मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
डा. माधवी भट्ट काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०८:२२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

चुनौतीमय नेपाल भ्रमण वर्ष

अबका दिनमा हामीले परम्परागत पर्यटनमा मात्र निर्भर नभई ‘मेडिकल पर्यटन’ र ‘इको पर्यटन’मा पनि ध्यान दिन सक्नुपर्छ

Read Time : > 4 मिनेट
डा. माधवी भट्ट काठमाडाैं
२०७६ भदौ ३१ मंगलबार ०८:२२:००

विश्वका धेरै देशमा अर्थतन्त्रको बलियो आधार बनेको छ पर्यटन । नेपालजस्तै प्राकृतिक विविधता भएका देश पर्यटक आकर्षित गरेर धनी भएका उदाहरण धेरै छन् । नेपालमा पनि सरकारले अघि सारेको समृद्धिको सपना साकार पार्ने एउटा दरिलो आधार बन्न सक्छ पर्यटन । तर, हामीकहाँ पर्यटन प्रवर्धन र विकासका लागि पूर्वाधार तयार गर्न भने बाँकी नै छ । अबका दिनमा हामीले परम्परागत पर्यटनमा मात्र निर्भर नभई ‘मेडिकल पर्यटन’ र ‘इको पर्यटन’मा पनि ध्यान दिनुपर्ने देखिन्छ । सरकारले प्रचारमुखी कार्यक्रम होइन, पर्यटकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका ससाना विषयमा समेत ध्यान पुर्‍याउन आवश्यक छ ।

नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा मात्रै १५ लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ, पर्यटन मन्त्रालयले । पर्यटन वर्षका लागि योजना बुन्दै गर्दा गत फागुनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले अलपत्र बनेको पर्यटन मन्त्रालय नेकपाका अर्का युवा नेता योगेश भट्टराईले सम्हालेको धेरै भएको छैन । मन्त्री बनेको छोटै समयमा सक्रियता बढाएका भट्टराईले पर्यटकलाई आकर्षित गर्न केही महत्वपूर्ण निर्णय गरेका छन् । यद्यपि कतिपय निर्णय आफैँमा विवादास्पद बनेका छन् र कार्यान्वयन नुहुँदै फिर्ता लिनुपर्ने अवस्था देखिएको छ ।

पशुपतिमा सन्ध्याकालीन आरती प्रारम्भ गर्नुअघि राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था आफैँमा खराब थिएन होला । तर, हाम्रो परम्परागत सांस्कृतिक यथार्थले त्यो स्वीकार गरेन । किनकि मठ, मन्दिर र घाटहरू राष्ट्रप्रेम नापिने ठाउँ नभई आध्यात्मिक भावनाको गहिराइमा डुबुल्की मार्ने र शान्ति खोजिने ठाउँ हुन् ।

पर्यटकहरू पशुपतिमा नेपालीको राष्ट्रप्रेम अनुभूत गर्न नभई पूर्वीय जगत्को मृत्युपश्चातका कर्म र शाश्वत सत्यलाई अनुभूत गर्न ओइरिन्छन् । नागा बाबाको किंवदन्तीजस्ता लाग्ने जीवनशैलीलाई नियाल्न चाहन्छन् र नेपाली धार्मिक सांस्कृतिक पक्षलाई अनुभूत गर्न चाहन्छन् । यस्ता क्षणिक प्रचारका काम छाडेर केही सामान्य कुरामा ध्यान पु-याउन सक्ने हो भने भ्रमण वर्षले लक्ष्य पूरा गर्नेछ । साथै, केही दीर्घकालीन योजना अघि सारियो भने दिगो पर्यटन विकास हुन सक्छ । 

पर्यटकले विमानस्थलमा झेल्नुपर्ने समस्या
नेपालमा अहिले युरोप र अमेरिकाबाट मात्र पर्यटक आउने होइनन् । एसियाका उदाउँदा देश र अफ्रिकाका अनकन्टार मुलुकबाट पनि पर्यटक नेपाल आउँछन् । तिनका लागि सहज रूपमा मुद्रा सटहीको व्यवस्था जरुरी पर्छ । दुर्भाग्यवश नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल न त उत्साहपूर्वक पर्यटकको स्वागत गर्छ, न त तिनका लागि सहज विदेशी मुद्रा सटहीको व्यवस्था गर्नै सक्षम छ ।

