मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार ०७:११:००
Read Time : > 5 मिनेट
राजनीति

चित्रबहादुर केसी भन्छन्– म त पार्टीकै काममा सक्रिय छु

Read Time : > 5 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १ बुधबार ०७:११:००

अहिले संसद्बाहिर हुनुहुन्छ । संसद्मा तपाईंका सम्बोधनहरूको निकै चर्चा हुन्थ्यो, विरोधी सांसदहरू पनि तपाईंको भाषणको प्रशंसा गर्थे । संसद्बाहिर बस्दा कस्तो अनुभूति भइरहेको छ ?
म नभए पनि हाम्रो पार्टीबाट त्यहाँ प्रतिनिधित्व भएकै छ । त्यहाँ पार्टीको नीति लैजाने हो । त्यसैले म गए पनि वा अरू कोही पुगे पनि खासै फरक पर्दैन । दुर्गा पौडेलमार्फत त्यहाँ हाम्रो पार्टीको नीति उठाइएकै छ । हाम्रो आवाजलाई मिडियाले कति महत्व दिन्छन्, कति बाहिर ल्याउँछन् भन्ने कुराले मात्रै फरक पार्ने हो । म जाँदा जनमानसका कुरा उठाउँथे, सत्य हो । तर खुर्सानीविना तरकारी नै पाक्दैन भन्नेचाहिँ होइन । हामीले हाम्रो सांसदलाई लगातार गाइड गरिरहेका छौँ ।

चुनावमा तत्कालीन एमाले र माओवादी (हालको नेकपा)सँग तालमेल गर्नुभयो । सरकारमा त जानुभएन । सरकारमा जाने लाइन छ कि छैन ? 
हामीले चुनावमा तालमेल गरेका हाैँ । त्यतिवेला नेपाली कांग्रेसका नेताहरूले बालुवाटारमै बोलाएर मसँग कुरा गरेका थिए । कांग्रेसका जिम्मेवार नेताहरूसँग पनि गफगाफ भएको थियो । तपाईंले कहाँ–कहाँ रोज्ने हो रोज्नुस्, हामी छोड्छौँ तर त्यतातिर(नेकपा) नमिसिनुस् भनेका थिए ।

वाम पार्टीसँगै सहकार्य गर्नुपर्छ भन्ने हाम्रो पार्टीको नीति थियो । कता लाग्दा नाफा–नोक्सान हुन्छ भन्नेतिर हामीले हिसाब गरेनौँ । फाइदाकै बाटो हेरेको भए त कांग्रेससँग मिल्दा नै हामीलाई बढी सिट प्राप्त हुन्थ्यो होला । हामीलाई सरकारमा सामेल हुन पहिलेदेखि अफर गरिन्थ्यो । हामी संविधान जारीपछि भारतले नाकाबन्दी गर्दा मात्रै सरकारमा सामेल भयौँ । पछिल्लो समय सरकारमा जाने हाम्रो नीति भए पनि सरकारमा सामेल हुनुपर्ने जरुरी देखेका छैनौँ ।

सत्तारूढ नेकपा र सरकारप्रति तपाईंहरूको विश्लेषण के छ ?
नेकपाका अरू कमजोरी भए पनि धर्मनिरपेक्षतामा अडिग छ । भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन । जनआकांक्षा त यिनले माटोमै मिलाए, निराश तुल्याए । जनतालाई सुशासन दिन नसकेको जगजाहेर छ । कतिपय मान्छे भन्छन्– यो सरकार ढले पनि, भत्के पनि तपाईं काँध किन थाप्नुहुन्छ ! सरकारलाई सपोर्ट गरेको भनेर हामीलाई प्रशस्तै आलोचना हुने गरेको छ । अन्य पार्टीको तुलनामा नेकपा गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा छ ।

