१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ ३० सोमबार ०९:५३:००
Read Time : > 1 मिनेट
नयाँCity

नेटफ्लिक्स र आइफ्लिक्सको क्रेज

Read Time : > 1 मिनेट
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ ३० सोमबार ०९:५३:००

अभिनेता तथा मोडेल प्रशान्त ताम्राकार आइफ्लिक्स र नेटफ्लिक्सका प्रयोगकर्ता हुन् । फुर्सदमा वा लामो यात्रामा आफ्नो रुचिका वेब सिरिज हेर्न उनका लागि यी दुवै उपयुक्त माध्यम बनेका छन् । हलमा थोरै दर्शक पुग्ने सिनेमाले आइफ्लिक्समा लाखौँ भ्युअर्स पाउने उनको ठम्याइ छ । ‘मेरो फिल्म ‘ऐश्वर्या’ हलमा करिब एक लाखले हेरे भने आइफ्लिक्समा ३० लाख भ्युअर्स नाघेका छन्,’ उनी भन्छन्  ।

अभिनेता मुकुन भुसाल पनि आफूलाई मन परेका फिल्म आइफ्लिक्स र नेटफ्लिक्समा हेर्ने गर्छन् । ‘अमेजन प्राइम’मा पनि उनको उत्तिकै रुचि छ । ‘यी सबै दर्शक, निर्माता र कलाकारहरूका लागि नयाँ प्लेटफर्म बनेका छन्,’ उनी भन्छन् । यी माध्यममा फिल्मबाहेक ‘सेक्रेट गेम’ भुुसालको ‘फेभरेट वेब सिरिज’ हो । निर्माता तथा कलाकारले यी माध्यमबाट युट्युबमा भन्दा राम्रो आम्दानी गर्न सक्ने उनको भनाइ छ । गायक सनुप पौडेल भने डिजिटल मार्केटको प्रयोग खासै रुचाउँदैनन् । त्यसैले नेटफ्लिक्स र आइफ्लिक्सको प्रयोगलाई ठीकै मात्र मान्छन् । भन्छन्, ‘गुणस्तरीय सिर्जना जसरी पनि दर्शकको नजरमा पर्छ, जसको बजारलाई बढी तन्काउनु आवश्यक हुँदैन ।’

तथापि, पछिल्लो समय सर्वसाधारणदेखि सेलेब्रिटीसम्ममा नेटफ्लिक्स र आइफ्लिक्सको क्रेज बढ्दो छ । मिस नेपाल–२०१८ शृंखला खतिवडा, अभिनेत्री सृष्टि श्रेष्ठ, सुहाना थापा, रूपेश श्रेष्ठलगायत सेलेब्रिटीहरू यसमा झुम्मिने गरेका छन् । यी दुवै ‘भिडियो अन डिमान्ड’ सेवा हुन् । आइफ्लिक्सको मुख्यालय मलेसियाको राजधानी क्वालालम्पुरमा छ, जुन मार्क ब्रिट र प्याट्रिक गुरुभले अन्वेषण गरेका हुन् । सिनेमा हल र टेलिभिजनमा निश्चित ठाउँमा बसेर मात्र फिल्म र भिडियो हेर्न सकिन्छ ।

आइफ्लिक्स र नेटफ्लिक्समा भने आफूलाई सहज लाग्ने ठाउँमा बसेर रमाउन पाइन्छ । आइफ्लिक्सले २८ साउन ०७४ मा नेपालमा पनि शाखा खोलेको छ । अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको नेटफ्लिक्सले भने नेपालमा शाखा खोलेको छैन । दुवैले निर्माताहरूसँग बजारमा चलिसकेका र नचलेका दुवै प्रकारका फिल्म किनेर अपलोड गर्ने गरेका छन् । आइफ्लिक्सकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार यहाँ आइफ्लिक्सका करिब ३० लाख प्रयोगकर्ता छन्, तीमध्ये करिब १८ लाख सक्रिय छन् । आइफ्लिक्समा प्रयोगकर्ताले मासिक तीन सय रुपैयाँ तिरेर सब्स्क्राइब गर्न सक्छन् । यसलाई मोबाइल एपका माध्यमबाट पनि प्रयोग गर्न मिल्छ । यसका माध्यमबाट विदेशी फिल्म, वृत्तचित्रलगायत हेर्न मिल्छ ।

नेटफ्लिक्स र आइफ्लिक्सको सेवा प्रवाह दुई प्रकारले हुन्छ– फ्री टियर र भिआइपी टियर । ‘फ्री टियर’बाट निःशुल्क भिडियो हेर्न मिल्छ । भिआइपी टियरमा भने प्रयोगकर्ताले एनसेलको ग्राहक प्याक वा ई–सेवाबाट रकम तिरेर फिल्म र भिडियो हेर्न सक्छन् ।