मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ ३१ मंगलबार ०९:२२:००
Read Time : > 3 मिनेट
सेयर बजार

८ कारोबार दिनमा करिब ७१ अंक घट्यो नेप्से

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ ३१ मंगलबार ०९:२२:००

नेप्से परिसूचक पछिल्लो ८ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको छ । सोमबारसहित नेप्से ८ दिनमा ७० दशमलव ९३ अंक घटेको छ । लगानीकर्ताको मनोबल घटेसँगै बजार निरन्तर ओरालो लागेको हो । नेप्से परिसूचकसँगै नेप्सेको १४ दिने आरएसआई पछिल्लो ६ कारोबार दिनदेखि ओभरसोल्ड जोनमा रहेको छ । प्राविधिक विश्लेषणअनुसार बजारमा बिक्री चाप बढी भएको देखिए पनि बजारमा बिक्री गर्ने लगानीकर्ता कम रहेको छ ।

बजार निरन्तर ओरालो लाग्दा पनि नियामक निकायले लगानीकर्ताको मनोबल बढाउन केही कार्यक्रम सञ्चालन नगरेका कारण बजारले सकारात्मक दिशा नलिएको एक लगानीकर्ताले बताए । कम्पनीहरूले नाफामूलक वित्तीय विवरण सार्वजनिक गरी लाभांश घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा पनि बजार नबढ्नु भनेको लगानीकर्ताको कमजोर मनोबल नै रहेको उनको भनाइ छ । 

बजार सारांश
नेप्से परिसूचक सोमबार १६ दशमलव १८ अंक घटेर १ हजार १ सय २३ दशमलव ८३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव ६६ अंक घटेर २ सय ४६ दशमलव ३५ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन १ दशमलव शून्य ९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव शून्य ४ अंक घटेको छ । यस दिन १ सय ६९ कम्पनीको ७ हजार ५ सय ४७ पटकको कारोबारमा ३४ करोड ३९ लाख १८ हजार २ सय २१ रुपैयाँबराबरको १२ लाख ४८ हजार ४ सय ९ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन १८ दशमलव १५ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव १५ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६९ कम्पनीमध्ये २० कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय ३० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा मंगलबार नेप्से ओरालो लागे १ हजार १ सय १६ दशमलव ८४ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३५ दशमलव ६८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय ९ दशमलव ८६ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ४७ दशमलव ५४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय २८ दशमलव ७० रहेको छ । 

सर्वाधिक गुमाउनेमा  नेसनल लाइफ
यस दिन नेसनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ७ दशमलव शून्य ९ प्रतिशत घटेको छ । सो कम्पनीको सेयरमूल्य आइतबारको तुलनामा ३५ रुपैयाँ घटेर ४ सय ५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कारोबारमा आएको सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ६ दशलमव शून्य ६ प्रतिशत घटेर ६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, युनियन हाइड्रोपावर, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ । यस दिन कम्पनीहरूको सेयरमूल्य वृद्धिदर न्यून रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य यस दिन ३ दशमलव ९८ प्रतिशत बढेर ६ सय २७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । 

११ समूहको परिसूचक घट्यो 
यस दिन कारोबारमा आएका १२ समूहमध्ये व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । सो समूहको परिसूचक यस दिन २ दशमलव २९ प्रतिशत बढेको छ । अन्य समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ६ प्रतिशत घटेको छ ।

त्यसैगरी, जीवन बिमा समूहको परिसूचक २ दशमलव ५९ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव ७८ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव ५३ प्रतिशत, उत्पादनमूलक समूहको १ दशमलव २७ प्रतिशत र वाणिज्य बैंक समूहको १ दशमलव २५ प्रतिशत घटेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ९८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७८ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव ७४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ५० प्रतिशत र वित्त समूहको शून्य दशमलव ३७ प्रतिशत घटेको छ । 

छिमेक लघुवित्तको सेयर कारोबार बढी
यस दिन कारोबार रकमका आधारमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन १ करोड ८० लाख १९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट २७ दशमलव ११ प्रतिशत बोनस सेयर र १७ दशमलव २१ प्रतिशत नगद लाभांश गरी कुल ४४ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही कारण लगानीकर्ता सो कम्पनीतर्फ आकर्षित भएका हुन् । यस दिन नेपाल बैंक, सिटिजन्स बैंक, एनआइसी एसिया बैंक, सिद्धार्थ बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम १ करोड नाघेको छ । 

सेयर संख्याका आधारमा यस दिन सिटिजन्स बैंक अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । सिटिजन्सको यस दिन ६८ हजार ९ सय १५ कित्ता सेयर खरिद–बिक्री भएको छ । यस दिन रसुवागढीको ७ सय २५ पटक सेयर कारोबार भएको छ ।