मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर   काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०९:५५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

पिनासको पहिचान र निदान

Read Time : > 1 मिनेट
मञ्जु टेलर   काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०९:५५:००
डा.बाबुराजा अमात्य
आयुर्वेदविज्ञ

नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएपछि श्वास प्रश्वासमा बाधा पु-याउने रोग हो, पिनास । साइनसहरूको इन्फ्लामेसन हुने भएकाले यसलाई ‘साइनोसाइटिस’ भनिन्छ । 

अनुहारको हाडहरूमा हुने हावा भरिएका खाली भागहरू साइनस हुन्, जो साना–साना प्वालहरू, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरू सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित भई संक्रमण हुन्छ । 

प्रारम्भिक लक्षण

  •  नाक बुझिनु   
  •  शिरमा अत्यन्त पीडा 
  •  नाक सुक्खा हुनु 
  •  श्वासमा दुर्गन्ध 
  •  गन्धबोधमा कमी हुनु 
  •  निरन्तर रुघा लाग्नु 
  •  नाक तथा अनुहारवरिपरि सुन्निएको अनुभव हुनु 
  •  निरन्तर सिँगान बग्नु 
  •  नाकबाट दुर्गन्धित रक्तमिश्रित पहेँलो सिँगान आउनु 
  •  नाकपछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने र घाँटी खसखस हुनु  
  •  साइनस क्षेत्रमा दबाब दिँदा दुख्नु  
  •  स्वर परिवर्तित हुनु  
  •  स्वादग्रहण शक्ति कमजोर हुनु  
  •  बेचैनी बढ्नु  
  •  घाँटी खसखसाउनु । 
  •  थकान महसुस हुनु । 
  •  पटक–पटक हाच्छयुँ आउनु । 

कसरी पत्ता लगाउने 

  •  टाउको दुख्ने र रुघा लाग्ने लक्षणबाट पिनास सुरु हुन्छ । अन्य प्रकारको रुघा सामान्यतया सात दिनमा ठीक हुन्छ । तर, पिनास हुने अवस्थामा रुघा एक दुई–दिनपछि नै रोकिन्छ । यसपछि रुघाले पिनासको रूप धारण गर्छ । पिनास हुँदा प्रायःजसो रुघाखोकी फ्लु दम, श्वास–प्रश्वास प्रणालीको जीर्ण रोगहरू, माइग्रेन, राइनाइटिस, आदि लक्षण पनि देखापर्छ ।  त्यस्तै, पिसाबग्रन्थीवरिपरि दबाउँदा असाध्यै पीडा हुन्छ । 
  •  एक्स–रे वा सिटी स्क्यान गरेर पिनास ग्रन्थीमा कफ जमे/नजमेको पत्ता लगाउन सकिन्छ । 

बच्ने ऊपाय

  •  तातो झोल पदार्थ प्रशस्त पिउने 
  •  तातो र न्यानो खाना खाने 
  •  चिसो मौसमबाट बच्ने 
  •  नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने 
  •  नाक, मुखलाई धुवाँ, धुलोबाट बचाउन माक्स प्रयोग गर्ने 
  •  दुग्धपदार्थ अत्यन्त कम खाने 
  •  भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने 
  •  नियमित प्राणयाम तथा व्यायाम गर्ने 
  •  अत्तर तथा सुगन्धित वस्तुको ज्यादा प्रयोग नगर्ने 
  •  धूम्रपान त्याग्ने 
  •  आवश्यकतानुसार तुलसी एवं बेसार पानी पिउने र बाफ लिने पिनासमा उपयोगी जडीबुटीहरू
  •  बेसार, मोथे, अदुवा, करञ्ज, हिङ, देवदारू, दाडिम, दुवो, केशर, यष्टिमधु, पिप्पली इत्यादि ।

खान र गर्न नहुने कुरा

  •  दही, दूध, माछा, मासु, अन्डा, पिरो, गाढेको अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, कोक फेन्टा, रक्सी, बियरजस्ता पेयपदार्थ खानुहुँदैन । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसालादार खानेकुरा खानहुँदैन । 
  •  नाक बन्द हुँदा जोरले सिँ–सिँ गर्नुहुँदैन । यसो गर्दा कानमा नराम्रो असर पर्न सक्छ । बाफ लिँदा आखा बन्द गर्नुपर्छ र धेरै तातो हुनुहुँदैन ।

 

उपयोगी उपचार नस्यकर्म

  • नाकबाट विभिन्न औषधि पठाएर पिनास एवं नासाका अन्य समस्यामा चिकित्सकको प्रत्यक्ष निगरानीमा आयुर्वेद केन्द्रमा नस्य उपचार गरिन्छ । नस्य कर्मले नासामार्गमा रहेका संक्रमण हटाई नासावरोध ठीक हुन्छ । शिर हलुका हुन्छ ।

पिनास र भ्रम

  •  हाम्रो समाजमा झारफुकबाटै पिनासको उपचार हुन्छ भन्ने भ्रम पनि छ । झारफुकबाट निको नभएपछि मात्रै अस्पताल आउनेहरू पनि छन्  । त्यस्तै, सानो समस्या भए पनि धेरै आत्तिने र अनावश्यक रूपमा चिन्तित हुने र उपचारका लागि धेरै ठाउँमा दौडधुप गर्ने पनि छन् । नाकमा जे समस्या भए पनि पिनास भन्ने चलन छ ।
  • कतिपय रोगहरू निश्चित समयपछि आफैँ निको हुन्छ । बिरामी आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर, निश्चित समयपछि सामान्य खालको पिनास आफैँ निको भएको भेटिन्छ । झारफुक गर्नेहरूले पनि पिनास झारेको भनेर विश्वासमा पार्न अनेक काम गर्ने गरेका छन् । त्यसको कुनै भरपर्दो आधार छैन ।