Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज १ बुधबार ०७:४४:००
Read Time : > 1 मिनेट
अर्थ

भ्रमणका नाममा जथाभावी खर्च

फरक–फरक स्थानमा घुमेको टोलीको प्रतिवेदन हुबहु

Read Time : > 1 मिनेट
२०७६ असोज १ बुधबार ०७:४४:००

सबैभन्दा बढी धनगढी उपमहानगरमा पौने २८ लाख भ्रमणका नाममा खर्च

कैलालीका स्थानीय तहहरूले अवलोकन भ्रमणका नाममा लाखौँ रुपैयाँ खर्च गरेका छन् । जनप्रतिनिधि, कर्मचारीको भ्रमणमा स्थानीय तहहरूले गत आवमा १ करोड रुपैयाँभन्दा बढी खर्च गरेका हुन् । सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाले २७ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । भ्रमणमा गएका जनप्रतिनिधि र कर्मचारीको भ्रमण भत्ता, खाना, खाजा, यातायात आदिमा यो रकम खर्च भएको हो । चारवटा टोली फरक–फरक समयमा अवलोकन भ्रमणमा गएका उपमहानगरका लेखापाल मेम्बर सिंहले जानकारी दिए । धनगढीबाट करिब एक सय ८५ किलोमिटर टाढा पर्ने बैतडीको पाटन नगरपालिका र त्यहाँ जाँदा बाटोमै पर्ने डडेल्धुराको अमरगढी नगरको अवलोकन भ्रमणमा मात्रै उपमहानगरको टोलीले तीन दिनमा ४ लाख ५६ हजार रुपैयाँ खर्चेको छ । 

फोहोरमैला व्यवस्थापनको अवलोकन गर्न उपमहानगरका सबै वडाका अध्यक्ष, प्रशासकीय अधिकृत र कर्मचारी गरी २६ जनाको टोली गत असार अन्तिम साता अमरगढी र पाटन गएको थियो । अन्य तीनवटा टोलीले बुझाएका प्रतिवेदन हेर्दा सबैजसो टोलीले अवलोकन गरेका अधिकांश क्षेत्र एउटै छन् । सर्वसाधारण नागरिक बाटो, विद्युत्, खानेपानीजस्ता विकासका न्यूनतम पूर्वाधारको पर्खाइमा छन् । तर, यहाँका १३ मध्ये १० स्थानीय तहले गत आवमा अवलोकन भ्रमणमै १ करोड ७ लाख रुपैयाँ सिध्याएका छन् । पहाडी क्षेत्र पर्ने चुरे गाउँपालिकाका अधिकांश बस्तीका बासिन्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकजस्ता विकासका न्यूनतम पूर्वाधार र सुविधाको उपभोगबाट वञ्चित छन् । तर, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अवलोकन भ्रमणमा गत वर्ष मात्रै १३ लाख खर्च गरे ।

अन्तरस्थानीय तहको अवलोकन तथा त्यहाँका जनप्रतिनिधसँग अन्तक्र्रियाका लागि छुट्याइएको बजेटबाट चुरेका दुईवटा टोली भारतको दार्जिलिङ र सिक्किमसमेत घुमे । भारत घुमेको गुपचुप राखेको टोलीले लेखापरीक्षण गर्दा अप्ठ्यारो हुने हुँदा भ्रमण प्रतिवेदनमा भारत गएको उल्लेख गरेन । ‘घुमघाममा १३ लाख सक्नुभन्दा एउटा खानेपानी आयोजना बनाएको भए पनि केही परिवारले स्वच्छ पानी त खान पाउँथे,’ चुरे–६ का डिबी साउदले भने, ‘गाडी, सेवा, सुविधा, तालिम, गोष्ठीमै बढी रकम खर्च भएपछि कहाँबाट विकास होस् ।’ ‘धनगढीमै मुख्य बजारसँग जोडिएका सडक जीर्ण अवस्थामा छन्, तर उपमहानगरको ठूलो बजेट भ्रमणका नाममा खर्च भएको देखिन्छ,’ कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेन्द्रवीर चन्दले भने, ‘स्थानीय तहले पूर्वाधार विकासभन्दा सेवा, सुविधा र भ्रमण तालिम, गोष्ठीजस्ता अनुत्पादक क्षेत्रमा बढी खर्च गरिरहेका छन् ।’ सेवासुविधा र अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा विकासले गति लिन नसकेको उनको भनाइ छ ।

भ्रमणका नाममा बेथिति
गत आवमा अवलोकन भ्रमण शीर्षकमा गोदावरी नगरपालिकाले १२ लाख, टीकापुर नगरपालिकाले साढे १० लाख, बर्दगोरिया गाउँपालिकाले ७ लाख, जोशीपुर गाउँपालिकाले ५ लाख, गौरीगंगा नगरपालिकाले ३ लाख ८१ हजार र घोडाघोडी नगरपालिकाले साढे ६ लाख खर्च गरेका छन् ।

भ्रमण प्रतिवेदन हुबहु
गत आवमा कैलारी गाउँपालिकाका दुईवटा टोली भ्रमणमा गए । अचम्म त के भने भ्रमण टोलीमा गएकाको नाम र स्थानबाहेक दुवै टोलीले बुझाएको भ्रमण प्रतिवेदन हुबहु छ । जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापा उपलब्धिमूलक नभएकाले भ्रमणमा बजेट छुट्याउनु गलत भएको बताउँछन् ।