Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ ३१ मंगलबार ०७:३३:००
Read Time : > 1 मिनेट
प्रदेश

सिंगटी बजारको पहिरो पन्छाइँदै

Read Time : > 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार ०७:३३:००

२५ र २६ भदौमा आएको अविरल बर्खापछि पहिरोको मारमा परेको सिंगटी बजारको पहिरो व्यवस्थापनको काम सुरु भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकपछि पहिरो व्यवस्थापनको काम सुरु भएको हो । 

आइतबार जिल्ला समन्वय समिति दोलखाको सभाहलमा भएको सर्वपक्षीय छलफलमा सिंगटी क्षेत्रमा काम गरिरहेका विभिन्न निकायहरू मिलेर तत्काल उक्त पहिरो व्यवस्थापन गर्ने सहमति भएको थियो ।

दोलखाको उत्तरी क्षेत्र स्थित मुख्य व्यापारिक केन्द्र सिंगटी बजारमा पोखरे सडकखण्डबाट आएको भल पसेको थियो । त्यस क्षेत्रमा क्रियाशील दोलखा सिंगटी सडक आयोजना, सिंगटी हाइड्रोपावर, कालिञ्चोक र बिगु गाउँपालिका, उद्योग वाणिज्य संघ, स्थानीय बजार व्यवस्थापन समिति, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत निकाय मिलेर सिंगटी पहिरो व्यवस्थापन गर्ने सहमति भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुुख डबल पाण्डेले जानकारी दिए । 

पहिरो पन्छाउन सबै जुटे
आइतबार भएको सहमतिअनुसार सोमबारबाट पहिरो व्यवस्थापनको काम सुरु भएको छ । सोमबार दोलखा सिंगटी सडक आयोजना, हाइड्रोपावर र कालिञ्चोक गाउँपालिकाले एक–एकवटा स्काभेटर मेसिन परिचालन गरेर पहिरो पन्छाउने काम सुरु गरेका छन् ।

त्यस्तै, बिगु गाउँपालिकाले पनि माटो फ्याँक्न टिपर सहयोग गरेको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरोका कारण बजार क्षेत्रका २८ वटा व्यावसायिक सटरहरूमा असर पुग्नुका साथै झन्डै ६ करोडभन्दा धेरै क्षति भएको थियो । 

बजार क्षेत्रभन्दा माथि बनेको खानेपानीको ट्यांक झर्न लागेको र आसपासको सबै पर्खाल भत्किएकाले सो कामको व्यवस्थापन गर्ने जिम्मा सडक आयोजनालाई दिइएको बताएका छन् । यता, दोलखा सिंगटी सडक आयोजनाका प्रमुख धर्मेन्द्रकुमार झाले आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेकाले आवश्यक बजेट नभएको तर थप बजेट व्यवस्था गरिदिन विभागमा पहल गर्ने जानकारी दिए ।

सिंगटी प्रवेश गर्ने सोही सडकखण्डको गुमुखोलाभन्दाअगाडि पनि पहिरोले सडक भासिन लागेकाले आयोजनाले उक्त क्षेत्रमा मर्मतको काम गरी सडक सञ्चालनमा ल्याएको आयोजनाका परामर्शदाता कम्पनीका निमित्त प्रमुख असीम घिमिरेले जानकारी दिएका छन् ।