मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
विराजभक्त श्रेष्ठ काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०८:२७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

सिद्धान्तवादका बाछिटा

Read Time : > 3 मिनेट
विराजभक्त श्रेष्ठ काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०८:२७:००

दुई ध्रुवमा रहेको विश्व राजनीतिको विविधतामा एउटा समान कुरा भनेको अर्थतन्त्र हो । अहिलेको चिनियाँ अर्थतन्त्र र अमेरिकी अर्थतन्त्र जोखेर हेर्दा कुन पुँजीवादी र कुन साम्यवादी भनेर छुट्याउन गाह्रो छ । अर्थतन्त्र एक पद्दति हो । यसलाई सञ्चालन गर्ने राजनीतिक दर्शनको दृष्टिकोणले अर्थतन्त्रका पनि सिद्धान्त बन्न गए ।

कालान्तरमा जब राजनीतिक सिद्धान्त मक्किँदै जान्छन्, अर्थतन्त्रको स्वरूपले पनि समानान्तर गति लिन्छ । अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर आ–आफ्नो राजनीतिक सिद्धान्तको जग बनाएका उदाहरण पनि छन् । तर, तिनै दुई ध्रुवले विज्ञान र सूचना प्रविधिबाट उत्पादन भएको अवसरलाई समेटेर नयाँ परिष्कृत सिद्धान्त बनाउन सकेका छैनन् । यद्यपि, पद्धति र प्रारूपका हिसाबले दुवै विश्वअर्थतन्त्र समान छन् । अमेरिकाको ‘फाइभ जी’ प्रविधिको दौड एकै छ । 

हाम्रोमा अझै रोचक दृश्य छ, सिद्धान्तको । यतिखेर सत्तापक्ष समाजवादी, प्रतिपक्षी पनि समाजवादी र संविधान नै समाजवादउन्मुख छ । अब संसारले हेरिरहेको छ होला– के नेपाल देश समाजवादी देश हो ? यहा“को व्यवस्था र पद्धति कति समाजवादी छ ? के समाजवाद एक सिद्धान्त मात्र हो या एक पद्धति पनि ? यो एक प्रयोग हो भनेर हेर्दा दृश्य फरक देखिन्छ ।

नेपाली सपना र नेपाली समस्या कुनचाहिँ समाजवादले समेट्छ भनेर हेर्दा समाजवादको सिद्धान्त प्रयोगका लागि होइन, राजनीतिक उपयोगका लागि मात्र हो भन्ने देखिन्छ । सिद्धान्त र सिद्धान्तकारको निश्चित समयसीमा हुन्छ । ती ‘वाद’हरूको प्रयोग र चहलपहल पनि सदाबहार रहँदैन । मान्छे र समाजको बहस सिद्धान्तकारमा बढी हुन्छ, सिद्धान्तको समय सापेक्षता वा समाजमा भएका ‘अपडेट’भन्दा पनि बढी हुन्छ । उदाहरणका लागि मानिसले भगवान् बुद्धलाई पछ्याए, तर बुद्धको सिद्धान्तलाई क्रमशः बिर्सिंदै गए । सिद्धान्तको अभ्यास हुन्छ, रूपान्तरण हुन्छ, तर अन्त्य हुँदैन । ऊर्जाजस्तै सिद्धान्त पनि अन्त्य हुँदैन, रूपान्तरण हुन्छ, सुधार हुन्छ । ऊर्जा सिर्जना गर्न सकिन्न र नष्ट पनि गर्न सकिन्न भनेजस्तै सिद्धान्त मनोवैज्ञानिक ऊर्जा नै हो । 

उदार अर्थतन्त्र, नियन्त्रित अर्थतन्त्र, द्वन्द्ववाद, सहमतिवाद आदि मौलिक कुरा हुन् । नेतृत्वको प्रमुख लक्षण भनेको द्वन्द्व न्यूनीकरण हो । द्वन्द्वको बीचबाट सहमति निकाल्ने हो । त्यो लक्ष्य मध्यमार्गबाट सम्भव हुन्छ । दुईवटै ध्रुवको आफ्ना शक्ति र कमजोरी छन् । मध्यमार्गले मात्रै राम्रो कुरा लिएर ‘लेफ्ट राइट्’ गर्दै अगाडि बढ्न सक्छ ।

मध्यमार्गले दुईटैको अस्तित्व स्वीकार गर्छ । जबकि फरक ध्रुवले एकले अर्काको अस्तित्व अस्वीकार गर्दा वैचारिक युद्ध भौतिक युद्धमा परिणत भएका उदाहरण हामीमाझ ताजै छन् । समाज पहिलेदेखि नै बहुआयामिक थियो । अहिले त झन् प्रविधि र सूचना प्रविधिको क्रान्तिले चरम बहुआयामिक बनाएको छ ।

