मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १ बुधबार ०६:२०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

खराब मौसमका कारण धान खेतमा अवतरण गरिए नौवटा हेलिकोप्टर

तीनवटा अन्तर्राष्ट्रिय विमान डाइभर्ट, एक घन्टा विमानस्थल बन्द

Read Time : > 3 मिनेट
२०७६ असोज १ बुधबार ०६:२०:००

अविरल वर्षाका कारण मौसम प्रतिकूल भएपछि मंगलबार नौवटा हेलिकोप्टर विभिन्न स्थानमा सुरक्षित अवतरण भएका छन् । लुक्लालगायतका क्षेत्रबाट उडेका ११ हेलिकोप्टरमध्ये नौवटा काभ्रे र सिन्धुलीका धानखेतमा अवतरण गरिएका हुन् । खराब मौसमका कारण काभ्रे र रामेछापलगायतका विभिन्न स्थानमा सुरक्षित अवतरण गरेका नौ हेलिकप्टरमध्ये पाँचवटा काठमाडाैं फर्केका छन् ।

मौसममा सुधार आएपछि अल्टिच्युट एयरको एउटा, सिम्रिकको दुई, कैलाशको एउटा र मनाङको एउटा हेलिकोप्टर काठमाडौं फर्किएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए । उनका अनुसार तीनवटा हेलिकोप्टर भने रामेछापको मन्थलीमा छन् । ‘सिम्रिकको एउटा, श्रीको एउटा र समिट एयरको एउटा हेलिकोप्टर आज मन्थलीमै रहनेछन् । एयर डाइनेस्टीको एउटा हेलिकोप्टर भने सुर्केबाट लुक्ला पुगेको छ,’ उनले भने । 

 यात्रु सकुशल 
प्रतिकूल मौसमका कारण अचानक सुरक्षित अवतरण गरेका हेलिकोप्टरमा सवार सबै यात्रु सकुशल रहेको हेलिकोप्टर संघले जनाएको छ । संघका अनुसार प्रत्येक हेलिकोप्टरमा पाँच/पाँचजना यात्रु थिए । काठमाडाैं आइपुगेका पाँचवटा हेलिकोप्टरमा चारजना नेपाली गाइड र अन्य विदेशी यात्रु रहेको कँडेलले बताए । त्यस्तै, काठमाडौं आउन नसकेको हेलिकोप्टरमा दुईजना नेपाली र अन्य विदेशी यात्रु रहेको उनको भनाइ छ । सफा मौसम भएको अवस्थामा लुक्लाबाट काठमाडौं आइपुग्न ४० देखि ४३ मिनेट लाग्छ । मौसम सफा नहुँदा ४० देखि अधिकतम ५२ मिनेटसम्म लाग्छ । 

 तीनवटा अन्तर्राष्ट्रिय र चारवटा आन्तरिक उडान डाइभर्ट
मंगलबार बिहानदेखिको अविरल वर्षासँगै खराब मौसमका कारण तीनवटा अन्तर्राष्ट्रिय र चारवटा आन्तरिक उडान डाइभर्ट भएका थिए । दुईवटा विमान आकाशमै केही समय होल्ड भएका थिए । दिल्लीबाट काठमाडाैंका लागि उडेको इन्डिगो एयर लखनउ डाइभर्ट गरिएको थियो । ल्हासाबाट काठमाडौंका लागि उडेको एयर चाइना ल्हासा नै डाइभर्ट भएको थियो भने बैंककबाट उडेको थाइलाइन एयरलाई ढाका डाइभर्ट गरिएको थियो ।

डाइभर्ट भएका उडानमध्ये इन्डिगो काठमाडौं आइपुगेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । ‘थाइलाइन एयर बेलुका पौने ८ बजेसम्म काठमाडौं आइपुग्नेछ । त्यस्तै एयर चाइना भोलि बिहान आउँछ,’ उनले भने । 

आन्तरिकतर्फ बुद्ध एयरलाइन्सको तीनवटा र श्री एयरलाइन्सको एउटा विमान डाइभर्ट भएको छ । बुद्धको सिमराबाट उडेका दुईवटा विमान र विराटनगरबाट उडेको एउटा विमान डाइभर्ट भएको महाप्रबन्धक क्षेत्रीले बताए । मंगलबार मध्याह्न मौसममा सुधार आएपछि चारवटा विमान काठमाडौं आइपुगेको थियो ।

