१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
विजयराज खनाल काठमाडौं
२०७६ असोज १ बुधबार ०७:५२:००
Read Time : > 5 मिनेट
अर्थ

सरकारले खर्च गर्न नसक्दा ब्याजदर उच्च, नेप्सेमा भारी गिरावट

सरकारी खर्च, ब्याजदर र नेप्सेको अन्तरसम्बन्ध

Read Time : > 5 मिनेट
विजयराज खनाल काठमाडौं
२०७६ असोज १ बुधबार ०७:५२:००

सरकारको खर्च गर्ने क्षमता कमजोर हुँदा राष्ट्र बैंकको ढुकुटीमा रकम थुप्रिएर तरलता अभाव निम्तियो, त्यसलाई पूर्ति गर्न बैंकहरूले ब्याजदर बढाए, यसबाट बजारमा लगानीयोग्य रकम नहुँदा नेप्सेमा भारी गिरावट आएको हो ।

सरकारले खर्च गर्न नसक्दा यसको असर मुलुकको विकास निर्माणमा मात्र परेको हुँदैन, ब्याजदर उच्च बनाउने, निजी क्षेत्रले चर्को ब्याजमा ऋण लिएर व्यवसाय गर्न नसक्ने र सेयर बजारमा समेत भारी गिरावट निम्त्याउने गर्छ । 

गत वर्षको सरकारको खर्च गर्ने क्षमता, राष्ट्र बैंकको ढुकुटीमा थुप्रिएको रकम, यसबाट बैंकमा निम्तिएको तरलता अभाव, तरलता अभाव पुर्ती गर्न बैंकहरूले बढाएको ब्याजदर, चर्को ब्याजका कारण ऋण लगानी हुन नसकेको परिणाम र बजारमा लगानीयोग्य रकम नभएकाले नेप्सेमा देखिएको गिरावट विश्लेषण गर्दा यस्तो देखिएको हो । 

गत आर्थिक वर्षमा सरकारी खर्च क्षमता नबढ्दा ढुकुटीमा मासिक औसत १ खर्ब ५९ अर्ब रुपैयाँ रह्यो । राष्ट्र बैंकको ढुकुटीमा पैसा थुप्रिएकाले बजारमा रकम प्रवाह हुन सकेन, बजारमा रकम नहुँदा बैंकहरूले तरलता अभाव झेल्नुपर्‍यो । यही तरलता अभाव न्यूनीकरण गर्न बैंकहरूले निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याजदर दिए । 

निक्षेपमै मोटो ब्याज पाउने भएपछि लगानीकर्ता ‘अनिश्चित’ सेयर बजारमा लगानी गर्न उत्साहित भएनन् । परिणामस्वरूप ऋणको ब्याजदर पनि उच्च राख्नुपर्ने बाध्यता आयो । ब्याजदर उच्च हुँदा निजी क्षेत्रले लगानी गर्ने क्षमता पनि कमजोर हुन पुग्यो । 

गत आर्थिक वर्ष सबैखाले कर्जाको वार्षिक औसत ब्याजदर १२ दशमलव २८ प्रतिशत थियो । अझ संस्थागत निक्षेपकर्ताले उच्च ब्याजका लागि मोलमोलाइसमेत गरे । यस्ता संस्थाले १४ प्रतिशतसम्म ब्याज पाए । कर्जाको ब्याजदरसमेत बढ्दा बैंकहरूले सेयर कर्जा जारीमा कडाइ पनि गरे । यहीकारण सेयर बजार प्रभावित बन्यो ।

तरलतासँग सेयर बजारको सोझो सम्बन्ध 
बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा १० प्रतिशतमाथि ब्याज दिँदा सेयर बजार सधैँजसो घट्ने गरेको तथ्यांकबाट देखिएको छ । गत आवमा असोजदेखि जेठसम्मको ९ महिनामा हरेक महिना बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिए । सरकारले खर्च गर्न नसक्दा यो ९ महिनाको अवधिमा सधैँ नै सरकारी ढुकुटीमा १ खर्ब ३० अर्बभन्दा धेरै रकम रह्यो । 

