मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विश्वराज पछल्डङ्ग्या/डिलाराम भुसाल
२०७५ पौष १ आइतबार ११:३३:००
Read Time : > 2 मिनेट
प्रदेश

कतै डाक्टर अभाव, कतै औषधि

Read Time : > 2 मिनेट
विश्वराज पछल्डङ्ग्या/डिलाराम भुसाल
२०७५ पौष १ आइतबार ११:३३:००

डाक्टर नभएपछि बिरामी भारतीय अस्पतालमा

नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक सरुवा भएपछि सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्य केन्द्रमा ६ महिनाअघि आएका डा. भीष्म पोख्रेल सरुवा भएर जिल्ला अस्पताल कालिकोट गएपछि नरैनापुर गाउँपालिकाका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भएका हुन् । 

चिकित्सक सरुवा भएपछि प्राथमिक स्वास्थ्य केन्द्र अहेबको भरमा चलेको छ । डाक्टर नभएपछि बिरामीहरू भारतीय अस्पतालमा उपचारका लागि जान बाध्य भएको नरैनापुर गाउँपालिका–२, लक्ष्मणपुरका मुस्तकिम अन्सारीले बताए । 

उनले चिकित्सक सरुवा भएर गएपछि एचए र सिएमएको भरमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको बताए । चिकित्सक भएका वेला ढुक्कका साथ उपचार गराउन आउनेहरू अहिले भारतीय अस्पताल र निजी क्लिनिकमा जान बाध्य भएको उनको भनाइ छ । 

चिकित्सक सरुवा भएर गएपछि स्वास्थ्य केन्द्रमा बिरामीको संख्यासमेत पातलिएको लक्ष्मणपुरका वारिस खाँले बताए । चिकित्सक भएका वेला उपचारका लागि आउने सर्वसाधारण पछिल्लो समय आउन हिच्किचाउने गरेको उनले बताए । ‘यहाँ चिकित्सक बस्न मान्दैनन् । सरुवा भएर आए पनि नेपालगन्जमा बसेर तलब खान्छन्,’ उनले भने । 
दरबन्दी छ डाक्टर बस्दैनन् ।

लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नेपालगन्जबाट ५० किलोमिटर दक्षिण पूर्वमा पर्छ । चिकित्सकको दरबन्दी भए पनि दुर्गम क्षेत्र भएको भन्दै चिकित्सकहरू स्वास्थ्य केन्द्रमा बस्न मान्दैनन् । ‘दरबन्दीका चिकित्सक हाजिर हुन नमानेका कारण हामी गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको अवस्था छ,’ अन्सारीले भने । 
हिउँद र गर्मीयाममा जान केही सहज भए पनि वर्षातमा त्यहाँ पुग्न भारतीय बाटाको सहारा लिनुपर्ने बाध्यता छ । सो क्षेत्रमा बत्ती, बास बस्ने उचित भवन र चिकित्सकले खाना खाने ठाउँको समेत अभाव छ । 

नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले चिकित्सक ल्याउने पहल भइरहेको बताए । ‘बल्लतल्ल चिकित्सकको व्यवस्था भएको थियो, ६ महिना बित्न नपाउँदै सरुवा भएर जानुभयो,’ उनले भने । अब छिट्टै चिकित्सकको व्यवस्था गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उनले बताए ।
  
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव 
तौलिहवा अस्पताललगायत कपिलवस्तुका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । कपिलवस्तु नगरपालिकाको लापरबाहीका कारण अस्पतालसहित नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा पाँच महिनादेखि औषधि अभाव भएको हो । आर्थिक वर्षको सुरुवातदेखि नै तौलिहवा अस्पताल तथा आठवटा स्वास्थ्य संस्थालाई नगरपालिकाले औषधि दिएको छैन ।

स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको समेत अभाव छ । सरकारले स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध गराउने भनिएका ७० किसिमका औषधि कतै पनि पाइँदैन । तौलिहवा अस्पताल प्रशासनका कर्मचारीले नगरपालिकाले साउनदेखि नै विभिन्न ७० किसिमका औषधि निःशुल्क उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म नदिएको बताएका छन् । अस्पताल प्रशासनका रत्नाकर शुक्लाले अस्पताललाई नगरपालिकाले औषधि टेन्डर गरी भदौ महिनामै उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म बेवास्ता गरेको बताए । कर्मचारी शुक्लाले भने, ‘जिल्ला स्वास्थ्यअन्तर्गतका आधारभूत औषधिबाट काम चलाइरहेका छौँ, बिरामी आउँछन्, हामीसँग आक्रोश पोख्छन्, नगरपालिकाले वास्ता गर्दैन ।’ 

औषधि माग
यता, थप औषधि जिल्ला स्वास्थ्यको मेडिकल स्टोरबाट माग गरेको अस्पताल प्रशासनले जनाएको छ । ‘७० किसिमका औषधिमध्ये ४० किसिमका औषधि जिल्ला स्वास्थ्यबाट पाइन्छ, तर बाँकी ३० प्रकारका औषधि त नगरपालिकाले किन्न प¥यो,’ अस्पताल प्रशासक शुक्लाले भने । नगरपालिका प्रशासनलाई पटक–पटक औषधि तथा अस्पतालका लागि विनियोजित बजेट उपलब्ध गराउन माग गर्दासमेत अटेर गरिएको उनको भनाइ छ । 

टेन्डर भइसक्यो : नगरपालिका
नगरपालिका स्वास्थ्य फाँट प्रमुख उमेशप्रसाद गुप्ताले तौलिहवा अस्पतालसहित सबै स्वास्थ्य संस्थालाई औषधि खरिद गर्न टेन्डर भइसकेको बताए । टेन्डर प्रक्रियामा केही ढिलो भए पनि १५ दिनभित्र औषधि सबै संस्थामा पुग्ने बताए । ससर्त अनुदान तथा नगरपालिकाको गरी जम्मा १८ लाखको औषधि खरिद भएकोे छ । 

अनुदानको रकमसमेत पाएन अस्पतालले
वार्षिक बजेटमा विनियोजन गरेको र केन्द्रबाट आएको रकम अस्पताल विकास समितिलाई दिएमा त्यसबाट समेत औषधि खरिद गर्न सकिने भए पनि नगरपालिकाले त्योसमेत गरेको छैन । चालू आर्थिक वर्षमा तौलिहवा अस्पताल सुदृढीकरण कार्यक्रमका लागि नगरपालिकाले ७० लाख रुपैयाँ र केन्द्रबाट अस्पतालका लागि ३० लाख रुपैयाँ ससर्त अनुदानको रकम पठाएको छ । तर, सो रकमसमेत अस्पतालले पाएको छैन ।

दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि सो अस्पताल आउने गरेका छन् । अस्पतालले बिरामीलाई निजी फार्मेसीहरूबाट औषधि खरिद गर्न लगाएको स्थानीय राजेश चौधरीले बताए । अस्पतालले अहिले जम्मा १५ किसिमका औषधि मात्र निःशुल्क उपलब्ध गराइरहेको छ ।