Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
समीक्षा बास्कोटा काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०८:४२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

विभेद अन्त्य गर्न आमाहरू उठौँ

अब परिवर्तनको संवाहक बन्ने पालो आमाहरूको हो, जसले छोरालाई घरायसी काम सिकाएर समाजको चरित्र र चित्र बदल्न प्रेरणा दिन्छिन्

Read Time : > 4 मिनेट
समीक्षा बास्कोटा काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०८:४२:००

पितृसत्तात्मक समाजले महिलालाई व्यावहारिक रूपमा कमजोर देखाउँछ । अझै भन्नुपर्दा महिलालाई वस्तुको रूपमा व्याख्या गर्छ । हाम्रै व्यवहारमा, धर्मग्रन्थ तथा सामाजिक मूल्य–मान्यतामा समेत महिलामाथि विभेद गरिएको देखिन्छ । यस्ता विभेदले सिंगोे समाजलाई नै दलदलमा फसाइदिएको छ ।

परापूर्वकालदेखि नै समाजमा कुनै न कुनै रूपमा लैंगिक विभेद चलिरहेको छ । हुन त संसारभरि इतिहासदेखि वर्तमानसम्म यस्ता असमान संस्कारले निरन्तरता पाएकै छ । तर, पछिल्ला केही दशकमा जसरी जताततै लैगिंक हिंसा र विभेदबारे आवाज उठाइए, यी मुद्दाले व्यापक सामाजिक र राजनीतिक मूल्य–मान्यता स्थापित गर्दै गए ।

नेपालमा पनि, प्रजातान्त्रिक व्यवस्था स्थापित हुँदै जाँदा यी मुद्दासँग सम्बन्धित प्रशस्त सकारात्मक कानुनी र परिवर्तनका संकेत देखिएका छन् । यद्यपि, नीतिगत व्यवस्था र व्यावहारिक कार्यान्वयनबीच सन्तोषजनक तालमेल भने देखिँदैन । अहिले पनि हाम्रो समाज विभिन्नखाले विभेदको खाडलमा जकडिएकै छ । अझ स्पष्ट रूपमा भन्ने हो भने, समस्या कानुन वा नीतिमा छ भन्नु भन्दा पनि पहिलो समस्या हामी र हाम्रो व्यवहारमा बढी छ । 

उदाहरणका रूपमा, आफ्नो छोरीको असाध्यै सेवा गर्ने ज्वाइँ कति राम्रो, कति ज्ञानी कहलिन्छ, तर त्यस्तै सेवा र माया आफ्नो छोराले बुहारीप्रति देखाउ“दा ऊचाँहि ‘काम नलाग्ने जोइटिंग्रे’ भइदिन्छ । यो एक विभेद हो, छोरी र बुहारीबीचको । अर्को महत्वपूर्ण पाटो, यसखाले विभेदचाहिँ लैंगिक होस् वा पारिवारिक वा अन्य कुनै, महिला र पुरुष दुवै उत्तिकै भागिदार छन् वा भनौँ कतिपय विभेदको मुख्य दोषी महिला आफैँ पनि हुने गर्छन् । त्यसबाहेक, हरेक  हिंसा र विभेदलाई सहर्ष स्विकार्नु, चुपचाप सहेर बस्नु, आवाज उठाउन नसक्नुजस्ता व्यवहार र क्रियाकलापले पनि हामी महिलाले कुनै न कुनै रूपमा यी असमानतालाई अडिरहन बल पु-याएकै छौँ । अतः पृथक कोणबाट हामीले यी मुद्दाको विश्लेषण गर्नुपर्छ । तब मात्र विभेद र असमानताको सैद्धान्तिक मुद्दाले व्यावहारिक रूपमा सार्थकता पाउनेछन् । यहाँ म यस्तै केही व्यावहारिक प्रश्नलाई कोट्याउने चेष्टा गर्दै छु, जुन हामीले आत्मसात् गर्दै व्यावहारिक तवरमै देखाउनुपर्नेछ । 

