मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ भदौ ३० सोमबार ०८:५५:००
Read Time : > 1 मिनेट
अर्थ

प्राधिकरणमा घिसिङका ३ वर्ष  : लोडसेडिङ अन्त्यदेखि ३७६ मेगावाट बिजुली थप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ भदौ ३० सोमबार ०८:५५:००

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल ३ वर्ष पूरा भएको छ । आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले मुख्य उपलब्धिबारे जानकारी गराए । लोडसेडिङ अन्त्य, विद्युतीय सुधार, उत्पादन, प्रसारण र वितरण प्रणालीमा भएका सुधारलगायतका कार्यलाई उनले ३ वर्ष कार्यकालको मुख्य उपलब्धिका रूपमा लिएका छन् । उनले गरेका केही उपलब्धिहरू :

लोडसेडिङ अन्त्य
२९ भदौ ०७३ मा कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । त्यसताका हिउँदमा १४ घन्टा र वर्षामा ८ घन्टासम्म लोडसेडिङ थियो । १४ कात्तिक ०७३ लक्ष्मीपूजाको दिन उनको नेतृत्वमा प्राधिकरणले काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गर्‍यो । यसलाई क्रमशः बढाउँदै लगेर जेठ ०७५ देखि देशभरबाट सबै क्षेत्रको लोडसेडिङ अन्त्य गर्‍यो । 

प्रतिव्यक्ति वार्षिक औसत ऊर्जा खपत वृद्धि
तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब १ सय ५० युनिट रहेकोमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि हाल २ सय ४५ युनिट पुगेको छ ।
 
३७ वटा रुग्ण आयोजना सम्पन्न
काबेली करिडोरसहित प्रसारण लाइन आयोजनातर्फ ३ र वितरणतर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना आर्थिक वर्षमा सम्पन्न भएका छन् । १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया सुरु गरिएको छ ।

घाटामा रहेको संस्था ७ अर्ब नाफामा
घिसिङले कार्यभार सम्हाल्नुअघि आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले कार्यभार सम्हालेपछि आव ०७३/७४ मा १ अर्ब ४७ करोड नाफा, आव ०७४/७५ मा २ अर्ब ८५ करोड नाफा र आव ०७५/७६ मा ७ अर्ब २० करोड खुदनाफा आर्जन गरेको छ । सञ्चित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा ३ वर्षमा १५ अर्ब २२ करोड रुपैयाँमा झरेको छ । त्यस्तै, ०७२/७३ मा ३५ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले आव ०७५/७६ सम्म आइपुग्दा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको छ । 

३७५ मेगावाट थप
प्राधिकरणको जडित क्षमता ३ वर्षमा ३ सय ७५ थप भएको छ । यसमध्ये प्राधिकरणका आयोजनाबाट १ सय ४ मेगावाट र निजी प्रवद्र्धकका आयोजनाबाट २ सय ७१ मेगावाट थप भएको छ । 

१०७९ सर्किट किमि प्रसारण लाइन थप
आव ०७२÷७३ सम्म विद्युत् प्रसारण लाइनको सञ्जाल २ हजार ९ सय ११ सर्किट किलोमिटर रहेकामा हाल ३ हजार ९ सय ९० सर्किट किलोमिटर पुगेको छ । ढल्केबर २ सय २० केभी सबस्टेसन निर्माण, ढल्केबर–मुजफ्फरपुर २ सय २० केभीमा सञ्चालन, कटैयाकुशाहा १ सय ३२ केभी दोस्रो सर्किट र रक्सौल परवानीपुर १ सय ३२ केभी प्रसारण लाइनहरूको निर्माण सम्पन्न भएको छ । १७१२ एमभिए क्षमताको प्रसारण सबस्टेसन थप भएको छ ।
 
अगाडि बढ्दै १७७९ मेगावाट
१०६० मेगावाटको माथिल्लो अरुण र ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । वित्तीय व्यववस्थापनको क्रममा छन् । ९९.६ मेगावाटको तामाकोसी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढेको छ ।
 
१०.४६ प्रतिशत बिन्दुले चुहावट नियन्त्रण
तीन वर्षअघि कुल २५.७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई तीन वर्षभित्र १५.३२ प्रतिशतमा समेटिएको छ । तीन वर्षभित्रमा १०.४६ प्रतिशत बिन्दुले चुहावट घटेको छ । 

१६ प्रतिशत बिन्दुले ग्राहक संख्या वृद्धि
तीन वर्षअघि ६२ प्रतिशत नेपालीले ग्रिडमा आबद्ध भई विद्युत्को पहुँच पाएकामा हाल ७८ प्रतिशतमा राष्ट्रिय ग्रिडबाट विद्युत् सेवा पुगेर कुल ४५ लाख घरधुरीले विद्युत् सेवा पाएका छन् ।