मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
भारती शर्मा
२०७५ पौष २४ मंगलबार ०९:३१:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

पूर्वाधार आयोजना निर्माणमा ढिलाइ किन ?

विकास आयोजना निर्माणमा ढिलाइ हुन नदिन विभाग र मन्त्रालयहरू ‘डाइनामिक’ भएर आउनुपर्छ, आयोजनाको थालनीमै डिजाइन र सर्भे राम्रो गरिनुपर्छ 

Read Time : > 5 मिनेट
भारती शर्मा
२०७५ पौष २४ मंगलबार ०९:३१:००

 ढिलासुस्तीको  रोग
निकै लामो समयदेखि हामीकहाँ पूर्वाधार आयोजनाहरू तोकिएको समयमा पूरा हुने गरेका छैनन् । यस्तो ढिलासुस्ती एउटा प्रवृत्तिकै रूपमा विकास हुँदै आएको छ । कुनै पनि आयोजना समयमै पूरा नभएपछि त्यसको लागत आकासिँदै जाने गरेको छ । तर, ढिलासुस्तीकै कारण आयोजना नै असफल भएका उदाहरण भने निकै कम छन् । अधिकांश आयोजना असफल भएका छैनन् । पक्कै पनि केही आयोजना भने असफल भएका छन् । तर, ढिला हुने प्रवृत्ति भने निको नहुने रोगजस्तो बनेको छ । यो गम्भीर चिन्ताको विषय हो । यसले न त सरकारलाई अघि बढ्न सहयोग पु-याएको छ, न त आयोजनाबाट लाभान्वित हुने जनताले नै समयमा आयोजनाको लाभ लिन सकेका छन् । यसले आयोजनाबाट उत्साह जगाउने र सरकार तथा आममानिसको आत्मविश्वास बढाउनेभन्दा पनि निराश बनाउने काम गरेको छ । यस्तो प्रवृत्तिमाथि व्यापक सुधार अत्यावश्यक देखिएको छ । 


 अति महत्वाकांक्षा 
सामान्यतः कुनै पनि राजनीतिक नेतृत्वले विकास आयोजना आफ्नो आवधिक चुनावी कार्यकालभित्रै पूरा गर्न चाहान्छ । यो संसारभर नै देखा परेको आमप्रवृत्ति हो । यसका पछाडि पक्कै पनि राजनीतिक लाभको पाटो जोडिएको हुन्छ । आफू निर्वाचित भएपछि फेरि जनतामाझ जान आफ्नो हतियारका रूपमा यी–यी आयोजना यति–यति समयमा सम्पन्न भए भनेर घोषणा गर्न सकियो भने अर्को निर्वाचनमा निर्वाचित हुन सकिन्छ भन्ने सोच राजनीतिज्ञमा हुने गर्छ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर आयोजनामा पर्ने गरेको देखिन्छ । राजनीतिक नेतृत्वले कुर्सीमा पुगेपछि कर्मचारी, प्राविधिक वा आयोजना प्रमुखलाई आयोजना चाँडो सम्पन्न गर्नुप-यो भनेर दबाब दिन्छन् । तर, प्राविधिक काम चिया गफजस्तो हुँदैन । त्यसले परिपक्व हुनका लागि अवश्य पनि समयको माग गर्छ । तर, दबाबले गर्दा प्राविधिकले पनि आयोजना सम्पन्न हुने वास्तविक समयभन्दा अगाडि नै सम्पन्न हुन्छ भनिदिन बाध्य हुन्छ । परिणामतः तोकिएको समयमा आयोजना सम्पन्न नहुँदा सबैतिर निराशा हात लाग्छ । सामान्यतः कुनै पनि आयोजना ढिलाइका पछाडि कुनै एक मात्र कारण जिम्मेवार हुँदैन, अन्य धेरै कारण पनि हुन सक्छन् । तीमध्ये राजनीतिज्ञलाई भोट हात पार्ने लोभले पनि आयोजना वास्तविक रूपमा सम्पन्न हुने समयभन्दा अघि नै सम्पन्न हुनुपर्छ भन्ने दबाबका कारण पनि ढिलाइ भइरहेको देखिन्छ । 

