मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ ३१ मंगलबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ

सहिद परिवारलाई ३८५ रुपैयाँमै ७ लाख दुर्घटना बिमा

बिमा कम्पनीले संविधान दिवसका अवसरमा असोज ३ गते सहिद परिवारका लागि सहुलियतपूर्ण बिमा योजना घोषणा गर्ने योजना बनाएका छन्

Read Time : < 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार ०७:५९:००

बिमा कम्पनीले सहिद परिवारका लागि ३ सय ८५ रुपैयाँमै ७ लाखको दुर्घटना बिमा योजना ल्याउने भएका छन् ।  बिमा समितिको निर्देशनअनुसार बिमा कम्पनीहरूले तयार पारेको सहिद परिवार ‘दुर्घटना बिमा स्किम’मा छुटसहित थोरै प्रिमियम तिर्नुपर्ने योजना ल्याउन लागेका हुन् । समितिले असोज ३ गते संविधान दिवसका अवसरमा सहुलियतपूर्ण बिमा योजना घोषणा गर्ने तयारी गरेको छ । 

अर्थ मन्त्रालयमा भदौ १८ गते बसेको बैठकले संविधान दिवसका अवसरमा बैंक तथा वित्तीय क्षेत्रले कुनै न कुनै नयाँ स्किम ल्याउनुपर्ने निर्णय गरेको थियो । मन्त्रालयले बिमा कम्पनीको सहभागितामा सहिद परिवारलाई दुर्घटना बिमामा सहुलियत कार्यक्रम घोषणा गर्नसमेत निर्देशन दिएको थियो । 

त्यसपछि निर्जीवन बिमा कम्पनीले सहिद परिवारको ७ लाख रुपैयाँबराबरको दुर्घटना बिमा गर्ने भएका हुन् । कम्पनीहरूले सहिद परिवारका लागि प्रति १ लाखमा १ सय रुपैयाँ बिमाशुल्क निर्धारण गरेका छन् । त्यसमा पनि ५० प्रतिशत छुट दिने भएका छन् ।

 ‘७ सयमा ५० प्रतिशत छुट दिँदा ३ सय ५० रुपैयाँ पर्न आउँछ,’ बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्रीले भने, ‘त्यसमा पनि आफैँ बिमा गर्न आए १० प्रतिशत छुट पाइन्छ । यसरी ७ लाखका लागि ३ सय १५ रुपैयाँ मात्र प्रिमियम तिरे पुग्छ ।’ तर, हुलदंगा जोखिमबापत बिमितले ८५ रुपैयाँ थप तिर्नुपर्नेछ । यो योजनाले एक वर्षसम्म सुरक्षा प्रदान गर्नेछ ।

 सहिद परिवारको प्रमाणपत्र पेस गर्नुपर्ने 
सहिद परिवारका सदस्यले प्रमाण पेस गरेपछि मात्र यो सुविधा पाउनेछन् । सरकारले प्रदान गरेको सहिद परिवारको परिचयका आधारमा सुविधा उपलब्ध गराइनेछ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बिमा कम्पनीलाई दुर्घटना बिमा स्किमबारे सुझाब दिन निर्देशन दिएको जानकारी दिए । गृह मन्त्रालयका अनुसार १४ देखि १५ हजार सहिद परिवार छन् ।