१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ भदौ ३१ मंगलबार ०६:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

देशकै नमुना मालपोत कार्यालयमा घुस लिएर काम

घुस लिएर काम गर्ने कलंकी मालपोतका नासु र खरिदार पक्राउ

Read Time : > 1 मिनेट
२०७६ भदौ ३१ मंगलबार ०६:१८:००

भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई सुलभ सेवा दिने भन्दै प्रधानमन्त्री केपी ओली नै उपस्थित भएर नमुना मालपोत घोषणा गरेपनि कलंकी मालपोतमा अनियमितता रोकिएको छैन ।लेखापढी व्यवसायीमार्फत् र सिधै सेवाग्राहीबाट घुस लिएको आरोपमा केही दिनअघि पक्राउ परेका नायब सुब्बा ईश्वरीप्रसाद पोख्रेल र खरिदार रामहरि सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा चलाएको छ । उनीहरूसँगै लेखापढी व्यवसायीहरू विश्वम्भर मैनाली, इन्द्रावती खत्री र तुलसीप्रसाद नेपाल तथा घुस दिने सेवाग्राही कृष्णप्रसाद घिमिरेविरुद्ध पनि मुद्दा चलाइएको छ ।  

नासु पोख्रेलले काम गरिदिएबापत अन्य कर्मचारीलाई समेत रकम दिनुपर्ने, नभए काम ढिला हुने भन्दै लेखापढी व्यवसायी मैनाली र खत्रीसँग दुई हजार घुस लिएको उजुरी परेको थियो । अनुसन्धानमा घुस लिएको पुष्टी भएपछि अख्तियारले तीनैजनाविरुद्ध जनही दुई हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । लेखापढी व्यवसायी नेपालसँग पनि नासु पोख्रेलले एक हजार घुस लिएको अख्तियारले जनायो । यो बेग्लै मुद्दामा दुवैविरुद्ध जनही एक हजार बिगो दाबीसहित मुद्दा चलाइएको छ । त्यस्तै, खरिदार सुवेदीले सेवाग्राही घिमिरेसँग एक हजार घुस लिएको भन्दै दुवैविरुद्ध जनही एक हजार बिगो दाबी माग गरेको छ । 

कर्मचारीले विभिन्न बहानामा घुस माग्ने गरेका कारण सेवाग्राही बाध्य भई लेखापढी व्यवसायीमार्फत काम गराउनुपर्ने बाध्यता रहेको र उनीहरूमार्फत नै लेनदेन हुने गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । नमुना मालपोतमा अवलम्बन गरिएको एकद्वार प्रणालीका कारण सीधै घुस लिन नमिल्ने भएपछि कर्मचारीले लेखापढी व्यवसायीमार्फत लिएका हुन् । 

प्रधानमन्त्री ओलीले ४ असारमा कलंकी मालपोतलाई ‘नमुना मालपोत’ कार्यालयकारूपमा उद्घाटन गरेका थिए । ७ फागुन ०७५ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कलंकी मालपोतलाई नमुना मालपोत कार्यालय बनाउने निर्णय गरेको थियो । सरकारले देशभरका मालपोत कार्यालयमा पनि आधुनिकीकरण सुरु गरेको छ । मुलुकका अन्य चार मालपोत पनि कलंकीकै अवधारणामा सुधार हुँदै आधुनिक सुविधायुक्त घोषित भएका छन् । 

मन्त्रालयबाटै निगरानी हुँदासमेत मालपोत कर्मचारी घुसमै लिप्त
कलंकी मालपोत कार्यालयको निगरानी सीधै मन्त्रालय र विभागबाट हुनेगरी आधुनिकीकरण गरिएको छ । तर, यो अवस्थामा पनि घुस लेनदेन हट्न सकेको छैन । नमुना कार्यालय घोषणा हुँदा कलंकी मालपोतले समस्याका क्षेत्र पहिचान गरेर सुधारका काम अघि बढाएको थियो । कार्यालयको संरचना, कर्मचारीको व्यवस्थापन, सेवाप्रवाह, आर्थिक प्रशासन, सूचना प्रविधि र अभिलेख व्यवस्थापनलाई सुधारका क्षेत्र पहिचान गरिएको थियो । त्यसमा कार्यालयको भौतिक पूर्वाधार र सरसफाइदेखि आर्थिक अनुशासन र पारदर्शितासम्ममा सुधार गर्ने बताइएको थियो ।