कानुनको व्यावहारिक कार्यान्वयन  
नेपालमा लैंगिक समानता र अधिकारका विभिन्न कानुन नबनेका होइनन्, तर कार्यान्वयन र अनुगमन निकै फितलो भइदियो । यी नै पर्याप्त छन् भन्नेचाहिँ होइन । महिला अधिकार र समाजका हरेक गतिविधिमा महिलाको भूमिकाबारे उचित छलफल र मूल्यांकन नगरी अब समाजको रूपान्तरण र समृद्धिको कल्पना गर्न सकिँदैन । त्यसैले सरकार र मातहतका सम्पूर्ण निकाय, राजनीतिक दल र समाजका हरेक तह र तप्काबाट यी कानुन तथा नीति नियमको बलियो कार्यान्वयनमा विशेष ध्यान पु-याउनुपर्छ । त्यस्तै, चौथो अंग मानिने पत्रकारिता क्षेत्रको भूमिका पनि विशेष रहन्छ । समाजका यी मुद्दाको सकारात्मक र नकारात्मक पक्षलाई उजागर गर्न त्यस्तै प्रकारका समाचारलाई प्राथमिकता दिनुपर्छ । यद्यपि, यहा“ सबैभन्दा ठूलो भूमिकाचाहि“ आमनागरिककै रहन्छ । जबसम्म छोरी, बुहारी वा छोरा, ज्वाइँबीच घरभित्र हामी विभेद गरिरहन्छौँ, तबसम्म जति नै राम्रो कानुन बने पनि यो विभेदको खाडल कहिल्यै पुरिन सक्दैन, यस्ता विभेद चलिरहन्छन् । 

जस्तो बिउ रोपिन्छ, भोलि फल त्यस्तै फल्ने हो । त्यसैले हामीले आजैदेखि हरेक विभेदकारी पाठ्यक्रमलाई परिवर्तन गरेर लैंगिक समानता झल्काउने खालका शैक्षिक सामग्री निर्माण गर्नुपर्नेछ ।
 

शैक्षिक सामग्री व्यवस्थापन 
म मेरै कुरा गर्छु । मेरो छोरा अहिले कक्षा १ मा पढ्दै छ । उसको पुस्तकमा म भेट्छु, आमाको भूमिकाबारे ठाउँठाउँमा लेखिएको छ । आमाका कथाहरू छन् । प्रायः सबै पाठमा आमाले खाना पकाउ“छिन्, घर–आँगन बढार्छिन्, लुगा धुन्छिन्, आदि । दिदीले आमालाई घरको कामकाजमा सघाउ“छिन्, दाइभाइ खेल्न जान्छन्, बुबा अफिस जानुहुन्छ आदि । वास्तविक जीवनमा उसले देखेको/भोगेको यथार्थ बिल्कुल फरक छ, उसले देखेको छ, उसकी आमा  दिनभरि अफिसको काममा, विभिन्न भेटघाटमा र सामाजिक काममा व्यस्त हुन्छिन् । उसले विद्यालयमा पढेको कुरा र उसको किताबमा लेखिएको कुराले उसको कलिलो मस्तिष्कमा बढी छाप पारेको छ । होइन बाबु, आमा अफिस पनि जान्छिन् भन्दा ऊ भन्छ, ‘कहाँ हो र ? आमाले घरमा खाना पकाउँछिन्, अफिस त बुबा जान्छन् ।’ दोष कसको ?

मुलुकमा नेता परिवर्तन भए, राजनीतिक व्यवस्था 
परिवर्तन भए, आर्थिक समाजिक रूपान्तरण पनि भइरहेका छन् । तर, शिक्षा प्रणाली र विशेष शैक्षिक पाठ्यक्रम प्रायः परिवर्तन हुन सकेका छैनन् । औपचारिक शिक्षाको प्रमुख थलो विद्यालय नै हो । यो भोलिका कर्णाधार निर्माण गर्ने ठाउँ हो । आजको कलिलो मस्तिष्कमा कस्तो बिउ रोप्ने भन्नेबारे सोच्न आवश्यक छ । जस्तो बिउ रोपिन्छ, भोलि फल त्यस्तै फल्ने हो । स्याउ रोपेर कागती नफल्ने सर्वविदितै छ । त्यसैले हामीले आजैदेखि पाठ्यपुस्तकमा समावेश गरिएका यस्ता हरेक विभेदकारी पाठ्यक्रमलाई परिवर्तन गरेर लैंगिक समानता झल्काउने खालको शैक्षिक सामग्री निर्माण गर्नुपर्नेछ । 

व्यवहार परिवर्तन तथा व्यावहारिक ज्ञान 
महिलाले घरधन्दा सम्हाल्ने मात्र नभई पुरुषसरह अन्य काम पनि गर्न सक्छिन् भन्ने मान्यता बिस्तारै सर्वमान्य हुँदै छ । महिला सशक्तीकरणको क्षेत्रमा व्यापक सकारात्मक परिवर्तन भएका छन् । अहिले महिलाले बिस्तारै घरबाहिरको काम पनि गर्दै छन् । अफिस जाने, व्यक्तिगत वा समूहमा रही आय–आर्जनमूलक काम पनि गर्दै छन् । कोही राजनीतिक क्षेत्रमा सक्रिय हुँदै छन् भने सरकारको विभिन्न निकायमा समेत महिला सहभागिता क्रमिक रूपमा बढिरहेको छ । लैंगिक समानताको मुद्दामा यी उपलब्धि महत्वपूर्ण छन् । तर, यी उपलब्धि अधुरा र अपूर्ण छन् । 