विश्वभर नै पूर्वाधार आयोजनाबारे गरिएका अध्ययन प्रतिवेदनले के निष्कर्ष निकालेका छन् भने ६७ प्रतिशत आयोजना अति महत्वाकांक्षाका सिकार भइरहेका छन् । त्यो अति महत्वाकांक्षाले आयोजना निर्माणमा ढिलाइ भइरहेको देखिन्छ । महत्वाकांक्षा हुनु नराम्रो नै चाहिँ होइन । तर, त्यसको परिणाम जनतामा आयोजना यो मितिमा सम्पन्न हुन्छ भनेर गफ लगाएको वा झुट बोलेको भान पर्छ । र, यसको परिणाम निकै नकारात्मक पनि हुन सक्छ । यसकारण झन्डै दुईतिहाइ आयोजना समयमै सम्पन्न हुँदैनन् । 

इन्जिनियरिङ दक्षता,क्षमता र अनुभव
अर्कातिर संसारभर एकै किसिमको इन्जिनियरिङ दक्षता, क्षमता र अनुभव पनि छैन । विकसित देशले अति महत्वाकांक्षा  राखेर आयोजना निर्माण गरिरहेका छन् भने उनीहरूले त्यो समयमा पूरा गर्न सक्छन् । किनकि त्यो अनुभव, दक्षता र क्षमताले सम्पन्न गर्ने आत्मविश्वास दिलाएको हुन्छ । जबकि विकासशील र अति कम विकसित देशमा यो सम्भव हुँदैन । किनकि छिटो गर्न खोज्दा त्यसले झन् समस्या सिर्जना गर्ने सम्भावना हुन्छ । अर्कातिर, हाम्रो जस्तो देशसित आवश्यक प्राविधिक दक्षता, क्षमता र अनुभव पनि हुँदैन । यसले पनि समस्या थपिरहेको हुन्छ । उदाहरणका लागि मेलम्ची खानेपानी आयोजना चाँडै सम्पन्न गर्ने महत्वाकांक्षा  लिएर मात्र केही हुँदैन । त्यस्ता आयोजना सम्पन्न गरेको यसअघि नेपालसँग कुनै पनि अनुभव नै छैन । धेरैवटा आयोजना सम्पन्न गरेपछि आयोजना छिटो सम्पन्न गर्ने अनुभव हुन्छ र त्यो सम्भव पनि हुन्छ । तर, नेपाल त्यो अवस्थामा पुगेकै छैन । भर्खर ठूला पूर्वाधार निर्माणको प्रारम्भिक अवस्थामा रहेको देशका लागि कठिन अवश्य हुन्छ ।

मेलम्ची खानेपानी आयोजना चाँडै सम्पन्न गर्ने महत्वाकांक्षा लिएर मात्र केही हुँदैन । त्यस्ता आयोजना सम्पन्न गरेको यसअघि नेपालसँग कुनै पनि अनुभव नै छैन । आयोजना छिटो सम्पन्न गर्ने अनुभव हासिल गरेपछि मात्र त्यो सम्भव हुन्छ । 

इन्जिनियरिङमा  ‘इमोसनल’ बन्नु हुन्न
युरोप, अमेरिका वा विकसित देशका प्राविधिकले अध्ययन गरेकै तहमा हाम्रा प्राविधिकले पनि ज्ञान लिएका हुन्छन् । इन्जिनियरिङ ज्ञानको हिसाबमा बराबरी नै हो । उत्तिकै विद्वान् नेपालमा पनि छन् । अध्ययन नभए पनि तालिम लिएका छन् । उही स्तरको ज्ञान छ । अर्कातिर सडक, पुल निर्माणमा त हाराहारीकै दक्षता पाइन्छ । तर, त्यस्ता विज्ञ पनि समयको विषयमा इमोसनल हुन्छन् । भावुक भएर तत्कालीन फाइदाको लोभमा समयमै नसकिने कामलाई पनि सकिन्छ भनेपछि अप्ठ्यारोमा पर्नुको विकल्प हुँदैन । बच्चा जन्मिन ४० हप्ता नै कुर्नुपर्छ । चाँडो हुन्छ भनेर छिटो जन्माउन खोज्यो भने त त्यसमा कमजोरी देखिन थाल्छ । त्यसकारण हामीले कुनै पनि आयोजना सम्पन्न गर्न हतारिन मिल्दैन । आयोजनाको चक्र भने पूरा गर्नैपर्छ । निर्धारित क्रमगत अविच्छिन्नता हुनुपर्छ । त्यसलाई ‘बाइपास’ गर्न सकिँदैन । आयोजना सम्पन्न गर्ने केही आधारभूत मन्त्र छन् । तिनलाई पछ्याउनुको विकल्प हामीमध्ये कसैसित पनि हुँदैन । 

