मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जगन भुसाल
२०७६ भदौ ३१ मंगलबार ०८:५१:००
Read Time : > 1 मिनेट
सप्तरंग

कलाकारको व्यापार यात्रा

फरक धार

Read Time : > 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार ०८:५१:००

०४० सालतिरै कला क्षेत्रमा जोडिएका हुन्, जगन भुसाल । पृष्ठभूमि थियो, रंगमञ्च । नाटकबाट फिल्म क्षेत्रमा आउँदा पनि उनी सफल नै थिए । तर, त्यसबाट मात्र जीवन नचल्ने देखेर ०६२ सालमा थानकोटमा हस्तकला फ्याक्ट्री खोले । त्यससँगै गार्मेन्ट फ्याक्ट्री पनि खोले । उनको हस्तकला उद्योगमा ऊनी र रुद्राक्षका सामान हातबाट बनाइन्छ ।

महिलाले घरमै बसेर बुनेका ऊनीका सामान कारखानामा बुझाएपछि पारिश्रमिक दिन्छन् । ती सामानको बजार भारत र युरोपेली मुलुक हुन् । अहिले उनको मुख्य ध्याउन्न हस्तकलाका सामानको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन हुने गर्छ । गार्मेन्ट फ्याक्ट्रीमा लेडिज र जेन्स वेयर बन्छन्, जुन नेपालमै खपत हुन्छन् । जेबी ह्यान्डिक्राफ्ट, जेबी इन्टरटेनमेन्ट र लीलाबल्लभ–राधिका भुसाल मेमोरियल ट्रस्टका अध्यक्ष हुन्, उनी ।

०००
०४० को दशकमा काठमाडौं सिनामंगलमा पञ्चकुमारी कला परिवार थियो, जसको सहसचिव थिए, भुसाल । नाटक लेखन, अभिनय र निर्देशन आफैँ गर्थे । त्यतिवेला राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह र प्रज्ञा भवन मात्र काठमाडौंमा नाटक मञ्चन हुने थलो थिए । त्यसबाहेक पाल्पा, बुटवल, पोखरा र धनगढीमा आफूले तयार पारेका नाटक मञ्चन गर्थे । राम्रो टिम बनाउँथे र त्यही टिमसँग रमाउँथे ।

०४७ सालको परिवर्तनपछि तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीसँग नजिकिए । त्यसैको परिणाम थियो, नाटक ‘के क्रान्ति सकियो त ?’ बहुदल आउनेबित्तिकैको त्यो नाटकमा अञ्जना लिम्बू र भुसाललगायत कलाकारको अभिनय थियो ।

नाटकमा काम गर्दागर्दै उनी चाबहिलस्थित पशुपति क्याम्पसको स्ववियु सभापति बने र विद्यार्थी राजनीतिमा तानिए । हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगै राजनीतिक गतिविधि गर्थे । राजनीतिका कारण केही समय उनी कला क्षेत्रबाट टाढिए । त्यतिन्जेल उनले २६ वटा नाटक बनाइसकेका थिए ।

नाटकबाट भिडियो, टेलिफिल्म तथा ठूलो पर्दाका फिल्म निर्माण र अभिनयमा जगन भुसाल सफल नै थिए । तर, त्यसबाट मात्र जीवन नचल्ने देखेर हस्तकला र गार्मेन्ट उत्पादन गर्ने दुईवटा फ्याक्ट्री खोले ।

राजनीतिबाट पनि टाढिएपछि उनको कलामोह भिडियो, टेली र ठूलो पर्दाका फिल्मतिर मोडियो । ०५१ सालमा मुनाल घिमिरेहरूसँग मिलेर फिल्म ‘मायालुको गाउँ’को लेखन र निर्माण गरे । फिल्म ‘मन मन्दिर’ पनि बनाए । दुवै फिल्ममा मुख्य भूमिका उनकै थियो । ‘वसन्ती’, ‘महामाया’, ‘ट्याक्सी ड्राइभर’, ‘कर्तव्य’, ‘सिलसिला’लगायत आधा दर्जन फिल्ममा अभिनय गरे, जसको निर्माण र निर्देशन उनको थिएन ।

०५४ सालदेखि उनी टेलिफिल्मतिर लागे । ‘भरोसा’, ‘अनुराग’, ‘अतीत’, ‘किनारा’लगायत आधा दर्जन टेलिफिल्म निर्माण गरे । ती टेलिफिल्ममा मदनदास श्रेष्ठ, मिथिला शर्मा, नवीन श्रेष्ठ, गणेश उप्रेती, मञ्जु श्रेष्ठ, दीपकराज गिरीलगायत चर्चित कलाकारहरूसँग काम गरे, उनले । गणेश उप्रेती र उनी मिल्ने साथी पनि हुन् । सरोज खनाल, रमेश बुढाथोकी, सुनील पोखरेल, गोपाल राउत, अशोक श्रेष्ठ, ओम प्रतीक, पूजा चन्द, अञ्जना लिम्बूलगायत चर्चित कलाकारका समकालीन हुन्, उनी ।

०००
नयाँ पुस्ताले उनलाई नचिन्नु स्वाभाविकै हो । किनकि, फिल्म क्षेत्रसँग करिब आठ वर्षको ‘ग्याप’मा छन्, उनी । यसबीचमा केही म्युजिक भिडियो पनि निर्माण गरे । व्यापार एउटा उचाइमा पुगिसकेकाले उनी फेरि फिल्मी क्षेत्रमै फर्किने तयारीमा छन् । भारतका केही साथीसँग मिलेर नेपाल–भारतको विषयवस्तुमा आधारित फिल्म निर्माण गर्ने योजनामा छन्, उनी । त्यो प्रोजेक्ट सफल भएन भने अर्को नेपाली फिल्म निर्माणको योजना पनि बनाइसकेका छन् ।