भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्छ : सांसद भुसाल

२०७६ भदौ २५ बुधबार १३:४८:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् । 

भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने बताएकी हुन् । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने बताइन् । 

‘भारतीय सीमा सुरक्षा बलले जब्बरजस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ उनले भनिन्, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।’ उनले दुई मुलुकबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने बताइन् । 

यता, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देबेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाएका छन् । उनले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए । 

नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामिप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने उनको भनाई छ । 
 

सम्बन्धित समाचार