समयमै आयोजना सम्पन्न गर्ने  आधारभूत मन्त्र
ठूला हुन् वा साना, आयोजना समयमै सम्पन्न गर्नका लागि केही यस्ता विषय छन्, जसलाई सबैले अनुसरण गर्नैपर्छ । पहिलो, आयोजनाको ‘बिल अफ क्वान्टिटी’ हो । यो भनेको कति परिमाणको काम हुने हो, त्यसको आवश्यक जानकारी हो । उदाहरणका लागि कुनै आयोजनामा कंक्रिटको काम कति हुने हो, बिम कति चाहिने हो लगायत सम्पूर्ण आवश्यक सामानको जानकारी चाहिन्छ । यसमा सो सामानको मूल्यदर कति हो, काम सम्पन्न गर्न कति समय र कति मानिस आवश्यक पर्छ जस्ता विषय पहिल्यै निर्धारण गरिएको हुनुपर्छ । यो आयोजनाको सम्झौता हुँदाखेरीको विवरण पनि हो । 

दोस्रो, महत्वपूर्ण  विषय समय हो । कसैको पनि दबाबमा परेर समय तोकिनु हुँदैन । वास्तवमा धेरै आयोजनाको म्याद दबाबका कारण तोकिएजस्तो देखिन्छ । तेस्रो विषय आयोजनाको लागत हो । लागत पनि फरक पर्नु हुँदैन । किनकि जति नै धनी देश भए पनि रकम भनेको सीमित नै हुन्छ । तोकिएको रकम सीमाभित्र रहेर खर्च गर्नुपर्छ । त्यसमा पनि कुन काममा कति खर्च गर्ने भनेर बजेट छुट्याइएको हुन्छ । यसकारण कामको विवरणदेखि रकमको विभाजनसम्म स्पष्ट बनाइएको हुन्छ र त्यसलाई सुहाउँदो गरी समयसीमा तोकिएको हुन्छ र हुनु पनि पर्छ । अझ महत्वपूर्ण र्ण विषय त समय ढिला भए थपौँला भन्ने हुन्छ । तर, रकम थप्ने ठाउँ हुँदैन । यसकारण पनि लागतबारे पहिल्यै स्पष्ट हुनुपर्छ र यस क्रममा आउने चौथो विषय हो गुणस्तर नियन्त्रण । यसका पनि तीन चरण हुन्छन् । सो आयोजना निर्माणका लागि कुन र कति साइजका सामान चाहिन्छन् जस्ता विषय निश्चित हुनुपर्छ । त्यो निर्माणस्थलमा आयो या आएन, त्यसको राम्ररी परीक्षण गरिनुपर्छ । कतिपय अवस्थामा तेस्रो पक्षले पनि परीक्षण गर्न सक्छ । त्यस्तै, आयोजना स्थलमा गरेको काम गुणस्तरीय छ भनेर आश्वस्त पार्ने परीक्षण ल्याबमा पनि गरिन्छ । यो अहिले ह्रास हुँदै गएको देखिन्छ ।

