्रीले आरम्भमा दिएको अभिव्यक्तिको पनि आलोचना गरियो । बीचमा आएका कतिपय समस्या समाधान गर्न र लगानीकर्ताको चासो सम्बोधन गर्न यसबीच दुईपटक ठोस पहल भएका हुन् । तैपनि सेयरबजारतर्फ लगानी आकर्षित भएन । सेयरमा लगानी नभएको रकम अर्थतन्त्रका अन्य क्षेत्रमा तीव्र रूपले लगानी भएको पनि देखिन्न ।

गत वर्षभरि नै बैंकहरूले मागअनुसारको ऋण प्रवाह गर्न रकम अभाव भएको बताइरहेका थिए । यी सूचकले अर्थमन्त्री र अर्थ मन्त्रालय तथा केन्द्रीय बैंकले सेयरबजारलाई सक्रिय बनाउन र लगानीकर्तालाई आकर्षित गर्न आवश्यक ‘टुल्स’को प्रयोग सही ढंगले नगरेको भन्ने नै जनाउँछन् । यसैले अर्थमन्त्रीले विशेषगरी सेयरबजारमा सकारात्मक परिवर्तनका लागि विशेष नीतिगत व्यवस्था गर्न ढिलो गर्नु हुँदैन । विश्वभर नै अस्थायी उतारचढावबाहेक केही वर्षदेखि लगातार बढ्दै गएको सेयरका प्रभाव नेपालमा मात्र किन नकारात्मक छन् भन्नेतिर सरोकारवालाको ध्यान तत्काल जानु जरुरी देखिन्छ ।