नयाँ पिँढीले दुई ध्रुवका कुरा मात्र स्विकार्ने कुरा भएन । कृषि क्रान्ति औद्योगिक क्रान्ति हुँदै प्रविधि र सूचना प्रविधिको क्रान्तिसम्म आइपुग्दा पनि समाजमा भएको आधारभूत समस्या सुल्झन सकेको छैन । अहिले देखिएको प्रविधि र सूचना प्रविधिको क्रान्ति त एकदमै सुरुवाती चरणमै छ । यसले कुन तहसम्मको गति लिन्छ भन्ने कुरा अहिले अन्दाज गर्नै मुस्किल छ । जस्तै जेम्स वाटले ‘स्टिम इन्जिन’को आविष्कार गर्दा दुई सय १० वर्षमा संसार यहाँ आइपुग्छ भनेर त्यतिखेर कल्पना गर्न सक्ने कुरा नै नभएजस्तै हो ।

बलियोको मात्रै अस्तित्व रहन्छ या परिवर्तनसँगै सुधार र अनुकूलन हुनेको अस्तित्व पनि रहन्छ ? यदि ‘बलियोले नै शासन गर्छ’ भन्ने मानकले विश्वमा राज गथ्र्यो भने डाइनोसर लोप नै हुुँदैन थियो । बरु बिरालोले भौगोलिक र पर्यावरणीय परिवर्तनअनुरूप अनुकूलन ग-यो र अहिलेसम्म अगाडि बढेको छ । परिवर्तन र समयसपेक्ष अनुकूल भएर अगाडि बढ्नु नै प्राकृतिक नियमको सिद्धान्त हो ।

हामीलाई देश चिनेको मान्छे र स्थानीय तहका समस्या बुझेको नेता चाहिन्छ । अब सिद्धान्तवादी नेताले देशलाई निकास दिन नसक्ने देखिसकियो । 

क्षणिकका लागि यो नियमबाहिर जाँदा फाइदा भएजस्तो होला, तर मध्यकाल हुँदै दीर्घकालमा यसले ठूलो क्षति गर्छ । समयसापेक्ष मध्यमार्ग लामो दौडको धावक हो । यो सिद्धान्त मात्र होइन, पद्धति पनि हो । पद्धतिमा परिष्कार सहज हुन्छ । सिद्धान्तमा सुधार असहज हुन्छ । मध्यमार्गले विभिन्न विचार र सिद्धान्तलाई समय र भूगोलअनुसारको आवश्यकतालाई लिएर समानुपातिक रूपमा अगाडि बढ्न मद्दत गर्छ ।

अहिले नेपाल र विश्वलाई पनि समयसापेक्ष तरिकाले एक–अर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्ने समानुपातिक नेतृत्व र पद्धतिको आवश्यकता छ । एक सिद्धान्तले एक तप्काका मानिस र वर्गलाई त एकीकृत गर्छ, सँगसँगै अर्को सिद्धान्त र अर्को तप्कासँग विभाजनको रेखा कोर्छ । सिद्धान्तवादको विकल्प प्रयोगवाद हुन सक्छ ।

एउटा राष्ट्र एउटा एकीकृत पद्धतिभित्र बसेर बलियो हुन सक्छ । समाजवाद या यस्तै कुनै वाद त्यो एकीकृत पद्धति बन्न सक्दैन भन्ने होइन, तर यस्तै बनिबनाउ वादहरू निर्विकल्प भने होइनन् । उदाहरणका लागि नेपाललाई त्यसरी एकीकृत गर्ने पद्धति नेपालको राष्ट्रिय पहिचान हुन सक्छ । बुद्ध दर्शनको मध्यमार्ग नागरिकको कार्यशैली र दल देशको मूल पद्धति किन हुन सक्दैन ?

अब नेपाललाई ठुल्ठूला सिद्धान्तवादी नेताभन्दा पनि समाज बुझेका, देशको समस्या बुझेका, स्थानीय तहका नेता चाहिन्छ । अब निकास दिन सक्ने नेता भनेकै स्थानीयस्तरबाट आउने नेता हुन् । अभियानकर्मी, अधिकारकर्मी, कृषिकर्मी, संस्कृतिकर्मीको समष्टि र तिनलाई समेटेर बनाएको नेपालले मात्र नयाँ नेपाल पाउँछ । नत्र पुरानो व्यवस्थामा र अहिलेकोमा केही फरक हुँदैन । तिनै उत्पादन प्रणाली र तिनै विचार प्रणालीले नयाँ दर्शन स्थापित हुन सक्दैन ।

बरु समयसापेक्ष सुधारसहितको मध्यमार्गी पद्धतिले बिस्तारै अहिलेको अवस्थामा सुधार गर्न सक्छ । हामीलाई देश चिनेको मान्छे र स्थानीय तहका समस्या बुझेको नेता चाहिन्छ । अब सिद्धान्तवादी नेताले देशलाई निकास दिन नसक्ने देखिसकियो । हामीले ००७ सालदेखि हे-यौँ । पञ्चायत, प्रजातन्त्र, गणतन्त्र हे-यौँ । अब हामीलाई स्थानीय तहदेखि नै भूगोल बुझेको, समाज बुझेको र नेपाल बुझेको नेतृत्व चाहिन्छ । तिनै स्थानीय नेतृत्वको सामूहिक विवेकले राष्ट्रिय पद्धति, राष्ट्रिय नीति, राष्ट्रिय पहिचान र राष्ट्रिय नेतृत्व स्थापित हुन सक्छ ।