मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ भदौ ३१ मंगलबार ०७:४४:००
Read Time : > 1 मिनेट
समाचार

अम्रिसोबाटै मनग्य आम्दानी : बाँझो बारीमा धमाधम अम्रिसो

Read Time : > 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार ०७:४४:००

पूर्वी पहाडी जिल्ला संखुवासभाका किसानले अम्रिसोबाट राम्रो आम्दानी गर्ने गरेका छन् । सदरमुकाम खाँदबारी नगरपालिकाभित्रका सेकाहा, भोटेबाँस, रमिते, माल्टा र आङ्लालगायतका ठाउँमा अम्रिसोको उत्पादन राम्रो हुने गरेको छ । त्यसैगरी चिचिला, नुम, सभापोखरी र सिलिचोङ गाउँपालिकाका स्थानीयले पनि अम्रिसोबाट मनग्य आम्दानी लिँदै आएका छन् । त्यसका साथै दक्षिणीतर्फ रहेको धर्मदेवी, चैनपुर, पाँचखपन र मादी नगरपालिकाले समेत अम्रिसोबाट बर्सेनि राम्रै आम्दानी लिने गरेको किसानले बताएका छन् । 

जिल्लाका १० वटै स्थानीय तहभित्रका विभिन्न ग्रामीण गाउँ–गाउँमा अम्रिसो खेती राम्रो फस्टाइरहेको छ । केही पनि राम्रोसँग उत्पादन नहुने भिरालो र पाखोबारीमा अहिले अम्रिसो खेती फस्टाइरहेको चिचिला गाउँपालिका–१, चिचिला बजारका स्थानीय दिप्तीप्रसाद काफ्लेले बताए । उनले चिचिला बजारनजिकै पाखोबारीमा अम्रिसो खेती गरेका छन् ।

अम्रिसोबाट बर्सेनि राम्रो आम्दानीसमेत लिने गरेको उनले बताए । पोखरी गाउँका नरबहादुर गुरुङले अम्रिसोलाई अन्य बालीनालीजस्तो मलजल पनि गर्नु नपर्ने, तर नगद आम्दानी दिने भएकाले यसको खेती गरेको बताए । गुरुङले केही वर्षअघिदेखि आफ्नो पाखोबारीभरि व्यावसायिक रूपमा अम्रिसो खेती गर्दै आएको जनाएका छन् । अम्रिसोले वार्षिक रूपमा ६०÷७० हजार रुपैयाँको हाराहारीमा आम्दानी दिने गरेको गुरुङले बताए । उनी भन्छन्, ‘१० पाथी मकै र कोदो नफल्ने पाखोबारी, त्यत्तिकै बाँझो भएर बस्नुभन्दा अम्रिसो रोपेको यसबाट ६०÷७० हजार रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको छ ।’

जोगबनी–किमाथांका–कोसील्हासा राजमार्ग सडकको पहुँच भएकाले चिचिलामा नै व्यापारीहरू कुचो खरिद गर्न आउने भएकाले यसको खेतीतर्फ किसानको आकर्षण बढेर गएको हो । अम्रिसोको कुचो उत्पादन भएपछि बजारको समस्या नरहेको किसान बताउँछन् । चचिला बजारका स्थानीय गोपाल गुरुङले उत्पादन गर्न सके अम्रिसो सजिलो गरी बिक्री हुने गरेको र जमिन बाँझो राख्नुभन्दा केही लगाउनु उपयुक्त हुने गरेकाले यसको खेती गर्ने गरेको बताए ।

घर सफा गर्न अत्यावश्यक कुचो बनाउने, गाउँघरमा घर छाउन प्रयोग हुने सिरुखरको समेत अभाव हुँदै गएकाले विकल्पका रूपमा अम्रिसोले छाउने गरेकाले यसको महत्व अझ बढेर गएको स्थानीयको भनाइ छ । यहाँ उत्पादित अम्रिसो छिमेकी जिल्ला धनकुटा, धरान, सुनसरी र मोरङमा समेत निर्यात हुन थालेको छ ।

धर्मदेवी नगरपालिका माम्लिङका स्थानीय कमला गुरुङले अम्रिसो हुर्काउन किसानले खासै परिश्रम गर्नु नपर्ने बताउँछिन् । ‘गाईबस्तु र खसीबाख्राबाट मात्र जोगाउने हो भने यसबाट सोचेभन्दा बढी आम्दानी लिन सकिँदो रहेछ,’ उनले भनिन्, ‘अहिले यहाँका किसानको वार्षिक अम्दानीको मुख्य स्रोत अम्रिसो बनेको छ ।’ यसबाट हुने अम्दानीले किसानलाई छोराछोरी पढाउन र चाडपर्व मनाउन सजिलो भएको उनले बताइन् ।

स्थानीय खाँदबारी, चैनपुर र तुम्लिङटारका बजारमा एउटा अम्रिसोको कुचोलाई ५० देखि ६० रुपैयाँसम्म पर्ने गर्दछ । पहिले–पहिले बाहिरबाट तयारी कुचो ल्याएर बिक्री गर्दै आएकोमा गत वर्षदेखि आफैँले अम्रिसो किनेर कुचो बनाई बिक्री गर्न थालेको खाँदबारीका स्थानीय व्यापारी बताउँछन् । पहिले किसानले इलाम र धनकुटालगायतका स्थानबाट यसको बिरुवा ल्याउने गरेको भए पनि अहिले यहीँका किसानले बिरुवा उत्पादन गर्न थालेकाले सजिलो भएको छ ।