मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ ३१ मंगलबार ११:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

वीरनारायणको सम्मानमा सडक निर्माण

Read Time : < 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार ११:१६:००

इटहरी उपमहानगरपालिकाले एक सय ४४ वर्षसम्म बाँचेका ऐतिहासिक व्यक्ति वीरनारायण माझीको सम्मानमा कालोपत्रे सडक निर्माण गर्ने भएको छ । उपमहानगरले बहुवर्षे गौरवको योजनाअन्तर्गत इटहरी–११ भुसकलुवादेखि वीरनारायण माझीको घर रहेको इटहरी–१० आमझोंगीसम्म पुग्ने वीरनारायण सडक निर्माण गर्न लागेको हो ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिला पूजन गरी सोमबार वीरनारायण मार्गको शिलान्यास गरे । डेढ किलोमिटर दूरी रहेको सो सडक ४ जेठ ०७७ सम्ममा निर्माण सम्पन्न भइसक्नेछ । वीरनारायणका पनाति हरिनारायण माझीले उपमहानगरले आफ्नो हजुरबाको नाममा सडक निर्माण सुरु गरेर उचित सम्मान गरेको बताए ।

इटहरी उपमहानगरका कर्मचारी महेश सुवेदीका अनुसार ०५४ मा जनप्रतिनिधि निर्वाचित भएपछि तत्कालीन इटहरी नगरपालिकाको पहिलो नगरपरिषद् वीरनारायण माझीले नै उद्घाटन गरेका थिए । १९१३ मा जन्मिएका माझीको ०५७ सालमा निधन भएको थियो । वीरनारायण मार्गसँगै इटहरी उपमहानगरले इटहरीमा निर्माण हुने सबै बहुवर्षे सडकको एकै ठाउँमा शिलान्यास गरेको छ । गाउँ क्षेत्रसँग जोडिएका ११ वटा सडकलाई बहुवर्षे सडकका रूपमा उपमहानगरले कालोपत्रे गर्ने भएको हो ।