राष्ट्रियताको पक्षमा यिनीहरूमा केही ढुलमुल देखिन्छ । संविधान संशोधन गराएर भारतीय साम्राज्यवादले आफ्नो हितअनुकूलका एजेन्डाहरू संविधानमा घुसाउन प्रयत्न गरिरहेको छ । त्यसमा नेकपा अडिग रहेको छ । संविधान संशोधन गर्नै नहुने विषय त होइन । तर, भारतको निहित स्वार्थका लाागि संविधान संशोधन गर्न खोजिएको हो । भारतीय, अमेरिकी वा युरोपियनका अगाडि यिनीहरू लत्रने हुन् कि भन्ने डर अझै पनि हाम्रो पार्टीलाई छ । त्यसलाई रोक्न पनि हामीले यो सरकारलाई समर्थन गरिरहेका छौँ ।

केन्द्रदेखि स्थानीय तहसम्म नेकपाकै वर्चस्व छ । दुःखको कुरा, पार्टीका नेता–कार्यकर्ताहरूले यो मौकालाई आफ्नो मोजमस्तीका लागि मात्र प्रयोग गरे । उनीहरू सत्ताको रसास्वादनतिर लागे । मौका आएका वेला उनीहरू सत्तामा चुर्लुम्मै डुबे । कमाऊ, खाऊ, मोज गर, मौका यही हो भन्नेजस्तो भयो । प्रतिक्रियावादी वा बुर्जुवा पार्टीहरूकै बाटो अवलम्बन गरे । पार्टीका क्षमतावान् मान्छे पनि निराश छन् ।

नेकपाकै नेताहरू राजतन्त्र आउन सक्छ भन्छन् । आफ्ना कमजोरी लुकाउन त्यसो भनिएको हो या साँच्चिकै त्यस्ता संकेत देखिएका हुन् ? 
एकपटक सत्तामा रसास्वादन गरेकाहरूले त्यहाँ पटक–पटक पुगिरहने सपना देख्छन् । ००७ सालअघिको राणाशासनलाई नेपाली जनताले फाले, तर बहुदलीय व्यवस्था राजाहरूले पचाउन सकेनन् । ०१७ सालमा ‘कु’ भयो । त्यो सच्याउन नेपाली जनतालाई ३० वर्ष लाग्यो । लड्नुप-यो, जेलनेल खेप्नुप-यो । कति मान्छेहरू प्रतिगमनको खतरा हुँदैन भन्छन्, तर त्यस्तो होइन ।

०४६ सालपछि प्रतिगमन हुन सक्छ भनेर हामीले बारम्बार भनेका थियौँ । जनता असन्तुष्ट भए भने जनताको आक्रोशलाई सीमित मान्छेले आफ्नो स्वार्थमा प्रयोग गर्छन् भन्दा धेरैले खिसिट्युरी गर्थे । राजा त ठोक्या किलो र बाँध्या दाम्लोमा बसिसके भनेर हामीलाई उडाउँथे । तर, २०५९ सालमा राजा ज्ञानेन्द्रले त प्रतिगमन गरे । प्रधानमन्त्रीलाई नै थुने ।

राजनीतिक पार्टीहरूलाई खोरमा हाले । प्रतिगमनको सम्भावना संसारभरि हुने कुरा हो । जुनसुकै देशको इतिहास हेर्नुस्, प्रतिगमन झेलिएको छ वा त्यो सम्भावना बोकेर आएका छन् । बदलिएको शक्ति र सत्ता सञ्चालन गर्नेहरू चनाखो भए भने मात्रै प्रतिगमनको खतरा टर्ने हो ।

अहिले संविधानमा समाजवादतिर जाने भनिएको छ । तर, व्यवहारमा निजी विद्यालयहरूले अर्बौँ रुपैयाँ लुटिरहेका छन् । स्वास्थ्य निजीकरण छ । जुन देशमा जनताको शिक्षा, स्वास्थ्यमा राज्यले जिम्मेवारी लिँदैन, त्यस्तो ठाउँमा के को समाजवाद ? लेखेर मात्र समाजवाद आउँछ ? त्यहाँ त पुँजीवाद भर्भराउँछ । लुटपाट चलिरहन्छ ।