 एक घन्टा विमानस्थल बन्द
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घन्टा बन्द भएको थियो । क्लाउड बेस लो भएका कारण विमान अवतरण हुन नसकेपछि मध्याह्न १ देखि २ बजेसम्म अवतरणका लागि विमानस्थल बन्द गरिएको हो । गत सातादेखि काठमाडौंलगायतका क्षेत्रमा वर्षा सुरु भएको थियो । तर, मंगलबारको अविरल वर्षाका कारण बिहानैदेखि मौसम खराब भएको थियो । सामान्य मौसम हुँदा दैनिक तीन सय ५० देखि चार सय उडान हुने गरेको छ । 

बिहीबार बेलुकादेखि मौसममा सुधार
गत मंगलबारदेखि सुरु भएको मनसुनी झरी बिहीबारदेखि क्रमिक सुधार आउने भएको छ । मनसुन समय भएकाले वर्षा भए पनि निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन् ।

भारतको उत्तर प्रदेश र मध्य प्रदेशमा स्थिर भई बसेको न्यूनचापीय रेखा नेपालको पूर्वी र मध्य नेपाल क्षेत्रको उत्तरतिर सरेकाले धेरै वर्षा भइरहेको उनको भनाइ छ । ‘बिहीबार बेलुकादेखि न्यून चापीय रेखा बिस्तारै दक्षिणतिर सर्दै जाने देखिएको छ,’ बासीले भनिन्, ‘न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा बंगालको खाडीबाट जलवाष्प नआउँदा वर्षा हुँदैन ।’ 

बुधबार देशैभरि सामान्यदेखि पूर्ण बदली भई काठमाडौं उपत्यकासहित मध्य र पश्चिमी स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । देशका मध्य र पश्चिमी क्षेत्रका एक/दुई स्थानमा वर्षाको सम्भावना छ । बुधबार राति उपत्यकासहित मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भई मध्यम वर्षा हुनेछ 

 कहाँ कति वर्षा 
जल तथा मौसम विज्ञान विभागको मंगलबार बेलुका ६ बजेको तथ्यांकअनुसार सबैभन्दा धेरै वर्षा लुम्लेमा २०८ मिलिमिटर भएको छ । काठमाडौं उपत्यकामा २५ दशमलव ५ मिलिमिटर, धरानमा ८४ दशमलब ४ मिलिमिटर, पोखरामा ७९ दशमलव ६ मिलिमिटर, ओखलडुंगामा ३४ दशमलव ६ मिलिमिटर, भैरहवा ३३ दशमलव १ मिलिमिटर र ताप्लेजुङमा २६ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । 

केही समय विमान  अवतरण रोकिएको हो
राजकुमार क्षेत्री, महाप्रबन्धक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

मंगलबार बिहानैदेखि वर्षा भएका कारण बादल तलसम्म झरेको थियो । त्यसैले करिब एक घन्टाजति विमानस्थल बन्द गरिएको हो । अवतरण लागि मात्रै बन्द गरिएको हो । सामान्यतः भिजिबिलिटी पाँच किलोमिटर हुनुपर्छ । तर, तत्काल भिजिबिलिटी चार किलोमिटर मात्र थियो । बादलको अवस्था असामान्य भएकाले बन्द गरिएको हो । बेलुका साढे ४ बजेपछि मौसममा सुधार आयो । डाइभर्ट भएका सबै विमान काठमाडौं आइपुगेका छन् । एयर चाइना भने भोलि बुधबार बिहान आइपुग्नेछ । 

मौसम खराबीले हेलिकोप्टर सुरक्षित अवतरण गरिएको हो
योगराज शर्मा कँडेल
प्रवक्ता, नेपाल वायुसेवा सञ्चालक संघ

शनिबारदेखि लुक्ला र काठमाडौंमा मौसम त्यति प्रतिकूल छैन । एकछिनमा मौसम खुल्ने र एकछिनमा बिग्रने भइरहेको छ । मंगलबार लुक्ला, सुर्के र अन्य नजिकको स्पटबाट ११ वटा हेलिकोप्टर उड्ने तयारीमा थिए । बिहान सवा ७ देखि सवा ८ बजेसम्म मौसम ठीक थियो । त्यसैले लुक्ला एयरपोर्टबाट अनुमति पाएपछि हेलिकोप्टर उड्न सुरु गरे । सबैभन्दा पहिला उडेको सिम्रिकको हेलिकोप्टर बिहान ८ बजेर १५ मिनेटमा काठमाडौंमा अवतरण ग-यो । दोस्रोमा उडेको कैलाशको ८ बजेर २४ मिनेटमा अवतरण भयो । तर, त्यसपछि उडेका नौवटा हेलिकोप्टर काठमाडौं आउनुअघि नै मौसम खराब भयो । त्यसैले पाइलटले सुरक्षित स्थान हेरी अवतरण गरेका हुन् ।