मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २७ शुक्रबार ०६:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’ स्थापना

काठमाडौंका मेयरको संयोजकत्वमा कोष सञ्चालन समिति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २७ शुक्रबार ०६:२०:००

पाँच करोडको ‘इन्द्रजात्रा पर्व अक्षय कोष’ स्थापना भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजधानीमा आयोजित एक कार्यक्रममा कोषबारे जानकारी दिएका हुन् । काठमाडौं उपत्यकामा लामो समयदेखि परम्परागत रूपमा सञ्चालनमा रहेका जात्रा पर्वमध्ये इन्द्रजात्रालगायत सो अवसरमा सञ्चालन हुने जात्रा–पर्वको सञ्चालन तथा व्यवस्थापन गर्न सरकारले कोष स्थापना गरेको उनले जानकारी दिए । 

कोष सञ्चालन समितिको अध्यक्ष काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रहेका छन् । भट्टराईले कोषमा नेपाल सरकारबाट एक करोड ५० लाख, प्रदेश–३ सरकारबाट एक करोड, काठमाडौं महागरपालिकाबाट दुई करोड र गुठी संस्थानबाट ५० लाख रकम जम्मा हुने जानकारी दिए ।

‘काठमाडौं उपत्यकामा लामो समयदेखि परम्परागत रूपमा सञ्चालनमा रहेका जात्रा–पर्वहरूको विशिष्ट महत्व रहँदै आएको छ,’ कार्यक्रममा भट्टराईले भने, ‘यहाँका जात्रा–पर्वलाई प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले पनि विशेष महत्वका साथ हेर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाका मेयरज्यूको पहल, हाम्रो प्रयास र प्रधानमन्त्रीज्यूले विषेश चासो लिएकाले नै यो सम्भव भएको हो ।’ वर्तमान सरकारले उपत्यकाको संस्कृति, सम्पदा र परम्पराप्रति सचेत छ भन्ने प्रमाण दिएको उनले बताए । ‘वर्तमान सरकार उपत्यकाको संस्कृति, सम्पदा र परम्पराप्रति सचेत छ,’ उनले भने, ‘यो प्रारम्भिक प्रयास हो, आवश्यक प¥यो भने हामी रकम थप गर्न तयार छौँ ।’

 महानगरले कार्यविधि बनाउने
कार्यविधि निर्माणको काम महानगरले नै गर्ने उनले बताए । उनले गुठीलगायतका विषयमा पनि सचेत रहेको बताउँदै केही समस्या भए छलफल गरेर अघि बढ्न सरकार तयार रहेको जानकारी दिए । कार्यक्रममा मेयर शाक्यले अक्षय कोष स्थापनाका लागि राष्ट्रपति विद्या भण्डारीको पनि विशेष चासो रहेको बताए । ‘मैले आज मात्रै पनि राष्ट्रपतिज्यूसँग भेट गरेको थिएँ,’ शाक्यले भण्डारीको भनाइ उद्धृत गर्दै भने, ‘उहाँले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

मेयर शाक्यले अक्षय कोष स्थापनाका लागि गरेको प्रयास सफल भएको भन्दै खुसी व्यक्त गरे । ‘अब जात्रा–पर्वका लागि खर्च जुटाउँदै हिँड्ने परम्पराको अन्त्य हुने हामीले अपेक्षा गरेका छौँ,’ उनले भने, ‘यहाँका संस्कृति, परम्परा र सम्पदाको महत्वलाई अझ बलियो बनाउन मेरो प्रयार निरन्तर रहनेछ ।’

कोष सञ्चालक समितिको सदस्यमा पर्यटन मन्त्रालयको एक प्रतिनिधि, प्रदेश–३ सरकारको एक प्रतिनिधि, गुठी संस्थानको एक प्रतिनिधि, दरबार हेरचाह अड्डाका प्रमुख र इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष रहनेछन् । महानगरपालिका सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्यसचिव रहनेछन् ।