अहिले जनतामा त्यस्तै असन्तुष्टि छ । राष्ट्रिय कलकारखाना, उद्योगधन्दा थला परेका छन् । अरूले (उद्योगपति÷पुँजीपतिले) पैसा त्यत्तिकै दिन्छ ? उनीहरूले पैसा दिएपछि उनीहरूले भनेअनुसार अघि बढ्नुपर्छ । उनीहरूले भनेको योजनामा काम गर्नुपर्छ । पहिले बाह्य स्वार्थ पूरा गर्ने दुई–चार व्यक्ति मात्र थिए, नेपालमा । अहिले त राजनीतिक शक्ति नै संसद्भित्र छ । अरूको स्वार्थ पूरा गर्ने संगठित शक्ति नै छ, संसद्भित्र ।कुन हो त्यो शक्ति, भन्न मिल्छ कि ? भन्नै पर्दैन । तपाईं हामीले देखिरहेकै छौँ ।

तपाईंहरूले मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्दसँग पनि मोर्चाबन्दी गर्न खोज्नुभएको थियो । त्यो सहकार्य कहाँ पुग्यो ?  
त्यो हुन्छ । अहिले अलि व्यस्त भएर हो । उहाँहरूसँग हाम्रो सहकार्य रहन्छ ।

तपाईं जनमोर्चाको अध्यक्ष भएको २४ वर्ष पुग्न आँट्यो । युवालाई नेतृत्व हस्तान्तरण गर्नेबारे तयारी छैन ? कि नेतृत्व गर्न सक्ने युवा नै छैनन् ? 
बाहिर तपाईंहरू (पत्रकारहरू)लाई मात्र त्यस्तो परेको हो । म ०४४ सालदेखि नेतृत्वमा छु । मैले ०४४ सालदेखि अखिल नेपाल राष्ट्रिय जनमोर्चाको पनि नेतृत्व गरेको हुँ । पार्टीको नेतृत्वमा जाने एउटा जनवादी प्रक्रिया हुन्छ ।

पार्टीको सम्मेलन हुन्छ, महाधिवेशन हुन्छ, बैठक हुन्छ । नेतृत्वमा जाने सामूहिक प्रक्रिया हुन्छ । पार्टीको विधानमा नेतृत्व बाँडफाँड गर्ने उमेर तोकिएको छैन । पार्टीले निर्णय गरेपछि मात्रै नेतृत्वमा पुग्ने हो । रहर पूरा गर्न, महत्वाकांक्षा पूरा गर्न नेतृत्वमा बसेको होइन । पार्टीले निर्णय गरेपछि त भाग्न पाइँदैन नि । सम्मेलन, महाधिवेशनहरू त नेतृत्व हस्तान्तरणकै लागि हुने गर्छन् ! त्यहाँ प्रतिनिधिहरूले कसलाई योग्य ठान्छन्, उनीहरू नेतृत्वमा आउने हो, जबर्जस्ती दिने कुरा होइन ।

नेकपा मसालमा फरक विचार राख्नेलाई कारबाही गरेरै निकालिन्छ भनिन्छ नि ? 
पार्टी अनुशासनमा बस्न नसक्नेहरूले यस्तो आरोप लगाउने हो । पार्टीलाई आफ्नो निजी सम्पत्तिजस्तो ठानेर फाइदा उठाउन खोज्ने अवसरवादीले यस्तो आरोप लगाउने हुन् । पार्टीको नीतिनियममा बसेर विरोध गर्न पाइन्छ । विरोध गर्ने ठाउँ हुन्छ, जहाँ पायो त्यहीँ गीत गाउँदै हिँड्न पाइँदैन । एउटा अनुशासित पार्टीभित्र जनवादी केन्द्रीयता हुन्छ । पार्टीका साथीहरूले आफ्नो समितिमा विचार राख्न पाउँछन् । बाहिर रोइलो गरेर मात्र पार्टी अघि बढ्दैन ।