विदेशबाट आउने कुनै व्यक्तिले अध्यागमन पास गर्नुअघि मुद्रा साट्न चाह्यो भने उनले त्यहाँ नेपाल राष्ट्र बैंकको शाखा भेट्दैन । न त त्यहाँ अन्य कुनै सरकारी वा निजी बैंकको उपस्थिति नै छ । विदेशबाट आउने जोकोहीसामु देखिने ‘हिमालय मनी एक्सचेन्ज’ले विदेशी पर्यटकको मात्र होइन, खाडी र मलेसियालगायत देशबाट आउने नेपाली श्रमिकको समेत शोषण गर्छ । गत ६ भदौमा मलेसियाबाट नेपाल फर्किंदा सयभन्दा कम दरका मलेसियन ‘रिंगिट’ साट्न जाने नेपालीलाई सो मनी एक्सचेन्जले अपमानजनक शैलीमा फर्काइदिएको दृश्य प्रत्यक्ष देखेको थिएँ मैले ।

मलेसियाबाट फर्काइएका भिसाविहीन नेपाली श्रमिक मलेसियाको क्वालालम्पुर इन्टरनेसनल विमानस्थलदेखि हवाईजहाजमा मलेसियनबाट अपमान झेल्दै आएका थिए । देशको विमानस्थलभित्रको अवस्था पनि उनीहरूका लागि सहज थिएन । त्यहीँ विदेशी पनि थिए, जसका खुद्रा पैसा साट्न मिल्दैन भन्दै फिर्ता गरिएको थियो । सो मनी एक्सचेन्ज किन त्यहाँ स्थापना भयो ? के र कुन परिस्थितिले अन्य बैंकलाई त्यहाँ निषेध गरियो भन्ने चासो राख्दा थाहा भयो, हिमालय मनी एक्सचेन्ज त ठूलै शक्तिको आडमा स्वदेशी तथा विदेशीमाथि अत्याचार गर्दो रहेछ । पटक–पटक हटाउन खोजिए पनि सम्बन्धित निकाय असफल भएको भन्ने बुझियो । अदालतको स्टे अर्डर ल्याएर पुनः सञ्चालनमा आएको भन्ने पनि सुनियो । जब शासन व्यवस्थाभन्दा व्यक्ति बलियो हुन्छ, तब नागरिकहरू पाइलैपिच्छे लुटिन्छन्, ठगिन्छन् । अनि जनतामा असन्तुष्टिका ज्वारभाटा फुट्छ । 

पर्यटकलाई आकर्षित गर्न प्रविधिमैत्री हुन र उनीहरूको नेपाल बसाइ सहज र सुरक्षित बनाउन ज्यादै कठिन छ । हाम्रो विमानस्थल पटक्कै प्रविधिमैत्री छैन । हातमा बोकेको डेबिट वा क्रेडिट कार्ड विमानस्थलमा नचलेर हैरान भएका पर्यटकलाई देख्दा लाग्छ, यिनीहरू दुई दिन पनि कसरी टिक्लान् नेपालमा ? ‘अन अराइभल’ भिसामा नेपाल प्रवेश गरेका टुरिस्टले भिसा शुल्क तिर्न कति झन्झट भोग्छन् भन्ने विषय पर्यटनमन्त्रीले बुझ्न आवश्यक देखिन्छ ।

