१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २६ बिहीबार ०८:४५:००
Read Time : > 1 मिनेट
नयाँCity

होमसिक भएपछि अमेरिकाबाट फर्किएँ

Read Time : > 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०८:४५:००

टिनएज पार नगर्दै म अमेरिका पढ्न गएकी थिएँ । तर, मलाई होमसिकका कारण त्यहाँको बसाइ सहज भएन । नेपालमा सांगीतिक वातावरणमा हुर्किएकी थिएँ । परिवार नै संगीतमा थियो । गाउन साह्रै मन लाग्ने, नेपथ्यमै बसेर आफ्नो आवाज सुनाउन चाहन्थेँ ।

छोरी मान्छेका लागि नेपाली समाजमा जति सीमितता छ, अमेरिकामा त्यसभन्दा धेरै स्वतन्त्रता मिल्छ भन्ने सोचेर पढ्न गएँ । त्यहाँ मजाले बाँच्ने छुट होला भन्ने लागेको थियो । तर, उल्टै होमसिक भयो । यता, आमाले पकाएको खाएर हुर्किएकी, उता गएपछि मात्र थाहा भयो, बाआमाले जति माया अरूले कहाँ गर्छन् र ! उमेरले सानै भएका कारण पनि यस्तो समस्या देखिएको होला ।

अमेरिका गएपछि सबैले मलाई तिमीजस्तो मान्छे नेपालमै रहनुपर्छ भनेर म्यासेज या कल गरिरहन्थे । म आफैँ पनि परिपक्व भइसकेकी थिइनँ । बिस्तारै सोच आयो– नेपालमै केही गर्ने । त्यसपछि घरमा भनेँ, ‘पैसा पठाइदिनू, म आउँछु ।’ घरबाट १५ सय डलर पठाइदिनुभयो । नेपाल आउँदै गर्दा मनमनै निर्णय लिएकी थिएँ, अब कलाकारितामै लाग्छु ।

गीत हिट हुन्छ वा हुँदैन भन्ने कुराले असर गर्दैन । तर, गीत गाएपछि मनैदेखि गाउनुपर्छ भन्ने लाग्छ । ममीले भन्नुभएको कुरा सधैँ सम्झन्छु– ‘आफ्नो उडान भर, तर पैताला जमिनमै राख ।’
 

काठमाडौं फर्किएको भोलिपल्टैै म र ममी सुरेश अधिकारीको घरमा गयौँ । त्यहाँ म एकदम रोएँ । त्यसवेला पहिलोपटक महसुस भयो, म संगीतबाहेक अन्य क्षेत्रमा केही गर्न सक्दिनँ । मैले ममी र सुरेश अंकलको अगाडि रोएरै भनेँ, ‘संगीतबाहेक अरू गर्न सक्दिनँ ।’ त्यतिवेलै मैले सुरेश अंकललाई छोरी–चेलीसँग सम्बन्धित गीत बनाइदिनुस् भनेँ । ममा माटोप्रतिको आस्था पलाएको थियो । म जस्तो छु, मलाई त्यस्तै गीत बनाइदिनुस् भनेँ ।

सुरेश अंकलको शब्द, संगीत र मेरो आवाजमा सन् २०१३ मा रिलिज भयो, ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा ।’ यो गीतले नै मलाई चिनायो । युवापुस्ताले विशेष मन पराइदियो । यो गीत सफल हुनुको श्रेय सुरेश अंकललाई नै जान्छ । आज म जहाँ छु, उहाँकै कारणले छु ।

मैले धेरै प्रोजेक्टमा काम गरेपछि आफ्नै सोलो एल्बम ‘आधार’ बजारमा ल्याएँ । यसलाई पनि धेरैले मन पराइदिनुभएको छ । आजको दिनमा मलाई गीत हिट हुन्छ वा हुँदैन भन्ने कुराले असर गर्दैन । तर, गीत गाएपछि मनैदेखि गाउनुपर्छ भन्ने लाग्छ । ममीले भन्नुभएको कुरा सधैँ सम्झन्छु– ‘आफ्नो उडान भर, तर पैताला जमिनमै राख ।’