मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ भदौ २६ बिहीबार ०८:३१:००
Read Time : < 1 मिनेट
खेलकुद

आर्मी र पुलिस विजयी

Read Time : < 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०८:३१:००

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी भएका छन् । प्रतियोगिताको बुधबार पहिलो खेलमा आर्मीले एपिएफलाई ३–१ को सेटमा हरायो । पुलिसले आयोजक प्रगतिशीललाई ३–१ को सेटमा पाखा लगायो । बुधबार नै समूह ‘बी’मा उपाधि दाबेदार नेपाल पुलिसले आयोजक प्रगतिशीलमाथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेटमा २५–१७, २५–१८ र २५–१५ को सहज जित निकाल्यो । 

आर्मीसँग पराजित हुनुअघि एपिएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो  । एपिएफले ढोरपाटनमाथि २५–९, २५–१८ र २५–२३ को सहज जित निकाल्यो । गण्डकी प्रदेश र गल्कोट स्पोर्टस् क्लब टोकियो जापानबीचको खेल वर्षाले रद्द भयो । गण्डकीले सुरुवाती दुई सेट २५–१९ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पनि गण्डकीले अग्रता लिइरहँदा वर्षा भएपछि खेल सुचारु हुन सकेन । बुधबारकै लागि तय भएको आर्मी र जावलाखेलबीचको खेल पनि हुन सकेन । 

प्रगतिशील युवा नेपालको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता छ । समूह एमा एपिएफ र आर्मीसँगै ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् । समूह बीमा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् । दुवै समूहका शीर्ष दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन् । 

प्रतियोगिताको विजेताले पाँच लाख पाउनेछ । दोस्रो हुनेले तीन लाख, तेस्रोले एक लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।