सरकारी ढुकुटीमा रकम रहनु राम्रो मानिँदैन । ढुकुटीमा रकम रहे, जनतासँग रकम प्रवाह (अर्थचक्रका माध्यमबाट) हँुदैन । जनतासँग पैसा नहुनु भनेको अर्थतन्त्र कमजोर हुनु हो । त्यसैले सरकारी ढुकुटी राजस्व संकलन हुँदा बढ्ने र खर्च गर्दा घट्ने हुन्छ । 

बजारमा रकम अभाव भएपछि गत आर्थिक वर्षको फागुन, चैत र वैशाखमा बैंकहरूले निक्षेपमा १० प्रतिशतमाथि ब्याज दिए । तर, त्यो वेलाचाहिँ सेयर बजारमा भने केही सुधार देखियो । 

‘बजारमा ३०–४० अंकको परिवर्तन स्वाभाविक हुन्छ,’ सेयर विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘तर, ब्याजदर उच्च हुँदासम्म सेयर बजारमा घट्दो प्रवृत्ति हुन्छ ।’ मुद्दती निक्षेपको ब्याजदर ८ प्रतिशत हाराहारीमा हुँदा मात्र बजार बढ्ने गरेको तिवारीको विश्लेषण छ ।  ब्याजदर उच्च हुँदा सेयर बजारमा लगानी गरिरहेका संस्था पनि निक्षेप राख्न बढी रुचाउँछन् । सेयर बजार घट्दो प्रवृत्तिमा रहँदा यो प्रवृत्ति झन् बढ्छ । 

सेयर बजारलाई अप्रत्यक्ष रूपमा उच्च घटबढ हुन रोक्ने अपेक्षा गरिएको सामूहिक लगानी कोषले समेत निक्षेपमा ९० प्रतिशत लगानी गरेको भन्दै धितोपत्र बोर्डले कारबाहीको चेतावनीसमेत दिएको थियो । सामूहिक लगानी कोषले निक्षेपमा समेत रकम राख्न पाउँछन् । तर, उनीहरूले योजना सुरु गर्दा तोकेको क्षेत्रमा तोकिएको अनुपातमै लगानी गर्नुपर्ने हुन्छ ।

‘सबै सेयर लगानीकर्ताले उच्च ब्याजदरकै आशामा सेयरमा लगानी गर्न छाडेर बैंकमा निक्षेप राख्छन् भन्ने कुरा सही होइन,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, ‘तर, संस्थागत लगानीकर्ता भने निक्षेपमा आकर्षित भएको भने साँचो हो ।’ 

सेयर बजार घट्नुका अन्य कारण 
बजार घट्नुमा निक्षेपको ब्याजदर मात्रै कारक भने होेइन । गत वर्ष अधिकांश बैंक तथा वित्तीय संस्थाको लाभांश दर घटेको, सरकारले राजस्व उठाउन लगाउँदै आएको पुँजीगत लाभकर गणनामा विवाद देखिएको र सरकारप्रतिको विश्वास घटेकाले पनि बजार प्रभावित भएको लगानीकर्ताको ठम्याइ छ । 

‘सरकारप्रति अवश्विास देखिएका कारण पनि बजार बढ्न सकिरहेको छैन,’ लगानीकर्ता दिलीप श्रेष्ठले भने, ‘अहिले बजारमा धेरैजसो कम्पनीको मूल्य अंकित मूल्य (१ सय रुपैयाँ) आसपास छ, तैपनि लगानीकर्ता आकर्षित हुन सकेका छैनन् ।’ यता, अर्यालले भने सेयर बजारमा उचित समयमा लगानी गर्न सक्नेले १५–१६ महिनाको अवधिमै दुईपटकसम्म प्रतिफल पाउने अवस्था रहेकोसमेत बताउँछन् । 