बाहिरको ट्रेन्ड हेरौँ न, ३० वर्ष त स्टालिनले पार्टी नेतृत्व गरे । माओले कति वर्ष शासन गरे ? त्यो हेरौँ । पार्टीको विधानमा नेतृत्वमा बस्ने उमेर तोकिएको हुँदैन । जबसम्म त्यो मान्छेले पार्टीको नीति, पार्टीको विचार, पार्टीको लाइन बोकेर हिँड्छ भने उसलाई कार्यकर्ताले चुन्ने अधिकार हुन्छ । पार्टीको जिम्मेवारी पूरा नगर्ने, पार्टीको नाम बचेर निजी लाभ उठाउनेहरू बाहिर–बाहिर रोदन गर्दै, कराउँदै हिँड्छन् । तपाईंसँग चुन्ने र चुनिने अधिकार हुन्छ भने बाहिर चिच्याउँदै हिँड्नुको औचित्य छैन ।

अनुशासनमा बसेकै कारण मसाल फुटेको फुट्यै गरेको हो ? 
पार्टीबाट निक्लिएर मान्छे कहाँ गएका छन् ? तिनीहरू जहाँ मिसिएका छन्, ती पार्टी सही छन् भन्ने ठान्नुहुन्छ तपाईंहरू ? अहिलेको नेकपा भताभुंग–लथालिंग किन भएको, थाहा छ ? परबाट हेर्दा नेकपा एउटा देखिए पनि त्यहाँभित्र थुप्रै नेकपा छन् । कांग्रेसको पारा पनि उही हो । केही मान्छेले पार्टी छोड्नुलाई फुट सम्झिनुहुन्न ।

मसाल खुम्चिँदै गएको त हो नि ? यसरी नै पार्टी सकिएला नि ? 
होइन । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिन–स्टालिनले बनाएको पार्टी पनि सकियो । माओत्से तुङले निर्माण गरेको पार्टी कहाँ बाँकी रह्यो र ! होचिमिन्हले निर्माण गरेको पार्टी पनि हरायो । विश्व कम्युनिस्ट आन्दोलन नेपाल पनि पर्छ । निष्ठापूर्वक राज्य तथा जनताको पक्षमा उभिन सजिलो छैन ।

पार्टी सानो भएपछि जनचाहनाअनुसार काम गर्न गाह्रो हुँदैन ?
ठूलो पार्टी भएर कहाँ जनताको हितमा काम गरेका छन् र ? पार्टीहरू सुन्निएर मोटाएको जस्तो देखिएको छ । कांग्रेस एमाले लगातार सत्तामा छन् । माओवादी जनयुद्ध गरे पनि फेरि संसद्मा आएर सत्तामै छ । ठूला पार्टीहरूले केही गरेका छैनन् । मान्छेको रास कहाँ ठूलो छ भनेर होइन, नीति कस्तो छ हेर्ने हो । कम्युनिस्टहरूले आफ्नो स्वार्थ अगाडि राख्ने हो ? नीति सही छ भने आज नभए भोलि ठूलो हुन्छ । कुनै देश अधोगतितिर जान्छ भने त्यहाँ राजनीतिज्ञ वा राजनेताको मात्रै दोष हुँदैन । जनविरोधी काम गर्ने पार्टीलाई बारम्बार चुनेर नेतृत्वमा पु-याउने हामी जनता पनि उत्तिकै दोषी हुन्छौँ । देश विकास जनताको चेतनामा पनि भर पर्छ । 

तपाईं अहिले संसद्मा हुनुहुन्न । जनमोर्चाको अध्यक्ष मात्रै हुनुहुन्छ । अब रिटायर्ड हुने सोच्नुभएको छ कि ? 
म त सक्रिय नै छु । पार्टीले दिएका जिम्मेवारीहरूमा काम गरिरहेको छु । अहिले सांगठनिक काममा बढी लाग्नुपरेको छ । केही दिनपहिले बाग्लुङतिर गएर सांगठनिक काममै १५–१६ दिन बिताएँ । अब इन्डिया जाँदै छु, संगठनकै कामले । जब म काम गर्न सक्दिनँ, तब मैले नेतृत्व हडपेर बस्ने कुरा आउँदैन । सोखका लागि त होइन । पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्न सकिँदैन भने पद हडपेर मात्रै काम छैन ।