१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ ३१ मंगलबार ११:१९:००
Read Time : > 1 मिनेट
प्रदेश

सिरहामा १३ जना डेंगुका बिरामी

Read Time : > 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार ११:१९:००

सिरहाका १७ स्थानीय तहमध्ये गोलबजारमा नौ र धनगढीमाईमा चार गरी १३ जना डेंगुरोगी पहिचान भएको छ । गोलबजार नगरपालिका स्वास्थ्य शाखा संयोजक पवनकुमार पञ्जियारले पछिल्लोपल्ट वडा नं. ४ मा दुईजना डेंगुरोगी भेटिएको जानकारी दिँदै उक्त वडामा मात्र आठजना र ३ नं. वडामा एक गरी नौजना डेंगुरोगीको पहिचान भएको बताए । 

‘डेंगु पहिचान भएका बिरामीमध्ये प्रायः सबै धरान, विराटनगर र काठमाडौंमा उपचार गरेका छन्,’ संयोजक पञ्जियारले भने । नगरको ४ नं. वडामा एकजना शंकास्पद बिरामीको विराटनगरमा उपचार भए पनि डेंगु हो÷होइन भन्ने यकिन नभएको उनको भनाइ छ । 

त्यस्तै, धनगढीमाई नगरपालिका १२ नं. वडामा दुईजना डेंगु संक्रमित बालक भेटिएपछि शनिबार वडाबाट १० हजार र नगरपालिकाबाट २० हजार रुपैयाँ आर्थिक सहयोग गरी विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय अमृता सार्कीका ६ वर्षीय छोरा अजय र चार वर्षीय सुनीलको वडा र नगरपालिकाको सहयोगमा उपचार जारी रहेको र उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोरिने वडाध्यक्ष राजु श्रेष्ठले बताए । त्यसअघि, धनगढीमाई–४ मा २५ वर्षीय युवक र १३ मा ७० वर्षीय वृद्ध पनि डेंगु संक्रमित रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय सिरहाका भेक्टर कन्ट्रोल निरीक्षक अन्देश्वरप्रसाद चौधरीले बताए ।

स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. नागेन्द्रप्रसाद यादवले भने गोलबजारमा पहिचान भएका डेंगुरोगीको पहिचान र उपचारसम्बन्धी कागजात प्राप्त नभए पनि स्वास्थ्य शाखाको मौखिक रिपोर्टका आधारमा नौजना डेंगुरोगी रहेको जानकारी दिए । उनका अनुसार धनगढीमा एकजना शंकास्पद रोगीको यकिन हुन बाँकी छ । 

नगर क्षेत्रका तीनवटा वडामा चारजना डेंगुरोगी भेटिएपछि नगरको स्वास्थ्य शाखाको आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थीसँग डेंगुसम्बन्धी छलफल, पम्प्लेटिङ, माइकिङ, सर्च एन्ड डिस्ट्रोय अभियान थालिएको छ । साथै, हरेक वडामा सचेतना कार्यक्रम, विषादी छर्ने, नगरपालिकाद्वारा सञ्चालित नयनपुर अस्पतालमा डेंगु परीक्षण थालिएको नगर प्रवक्ता प्रकाश योञ्जनले बताए ।
 
औरहीले थाल्यो  खोजी र नष्ट अभियान
जिल्लाको दक्षिणवर्ती औरही गाउँपालिकाले गाउँपालिका केन्द्र रहेको ५ नं. वडाबाट लामखुट्टेको वासस्थानको खोजी र नष्ट गर्ने अभियान थालेको छ । गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवका अनुसार स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, जनप्रतिनिधिको टोलीले लामखुट्टेको वासस्थानको खोजी र नष्ट गर्ने अभियान गाउँपालिकाका पाँचवटै वडामा सञ्चालन गर्नेछ । ‘गाउँपालिकाको हरकट्टी, तुलसीपुर, पिप्रा प्रपी, इँटाटार र औरहीका सम्भावित ठाउँमा लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई निरन्तरता दिइनेछ,’ गाउँपालिका अध्यक्ष यादवले भने । 

स्वास्थ्य कार्यालय सिरहाका भेक्टर कन्ट्रोल निरीक्षक चौधरीका अनुसार एडिज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले डेंगु ज्वरो हुन्छ । ‘डेंगुको विषाणुबाट संक्रमित पोथी लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकाले त्यस्ता ठाउँको पहिचान गरी तत्काल नष्ट गर्नुपर्छ,’ उनले भने ।