नेपाली अध्यागमनमा ‘मे आई युज क्रेडिट कार्ड’ भन्ने पर्यटकले कहिल्यै ‘यस’ भन्ने जवाफ भेट्दैनन् । विमानस्थल अध्यागमनमा डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने मेसिन नकिनिएका होइनन्, तर ती कहिल्यै चल्दैनन् । पर्यटकले कार्ड नचल्दा भोग्ने हैरानीको सीमा नै छैन भन्ने अनुभव त्यहीँ खटिएका सरकारी कर्मचारीको छ । अध्यागमन कर्मचारी भन्छन्– पर्यटक गुनासो गर्दैनन् । त्यसैले उनीहरूका समस्याको सुनुवाइ हुँदैन । विमानस्थलभित्रका व्यापारी र बिचौलियाको जालो यति बलियो छ कि हामी कर्मचारीले बोल्यो भने भोलि हाम्रै सरुवा हुन्छ । मन्त्री भट्टराईलाई यस प्रकरणमा गम्भीर हुन यसै लेखमार्फत अनुरोध छ ।

सवारी–साधनको सास्ती 
विमानस्थलमा यातायात प्रणाली पटक्कै पर्यटकमैत्री छैन । आफ्नै देशबाट होटेल बुक गरेर वा ट्राभल एजेन्सीमार्फत आएका पर्यटकलाई होटेलले नै रिसिभ गर्छन् । अन्यथा, उनीहरूले यातायातको समस्या विमानस्थलदेखि नै भोग्छन् । नेपालले पर्यटकमाथि हुने ठगीलाई आँखा चिम्लेर संस्थागत गरेको छ भन्ने महसुस पनि गर्छन् । पर्यटक ट्याक्सी भनी हरियो नम्बर प्लेटका ट्याक्सीको लर्को छ, विमानस्थलमा तर ती ट्याक्सी कहिल्यै मिटरमा चल्दैनन् । विश्वका अधिकांश देशमा ट्याक्सीले तत्कालै प्रिन्ट गरेर रिसिप्टसमेत दिन्छन् । नेपालमा भने मिटरमा समेत चल्दैनन् 
ट्याक्सी । विमानस्थलमा रहेका हरियो नम्बर प्लेटका ट्याक्सीको सिन्डिकेट तोड्न मात्रै सके पनि धेरै पर्यटकले राहत महसुस गर्नेछन् । काठमाडौँको सडक र सार्वजनिक सवारी पर्यटकका लागि हुँदै होइन भने जस्तो छ । आमसवारीमा तत्कालै आमूल सुधार गर्न नसकिएला, तर अंग्रेजीमा नामकरणलगायत सामान्य सुधार भने गर्न सकिन्छ । आमव्यवसायीका नजरमा मानौँ पर्यटक अन्तरिक्षयात्री हुन्, पैसाको भारी बोकेर आएका हुन्छन्, त्यसैले उनीहरूलाई ओभर चार्ज गर्नुपर्छ । यो मानसिकताबाट नेपाली समाज मुक्त हुनैपर्छ । शब्दमा हरियो नम्बर प्लेटका ट्याक्सी र बसलाई पर्यटकमैत्री भनिए पनि व्यवहार ठ्याक्कै उल्टो छ । अन्यथा हरियो नम्बर प्लेटले एक पैसा पनि बढी शुल्क असुल्न मिल्दैन । मन्त्री भट्टराईले क्रान्तिकारी काम गर्ने हो भने हरियो नम्बर प्लेट प्रथा नै खारेज गर्न सक्नुपर्छ ।

हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल पटक्कै प्रविधिमैत्री छैन । हातमा बोकेको डेबिट वा क्रेडिट कार्ड विमानस्थलमा नचलेर हैरान भएका पर्यटकलाई देख्दा लाग्छ, यिनीहरू दुई दिन पनि कसरी टिक्लान् नेपालमा ?
 