छोरीहरू छोरासरह स्कुल त जान्छन्, तर व्यवहारमा बिहान–साँझ उनीहरू नित्य घरधन्दा र चुलोचौकोमै व्यस्त हुने गर्छन् । छोराहरू खेल्न जान्छन् । त्यस्तै, बुहारी पनि अन्य पुरुषझैँ दिनभरि अफिस त धाउँछिन्, तर घर फर्केपछि छोरालाई जस्तो टिभीको रिमोट समातेर सोफामा आराम गर्ने सुविधा प्राप्त हुँदैन ।

हामीले साँच्चै हाम्रै जीवनकालमा परिवर्तन चाहन्छौँ भने अब छोरीलाई छोरासरह व्यवहारले मात्र पुग्दैन । आजको आवश्यकता भनेको छोरालाई छोरीसरह घरका हरेक गतिविधिमा सामेल गराउनुपर्छ ।

घरका अन्य सदस्यलाई चियाखाजा तयार गरिदिने, खाना बनाउने, बालबच्चाको गृहकार्यमा साथ दिनेलगायत अन्य काम यिनैले गर्नुपर्छ । यो असमानता चलि नै रहेको छ । छोरीलाई हामीले छोरासरह समान अवसर त दियौँ, तर उनले बोकेको अजंगको भारीलाई बराबरी बाँड्ने सोच र क्षमता हामीले देखाउन सकेका छैनौँ । लैंगिक समानता र समाज रूपान्तरणको मामिलामा जबसम्म हामी प्रत्येकले हाम्रै घरभित्र हाम्रा छोरी चेलीले बोकेको भारी बाँड्न सक्दैनौँ तबसम्म यी मुद्दा अधुरै रहन्छन् । असमानता कायम रहन्छ । 

त्यसैले आजका बालबच्चालाई विशेषगरी छोरालाई केही कुरा सिकाउनैपर्ने हुन्छ । आजको परिवेशमा छोराहरूले कमाएर मात्र ल्याउनेभन्दा घरप्रति पनि उनीहरूको उत्तिकै दायित्व हुन्छ भन्ने पाठ पढाउन आवश्यक छ । आमा वा श्रीमतीलाई भात पकाउनदेखि बाहिरको काम गर्नसम्म सघाउन छोराहरूलाई सहभागी गराउन जरुरी छ । भोलिको दिनमा श्रीमतीलाई सहयोग गर्ने र परेको वेला होममेकर हुन पनि सक्छौँ भन्ने पाठ छोरालाई दिन जरुरी छ । किनभने यसले उनीहरूलाई पनि एक किसिमको सामाजिक परिबन्दबाट बाहिर ल्याउन मद्दत गर्छ । छोरालाई पनि घरको काममा उत्तिकै दायित्वबोध नगराउने हो भने कागजी रूपान्तरणमा हामी रमाउनुपर्ने हुन्छ ।

महिला सशक्तीकरणको आवाज जब हरेक घरको भन्साबाट उठेर सदनसम्म पुग्दैन तबसम्म वास्तविक रूपान्तरण कागजमा मात्रै सीमित रहन्छ । त्यसैले हामीले सा“च्चै हाम्रै जीवनकालमा परिवर्तन चाहन्छौँ भने अब छोरीलाई छोरासरह व्यवहारले मात्र पुग्दैन ।

आजको आवश्यकता भनेको छोरालाई छोरीसरह घरका हरेक गतिविधिमा सामेल गराएर सिकाउनुपर्छ । तब मात्र श्रीमती भान्सामा हु“दा श्रीमान् पनि भान्सामा श्रीमतीलाई सहयोग गर्दै हुन्छन् । श्रीमती भन्सा र श्रीमान्को हातमा टिभीको रिमोटले यो समाजमा जति नै सशक्तीकरणको आवाज उठाए पनि र जति नै गतिलो दस्ताबेज बनाए पनि परिवर्तन सम्भव छैन । त्यसैले अब परिवर्तनको संवाहक बन्ने पालो आमाहरूको हो, जसले छोरालाई घरायसी काम सिकाएर समाजको चरित्र र चित्र बदल्न प्रेरणा दिन्छ । अब सा“च्चै पालो हाम्रो नै हो आधा आकाश ढाकेका महिलालाई नेतृत्वमा ल्याउने । 

 

 

 

 

 

 

 

 

 

२कबmष्पअजथब