‘बैंकले वर्षभरिका लागि ब्याजदर तोकेको हुन्छ,’ अर्याल भन्छन्, ‘तर, भदौ–असोजमा लगानी गर्दा अर्को भदौ–असोजसम्ममा दुईपटकको लाभांश पाइने अवस्था हुन्छ ।’ कम्पनीहरूले हरेक आर्थिक वर्ष अन्त्य भएको ६ महिनाभित्र साधारणसभा घोषणा गर्नुपर्छ । भदौ–असोजमा लगानी गर्नेले १५–१६ महिनामा दुईपटकको लाभांश प्राप्त गर्न सक्ने अवस्था बन्छ । दोस्रो वर्ष लाभांश लिन नचाहानेले मूल्य परिवर्तनबाट समेत प्रतिफल उठाउन सक्छ । तर, लाभांश समायोजनपछि मूल्य घट्ने प्रवृत्ति रहेको र बजार ‘बियरिस’ (ओरालो लाग्नु) हुँदा पुरानो मूल्यमा फर्किन समय लाग्ने भएकाले यस्तो प्रतिफलले समेत फाइदा नपुग्ने विश्लेषक तिवारी बताउँछन् ।   

बैंकमा पुँजी अभाव हुँदा ब्याजदर बढ्छ
प्रकाश तिवारी, सेयर विश्लेषक

बैंकले निक्षेपमा दिने ब्याजको प्रभाव सेयर बजारमा पर्छ । बजार घटबढ हुने मुख्य कारणमा यो पनि एउटा हो । सेयर बजार नियमित रूपमा ३०–४० अंकले घटबढ हुनु सामान्य हो । तर, मुद्दतीको ब्याजदर उच्च (८ प्रतिशतमाथि) हुँदा सेयर बजार बढ्न सक्दैन । ब्याजदर उच्च हुनु भनेको बैंकहरूलाई पुँजी अभाव भएको संकेत हो । यस्तो वेला बैंकले सेयर कर्जा दिन पनि आनाकानी गर्छन् । 

‘नयाँ लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्ने उपयुक्त मौका’

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको नयाँ लगानीकर्ताका लागि अहिले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त वातावरण भएको बताएका छन् । ‘अहिले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त मौका हो,’ उनले भने । बैंकको नाफा वृद्धि भइरहेको छ । वित्तीय प्रणालीको नाफा बढिरहेको छ । आर्थिक वृद्धि भइरहेको छ । राजनीतिक स्थिरता र सुशासनमा सुधार भइरहेको र करको समस्या समाधान गर्ने काम भइरहेका कारण पनि सेयर बजार वृद्धि हुनुपर्ने उनको भनाइ छ । खतिवडाले नयाँ लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गर्न आह्वानसमेत गरे ।

‘ठूला पूर्वाधारलाई लगानी जुटाउन पुँजी बजारको विकास अनिवार्य’ 
अर्थमन्त्री खतिवडाले ठूला पूर्वाधार आयोजना निर्माणका लागि लगानी जुटाउन पुँजी बजारको विकास अनिवार्य रहेको बताए । कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सव कार्यक्रममा उनले पुँजी बजार विस्तारविना ठूलो लगानी जुटाउन नसकिने बताएका हुन् । ‘पुँजी बजारलाई गति दिनुपर्ने अवस्था सिर्जना भइसकेको छ,’ उनले भने । 

पछिल्लो समय सेयरसँगै बन्डको समेत बजार विकसित भइरहेछ । खतिवडाले पुँजी वृद्धिका लागि लगानी बढाउने वातावरण तयार गर्न वित्तीय क्षेत्रलाई आग्रह गरे । कर्मचारी सञ्चयकोष दीर्घकालीन बचत परिचालन गर्ने सबैभन्दा ठूलो संस्था हो । अहिलेसम्म संस्थाले साढे ३ खर्ब रुपैयाँ व्यवस्थापन गरिरहेको छ । त्यसपछि नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, दूरसञ्चार कोषलगायत आउँछन् । नयाँ कोष स्थापना गर्ने काम पनि भइरहेको छ । 

खतिवडाका अनुसार सबै कोषको रकम एकमुष्ट गर्ने हो भने कुल गार्हस्थ उत्पादनको २० प्रतिशत (झन्डै ७ खर्ब) रुपैयाँ हुन्छ । कोषहरूको रकम पुँजी बजारको विकासमा खर्च हुनुपर्ने उनको भनाइ छ । 