पर्यटकमैत्री शौचालय
पर्यटक आकर्षित गर्न ठुल्ठूला योजना र सपना मात्र पर्याप्त हुँदैन । खासमा त्यस्ता ठूला योजना कहिल्यै कार्यान्वयन नहुन पनि सक्छन् । काठमाडौँमै हेरौँ त, ठमेललाई छाडिदिने हो भने एउटा झोले र फिरन्ते पर्यटकलाई खान र स्वतन्त्र हिँडडुल गर्नसमेत सकस हुन्छ । उसले हिँडिरहेको वेला सफा शौचालय पाउँदैन । काठमाडौँमा सार्वजनिक शौचालयको दुरवस्थाका कारण खुला दिशा–पिसाब गर्न पर्यटकसमेत बाध्य छन् । उनीहरू कीटाणु र दुर्गन्धले अत्तालिएर हिँडेका छन् ।

सडकमा सार्वजनिक शौचालय नभेटेपछि स्वाभाविक रूपमै कुनै पनि पर्यटकको रोजाइ नजिकैको रेस्टुरेन्ट वा खाजा घर नै हुने गर्छ । हाम्रा खाजा घर नै व्यवस्थित छैनन् । व्यवस्थितजस्ता देखिने र चिटिक्क परेका होटेल रेस्टुरेन्टमा पनि शौचालय स्वदेशी वा विदेशी ग्राहक छिर्न सक्ने खालका भेटिँदैनन् । पर्यटन वर्षका लागि आधारभूत विषय भनेको सार्वजनिक शौचालयको व्यवस्था पनि हो । नेपालीझैँ बाध्यतावश पनि विदेशी पर्यटकलाई खुला शौच गर्न संकोच र सन्त्रास दुवैले कठिन हुन्छ । दिशा–पिसाब च्यापेर हिँड्दा उसको नेपाल भ्रमण ‘लाइफ लङ’ बल्झिरहने ‘ब्याड मेमोरी’ बन्न सक्छ ।

मेडिकल टुरिजमको सम्भावना
सरकारको महत्वाकांक्षी पर्यटन योजना सफल बनाउन नेपालले मेडिकल टुरिजममा समेत ध्यान दिनुपर्ने देखिन्छ । यसका लागि योजना आवश्यक हुन्छ । कतिपय पश्चिमा पर्यटक दाँत, आँखा र फिजियोथेरापीका लागि नेपाललगायत कम खर्चिला देशको भ्रमण गर्छन् ।

युरोप र अमेरिकामा सामान्य दाँतको उपचारमा खर्च हुने रकमले उसले नेपाल भ्रमण र उपचार दुवै काम सम्पन्न गर्न सक्छ । त्यसैले नेपालले मेडिकल पर्यटनमा ध्यान केन्द्रित गर्न ढिलो भइसकेको छ । ती स्वास्थ्य संस्थाको सरकारले नियमन गर्न आवश्यक देखिन्छ । पर्यटकले गुणस्तरीय र सुरक्षित सेवा पाउने सुनिश्चितता गर्नु राज्यको पनि दायित्व हो । पर्यटककै कारण नेपालको पर्यावरणमा समस्या पनि उत्पन्न भएको छ । तसर्थ, पर्यावरण र स्थानीय संस्कृतिप्रति उत्तरदायी बनाउन इको टुरिजममा पनि सरकारले ध्यान केन्द्रित गर्नु जरुरी छ ।

अन्त्यमा
त्रिभुवन विमानस्थलमा आधुनिक पूर्वाधारको विकास गर्न सरकारले योजना ल्याउनुपर्छ । कोटेश्वरको पूर्वपट्टि जडीबुटीचोकदेखि पेप्सिकोला जाने सडकको पश्चिमपट्टिको भाग विमानस्थलले अधिग्रहण गर्ने योजना पञ्चायती सरकारकै हो, तर पछिल्लो समयमा यो मुद्दा ओझेलमा परेको छ । यस खण्डमा अत्याधुनिक नयाँ विमानस्थल टर्मिनल बनाउन सरकारले योजना अघि सार्नुपर्छ । त्यहाँबाट भूमिगत टनेल बनाई यात्रुलाई जहाज चढ्ने ठाउँसम्म पु-याउन सकिन्छ । यसरी विमानस्थलको मुहार फेर्ने हो भने ट्रान्जिट पर्यटक बढ्ने निश्चित छ र नेपालले पनि विकासको क्रम पछ्याएको सन्देश विदेशीसम्म पुग्छ ।