 आयोजनाको ‘रेट अफ रिटर्न’
पूर्वाधार आयोजना तोकिएको समयमै सम्पन्न हुनुपर्छ । किनकि त्यो पनि आयोजनाले दिने प्रतिफलमा आधारित भएर निर्माण गरिएको हुन्छ । आयोजना ढिला हुँदै गयो भने अपेक्षित प्रतिफल दिन नसक्ने हुन्छ । यसकारण पनि आयोजना समयमै सम्पन्न गर्नुपर्छ । जति ढिला भयो, त्यसले एकातिर लागत वृद्धि गराउँदै जान्छ भने अर्कोतिर त्यसबाट खोजिएको प्रतिफल पनि आउन सक्दैन वा आए पनि न्यून हुन जान्छ । यसकारण पनि आयोजनामा प्रतिफल महत्वपूर्ण  हुन्छ । उदाहरणका लागि कुनै आयोजना सम्बन्धित क्षेत्रको अर्थतन्त्रमा दुई प्रतिशत योगदान पु-याउने लक्ष्यका साथ निर्माण भएको रहेछ भने ढिलाइले त त्यसमा असर पु-याउँछ नै । अर्कातिर त्यसले बहुपक्षीय असर पनि पु-याइरहेको हुन्छ । यसर्थ, ढिलाइले आयोजना बुढो हुने मात्र नभई प्रजातान्त्रिक सरकारले जनतालाई गरेको प्रतिबद्धता पनि पूरा गर्न नसकेको ठहरिन्छ । यसले समयमै सेवा सुविधा पाउनुपर्ने जनताको अधिकार प्राप्तिमा पनि विलम्ब हुन जान्छ । यसकारण पनि आयोजना समयमै सम्पन्न गर्नुपर्छ । लागत बढ्न नपाओस् भन्ने पक्षमा ध्यान दिनुपर्छ । लागत र समयमा हामी अनुशासित भयौँ भने कुनै पनि आयोजना निर्माणमा ढिलाइ हुनै सक्दैन । 

कसरी रोक्ने ढिलाइ ?
पूर्वाधार आयोजना निर्माण गर्ने एजेन्सीले आफ्नो र संस्थाको क्षमता जति छ, त्यसलाई बढाइ–चढाइ गरी बढी छ भनेर देखाउन कोसिस गरेको हुन्छ । एक किसिमले ‘ओभर स्टिमेट’ गरिएको हुन्छ । त्यो केही मात्रामा स्वाभाविक पनि हो भने कतिपय अवस्थामा दबाबको कारण पनि यस्तो भइरहेको हुन्छ । अर्कातिर आयोजना समयमै सम्पन्न हुनुप¥यो भन्ने जनताको दबाबले पनि काम गर्नका लागि अभिप्रेरित गर्छ । यस्तो चौतर्फी दबाबको अवस्थामा काम गर्दा केही न केही कमजोरी हुन सक्छ । यसले पनि ढिलाइ हुन्छ । अर्कातिर काम सम्पन्न हुन्छ भन्ने अनि आयोजना निर्माण स्थलमा निर्माण सामग्रीसमेत समयमै नपुग्ने वा समस्या भएका कारण पनि निर्माणमा ढिलाइ हुन पुग्छ । ढिलाइ हुन नदिन विभाग र मन्त्रालयहरू ‘डाइनामिक’ भएर आउनुपर्छ । आयोजनाको थालनीमै डिजाइन र सर्भे राम्रो गरिएको हुनुपर्छ । त्यसपछिका चरणमा पनि अनुशासन कायम राख्न सक्नुपर्छ । कागजी काम राम्रो देखाउने होइन, कार्यस्थलमा राम्रो काम हुनुपर्छ । सार्वजनिक गरिने आयोजनाको सम्पन्न हुने मिति र लागतमा अनुशासित हुँदा धेरै विषय सुध्रिएर आउँछन् । अन्यथा, जनताहरू आयोजना सम्पन्न हुने दिन औँला भाँचेर गनिरहनेछन्, हाम्रा आयोजनाहरू थला परिरहनेछन् र सरोकारवाला निकाय र नेतृत्वले सधैँ गाली खाइरहनेछन् । 

(भारती भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव हुन्)