दीर्घकालीन लाभ दिलाउने ठूला पूर्वाधार आयोजनमा लगानी गर्न विभिन्न कोष अनिवार्य रहेकोमा उनको जोड थियो । ‘प्राथमिक सेयर निष्कासनका लागि पनि सशक्त भूमिका रहनुपर्छ,’ उनले भने, ‘नागरिक लगानी कोषलगायतका संस्थाले दोस्रो बजारमा पनि भूमिका खेल्नुपर्छ ।’ 

योगदानमा आधारित निवृत्तीभरणसम्बन्धी एप्स थालनी 
कर्मचारी सञ्चयकोषले योगदानमा आधारित निवृत्तीभरण प्रणाली कार्यान्वयन ल्याउनुका साथै त्यससम्बन्धी एप्स पनि सञ्चालनमा ल्याएको छ । एप्सको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटान गरे । सेवानिवृत्त भएकालाई कोषविना (सीधै सरकारले उपलब्ध गराउने) नै निवृत्तीभरण दिने यसअघिको व्यवस्थालाई राज्यले भविष्यमा थेग्न नसक्ने भएकाले योगदानमा आधारित प्रणाली कार्यान्वयनमा ल्याइएको बताए । अर्थमन्त्री डा. खतिवडाले २० वर्षदेखि योगदानमा आधारित निवृत्तीभरण ऐन बनाउने प्रयास भए पनि बल्ल सफल भएको उनको भनाइ छ । ‘अब भरपर्दाे, दिगो, विश्वासिलो र राज्यले धान्न सकिने सामाजिक सुरक्षा प्रणालीमा मुलुक प्रवेश गरेको छ,’ उनले भने ।

सञ्चयकोष व्यवस्थापनमा दक्ष बन्न सुझाब 
कर्मचारी सञ्चयकोषले सामाजिक सुरक्षाको पछिल्ला अवधारणा स्वीकार गर्ने परिचालन गर्ने र व्यवस्थापन गर्ने क्षमतालाई विकास गर्दै लैजानुपर्नेमा अर्थमन्त्रीले जोड दिए । ५८ वर्ष पुगेको कोषलाई उनले धेरै उमेर पार गर्न बाँकी रहेको बताउँदै अझ नयाँ प्रविधि र क्षमताको विकास गर्न आग्रह गरे । ‘युवा भएकाले अझै धेरै सिक्न, काम गर्न र नयाँ विषयमा पोख्त हुनुपर्छ,’ उनले भने । कोषको नयाँ भूमिकाका रूपमा सामाजिक सुरक्षा संस्थाका रूपमा यसलाई अघि बढाउने र पेन्सन कोष व्यवस्थापन गर्ने संस्था बनाउने सरकारको तयारी छ । त्यसो गर्दा अहिलेको भूमिका पनि स्वाभाविक रूपमा संस्थामा रहनेछ । राज्यको बचत परिचालन, दीर्घकालीन पुँजी परिचालन, समग्र आर्थिक तथा पूर्वाधार विकासमा सहयोग पु¥याउने अपेक्षा रहेको बताए । संविधानमै सामाजिक सुरक्षाको प्रत्याभूति गरिएको र त्यसैअनुसार  व्यवस्थापन गर्ने प्रक्रिया थालनी भएको उनको भनाइ छ ।

३ खर्ब ३८ अर्ब लगानी 
कोषका प्रशासक तुलसी गौतमले बिमा, जलविद्युत्, बैंकलगायतका संस्थामा ७ अर्ब  रुपैयाँभन्दा बढी सेयर लगानी रहेको जानकरी दिए । ‘कोषले राम्रो प्रतिफल दिने कम्पनीमा लगानी गरिहेको छ,’ उनले भने । त्यस्तै, अहिलेसम्म कोषको कुल लगानी ३ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ । सेयरबाहेक माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, नेपाल वायुसेवा निगम, व्यापारिक भवनलगायत विभिन्न आयोजनामा लगानी छ । कोषमा अहिलेसम्म ६ लाख सञ्चयकर्ता रहेका छन् । त्यस्तै ३० हजार संस्था आबद्ध छन् ।